coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

काठमाडौं-दोहाका यात्रुलाई असर नपर्ने

काठमाडौं- खाडी क्षेत्रका आधा दर्जन छिमेकी मुलुकले कतारसँग गरेको कूटनीतिक सम्बन्धविच्छेदले नेपालबाट हवाई यात्रा गरी कतार जाने यात्रुलाई कुनै प्रभाव नपर्ने सम्बद्ध वायुसेवाले स्पष्ट पारेका छन्।

हाल काठमाडौंबाट कतारको सरकारी वायुसेवा कतार एयरवेज, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले सिधा कतारको राजधानी दोहा उडान गर्दै आएका छन्। यी तीन कम्पनीले दोहाका लागि सातामा २७ उडान गरिरहेका छन्।

'वैदेशिक रोजगारीका लागि नेपालबाट हवाई यात्रा गरी दोहा जाने कामदार र अन्य यात्रुलाई कूटनीतिक सम्बन्धविच्छेदले कुनै प्रभाव पर्दैन,' कतार एयरवेजको नेपालस्थित कार्यालयका एक अधिकारीले सोमबार नागरिकसँग भने, 'यहाँबाट दोहा जानलाई कुनै समस्या छैन। हाम्रा सबै उडान नियमित छन् र सबैको अकुपेन्सी (सिट भराइ दर) सतप्रतिशत छ।'

खाडी मुलुक साउदी अरबको नेतृत्वमा युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, यमन र लिबियाले अस्थिरतालाई बढावा दिएको भन्दै कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन्। उनीहरूले कतारमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएका छन् भने आफ्ना देशबाट कतारी कुटनीतिज्ञहरूलाई ४८ घन्टाभित्र देश छाड्न निर्देशन दिएका छन्।

साउदी अरबले कतारसँग स्थल, जल र हवाई मार्ग बन्द गरेको छ। युएईले कतारको सबै उडान बन्द गरेको छ। युएईको दुबईबाट उड्ने फ्लाई दुबई र इमिरेट्स एयरलाइन, अबुधाबीबाट उड्ने इतिहाद र इजिप्टको सरकारी वायुसेवा इजिप्ट एयरले कतारको दोहो उडान बन्द गरेका छन्। कतारका वायुसेवालाई पनि आफ्ना देशको आकास प्रयोग गर्न रोक लगाएका छन्। 

कतार एयरवेजका ती अधिकारीका अनुसार काठमाडौंबाहेक अन्य देशका गन्तव्य र सम्बन्धविच्छेद गरेका देशबाट दोहाका लागि नियमित उडान गरेका वायुसेवा कम्पनीका लागि भने अहिले अप्ठेरो अवस्था सिर्जना भएको छ। टिकट बुकिङ गरिसकेका ती वायुसेवाका यात्रुलाई अब पैसा फिर्ता गर्नुपर्ने छ। 

'युएईको अबुधाबीबाट दोहाका लागि हामी दैनिक चार उडान गरिरहेका थियौं र  पछिल्लो घटनाक्रमपछि ती सबै उडान बन्द गरेका छौं,' इतिहाद एयरवेजको नेपालस्थित कार्यालयका एक उच्च अधिकारीले भने, 'तर, काठमाडौंबाट अबुधाबीस्थित हाम्रो आधार विमानस्थल हुँदै दोहा जाने यात्रुलाई खासै समस्या भने पर्दैन।'

उनका अनुसार काठमाडौंबाट इतिहादले अबुधाबीका लागि दैनिक दुई उडान गरिरहेको छ। अबुधाबीबाट दोहाका लागि दैनिक चार उडान गरिरहे पनि काठमाडौंबाट अबुधाबी हुँदै दोहा जाने यात्रु नगण्य हुने गर्छन्।

'काठमाडौंबाट हाम्रो जहाजमा अबुधाबी हुँदै दोहा जाने यात्रु महिनामा अधिकतम पाँच वा ६ जनामात्र हुने गर्छन्,' इतिहादका ती अधिकारीले भने, 'त्यसकारण हामीले अबुधाबीबाट दोहाको दैनिक चार उडान बन्द गरे पनि नेपाली यात्रुलाई कुनै प्रभाव पर्दैन।'

काठमाडौंबाट अबुधाबी ओर्लिएर त्यहाँबाट दोहा जाँदा काठमाडौंबाट सिधा दोहा गएको भन्दा महँगो पर्ने न्युरोडस्थित एक ट्राभल एजेन्सीका सञ्चालकले बताए। 'आरामसँग सिधै नगएर कुनै पनि यात्रु लामो बाटो र त्यसमाथि महँगो टिकट किनेर दोहा जाँदैनन्,' उनले भने, 'यहाँबाट कतार एयरवेज, वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजमा जाँदा धेरै नै सजिलो हुन्छ।'

कतार एयरवेजले दैनिक तीन तथा वायुसेवा निगम र हिमालयले सातामा तीन–तीन उडान गरिरहेका छन्। तीनवटैले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित 'ए३२०–२००' सिरिजका जहाजबाट यात्रु ओसार्छन्। कतारको जहाजमा १ सय ३२ सिट तथा निगम र हिमालयका जहाजमा १ सय ५८ सिट क्षमता छ।

'नेपाल आवागमनमा कुनै अप्ठेरो नपरे पनि दोहाबाट अन्य गन्तव्य जान भने कतार एयरवेज आफैंलाई समस्या पर्ने निश्चित छ,' खाडी मुलुकबाट नेपाल आइरहेको एक वायुसेवा कम्पनीका अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, 'कुटनीतिक सम्बन्धविच्छेद गरेका देशमा उडान गर्नै पाइएन र तिनको आकास प्रयोग गरी अन्य देश पनि जान पाइएन। यसो हुँदा कतारलाई ठूलै समस्या पर्ने देखिएको छ।'

प्रकाशित: २३ जेष्ठ २०७४ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App