७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किसानलाई महानगरको ४४ लाख रुपैयाँ अनुदान

बाख्रापालन गर्ने किसानलाई अनुदान रकम हस्तान्तरण गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य। तस्बिरःनागरिक

व्यवसायिक पशुपालन गर्ने किसानलाई पोखरा महानगरपालिकाले प्रोत्साहन गर्दै आएको छ। पशुपालक किसानलाई महानगरपालिकाले आर्थिक वर्षको शुरुवातसँगै प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ।

महानगरपालिकाले विशेष गरी मेयर मैत्री बाख्रापालन कार्यक्रमलाई प्राथमिकता दिएको छ। कार्यक्रम अन्तर्गत महानगरले १ सय ९१ जना किसानलाई ४४ लाख रुपैयाँ बराबरको अनुदान हस्तान्तरण गरेको छ। ‘मेयरमैत्री बाख्र्रा पकेट कार्यक्रम अन्तर्गत किसानलाई ४४ लाख २० हजार रुपैयाँ अनुदान हस्तान्तरण गर्यौं,’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलेभने। प्रमुख आचार्यले पोखरा–२८ मा आयोजित कार्यक्रममा अनुदान रकम हस्तान्तरण गरेका हुन्।  

महानगरले पोखराको विभिन्न वडामा बाख्रापालन पकेट कार्यक्रम गर्दै आएको छ। कार्यक्रम प्रभावकारी बन्दै गएको जनाउँदै महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य किसानलाई अनुदान उपलब्ध गराइएको हो। प्रमुख आचार्यले अनुदानले किसानलाई व्यवसायिक बाख्रापालन तर्फ थप हौसला र प्रेरित गर्ने विश्वास व्यक्त गरे। ‘किसानलाई प्रवद्र्धन गर्नुपर्छ। त्यसको लागि महानगर सधै सकारात्मक छ,’ प्रमुख आचार्यले भने, ‘किसानको समृद्धिलाई महानगरको समृद्धिसँग जोडिनुपर्छ।’

उनका अनुसार पशुपालन गर्ने किसानलाई आत्मसम्मानसहित उत्पादन र उत्पादकत्व बृद्धि गर्ने बातावरण महानगरपालिकाले बनाउने छ। पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। ५ वटा कृषि बजार महानगरपालिकाको तर्फबाट सञ्चालन गरिएको छ।

कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उनले आग्रह गरे। किसानलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफू प्रतिबद्ध रहेको महानगर प्रमुख आचार्यको भनाई थियो। ‘उत्पादनमा केन्द्रित हुनुहोस्,’ प्रमुख आचार्यले थपे, ‘त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ।’ उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले किसान निराश हुने वातावरण सिर्जना नगरिने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रा पालन व्यवसाय तर्फ किसान आकर्षण बढेको जानकारी दिए। उन्नत जातका बाख्रा पालनबाट किसानहरूले मनग्य फाईदा लिइरहेको बताउँदै उनले सरकारी तवरबाट आवश्यक सहयोग तथा सहजीकरणका सधै तत्पर रहेको जिकिर गरे।  

महानगरले वडा नं.१९ का २४ जना किसानलाई ६ लाख २० हजार, वडा नं.२० का ३२ जना किसानलाई ७ लाख २० हजार, वडा नं.२१ का ४३ जनालाई १० लाख, वडा नं.२४ का ३७ जनालाई ८ लाख २० हजार, वडा नं. २५ का २३ जनालाई ४ लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई ७ लाख ६० हजार गरी १९१ जना कृषकलाई ४४ लाख २० हजार नगद अनुदान प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए। पोखरा महानगरपालिका कृषि विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा बाख्रा पालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइहरेको सुनाए।  

बाख्रा पालन प्रति किसानले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको बताए। पछिल्लो समय पशुमा देखिएको समस्या प्रति सचेत रहेको बताउँदै कडरियाले यसको रोकथाम र निदानका सम्भाव्य उपायको बारेमा महानगर सधै चनाखो रहेको स्पष्ट पारे।

भेटेरिनरी अस्पतालका विज्ञ सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकहरूलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे। किसानको समस्या समाधानका लागि आफु निरन्तर खोज तथा निदानका उपायहरूको सहजिकरणमा लागि रहेको बताए।  

प्रकाशित: १० श्रावण २०८० ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App