२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सुक्खा बन्दरगाह सञ्चालन गर्न बोलपत्र आह्वान

नेपाल इन्टर मोडल यातायात विकास समितिले चोभारको सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको छ। समितिले सोमबार सार्वजनिक सूचना जारी गरी बन्दरगाह सञ्चालन र व्यवस्थापन गर्न बोलपत्र आह्वान गरेको हो।

बोलपत्रमा सहभागि हुन चाहने कम्पनीले भदौ २२ गतेसम्ममा सहभागि भइसक्नुपर्ने गरी ४५ दिनको म्याद राखेको छ। बोलपत्रमा भाग लिन पोर्ट मेनेजमेन्ट÷कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट÷फ्रेट टर्मिनल मेनेजमेन्ट÷ वेयरहाउस÷ ट्रान्सपोर्टेसन÷क्लियरिङ एण्ड फरवार्डिङ÷ फ्रेट फरवार्डिङमा कम्तिमा ५ वर्षको अनुभव सँगालेको हुनुपर्ने व्यवस्था गरिएको छ।  

त्यसैगरी सो कम्पनीको विगत ३ वर्षको औषत वित्तीय कारोबार कम्तिमा रु. ६० लाख बराबरको हुनुपर्ने प्रावधान राखिएको छ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले समितिको गठन आदेश (पहिलो संशोधन), २०७५ को दफा ४ (ख) मा अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गरी आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका कम्पनीबाट सरल, सुगम, किफायती एवं भरपर्दाे सेवा सञ्चालन गर्न लागिएको बताए।  

उनले सञ्चालन सम्बन्धमा सम्झौता गरिएको कम्पनीलाई टर्मिनल व्यवस्थापन तथा सञ्चालन गर्न स्वीकृति दिइने व्यवस्था अनुसार अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिएको सूचना प्रकाशन भएको बताए।

सुक्खा बन्दरगह-एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनौटको लागि समितिको छुट्टै टर्मिनल पट्टा वहालमा दिने सम्बन्धी नियमावली, २०७० रहेको छ। 

समितिले चोभारस्थित बन्दरगाह सीमा नाकाबाट टाढा रहेको सुक्खा बन्दरगाह भएकाले यहाँबाट हुने ट्राफिक फ्लो तथा वित्तीय कारोबारको विषयमा एकिन गर्न सकिने अवस्था नभएका कारणले २०७८ चैत २२ गतेदेखि समितिले आफैंले सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको छ। समितिले आफैंले स्टप गो एरेन्जमेन्टको रूपमा सञ्चालन गर्दै आइरहेको छ।  

समिति एक नियमनकारी निकाय भएकाले चोभार सुक्खा बन्दरगाह करिब १५ महिनासम्म आफैंले सञ्चालन गरे पछि ट्राफिक फ्लो तथा वित्तीय कारोबारको विषयमा एकिन गर्न सहज भएको थियो। समितिको गठन आदेश (पहिलो संशोधन), २०७५ मा भएको व्यवस्था अनुसार अन्य सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीहरू जस्तै चोभार सुक्खा बन्दरगाह पनि निजीक्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन गराउन लागिएको हो। सुक्खा बन्दरगह÷एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनौटको लागि समितिको छुट्टै टर्मिनल पट्टा वहालमा दिने सम्बन्धी नियमावली, २०७० रहेको छ। उक्त नियमावली अनुसार सञ्चालक कम्पनीको छनौट प्रस्ताव दाताहरूको प्रस्तावित प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कन विधिबाट गर्ने गरिएको छ।  

चोभार सुक्खा बन्दरगाहको लागि छनौट हुने कम्पनीको विज्ञता प्रयोग गरी यो सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन भएपछि बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने र व्यापार सहजीकरण चुस्त, छिटो छरितो र किफायति तवरल हुने विश्वास समितिले लिएको छ। 

प्रकाशित: ९ श्रावण २०८० ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App