७ वैशाख २०८१ शुक्रबार
अर्थ

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

इतिहाद एयरलाइन्सको जहाज

काठमाडौं—साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट अवुधावी हुँदै दोहा जाने सबै उडानहरु बन्द गरेको छ।

एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै आज सोमबार साँझदेखि अर्को सूचना जारी नभएसम्मका लागि उडान बन्द गर्ने जनाएको हो। टिकट बुक गरिसकेका ग्राहकहरुका लागि इतिहादले वैकल्पिक व्यवस्था गर्ने अथावा टिकट फिर्ताको सुविधा दिने जनाएको छ।

इतिहादले काठमाडौंबाट अावुधावी 'स्टप' लिएर दोहाका लागि दैनिक दुई उडान गर्दै अाएको थियो। उसले अवुधावीबाट दोहाका लागि दैनिक चार उडान गर्ने गर्थ्यो। इतिहाद एयरलाइन्सको काठमाडौं स्रोतले भन्यो, 'दोहा जाने यात्रुका सबै टिकटको पैसा रिफन्ड गरिनेछ अथाव उहाँहरुले इतिहादका नजिकैका गन्तव्यहरु जस्तै मस्कट, बहराइन र साउदीमा रिरुट गर्न सक्नुहुनेछ।'

स्रोतका अनुसार फ्लाइट नम्बर २९१ काठमाडौं-अवुधावी/इवाइ ३९१ अावुधावी-दोहासम्मको उडान  सञ्चालन हुनेछ। दोहाबाट अाउने इवाइ ३९४ दोहा-अवुधावीदेखि काठमाडौं इवाइ २९० को उडान हुनेछ।

खाडी संकटसँगै एयरलाइन्स कम्पनीहरुले दोहा उडान रद्द गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीलाई प्रत्यक्ष असर पर्ने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रियाद भ्रमणको केही समयपछि साउदी अरब नेतृत्वमा युएई, इजिप्ट र बहराइनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेका हुन्।

अवुधवीबाट इतिहादको दोहाका लागि अन्तिम उडान अाज राति हुनेछ। सो उडान स्थानीय समयअनुसार अनुसार सोमबार राति ९:३५ मा गर्ने एयरलाइन्सले जनाएको छ। यसैगरी दोहाबाट अवुधवीका लागि अन्तिम उडान यीवाइ ३९८ कलसाइन भएको विमानबाट स्थानीय समय अनुसार १०:५० मा हुनेछ।

अर्को सूचना नअाएसम्म यसपछि उडान नहुने कम्पनीले जनाएको छ।

ट्रम्प नीतिले खाडीमा तरंग
साउदी अरबसहित चार मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेपछि खाडी  मुलुकहरुबीच नयाँ समस्या पैदा भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रियाद भ्रमणको केही समयपछि साउदी अरब नेतृत्वमा युएई, इजिप्ट र बहराइनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेका हुन्।

कतार र इरानबीचको सम्बन्धलाई लिएर मुस्लिम मुलुकहरुमा विभाजन देखिनुमा अमेरिका फ्याक्टर निर्णायक देखिएको अन्तरार्ष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्। इरानको सहयोगमा आतंककारी गतिविधि फैलाउन कतारले योगदान पुर्‍याइरहेको आरोप लगाउँदै चार साउदी गठबन्धनका मुलुकहरुले कतारलाई एक्ल्याउने निर्णय गरेका हुन्। इरान र अमेरिकाबीच सम्बन्ध तनाबपूर्ण छ।

रियाद्ले कतारसँगका सबै स्थल हवाई तथा सामुद्रिक सीमाना बन्द गरेको छ। आतंकवादी खतराबाट देशलाई जोगाउन भन्दै साउदीले सोमबार बिहान राष्ट्रिय सुरक्षाका लागि उक्त घोषणा गरेको जनाएको छ। कतारी नागरिकलाई देश छोड्न साउदीले दुई हप्ताको समय दिएको छ। उसले कतारसँगको हवाई सम्पर्क समेत विच्छेद गर्ने निर्णय लिएको छ।

साउदी, इजिप्ट, युएई र बहराइनका सबै एयरलाइन्सहरुले कतारको उडान नगर्ने घोषणासँगै इतिहादको काठमाडौं—दोहा उडान प्रभावित बनेको हो।

बहराइनले कतारका कुटनीतिज्ञहरुलाई देश छोड्नका लागि ४८ घण्टाको समय दिएको छ। इजिप्ट विदेश मन्त्रालयले पनि एक विज्ञप्ती निकाल्दै राष्ट्रिय सुरक्षाको विषयलाई विशेष महत्व दिँदै कतारका जहाज र विमानका लागि सबै मार्ग बन्द गरिएको घोषणा गरेको छ। 

'अन्यायपूर्ण निर्णय'
कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरब नेतृत्वमा चार मुलुकहरुले गरेको निर्णय ‘अन्यायपूर्ण’ भएको जनाएको छ। कतारले विज्ञप्ति जारी गर्दै उनीहरुको निर्णयले ‘एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकतामा खलल पुर्‍याएको’ बताएको छ।

प्रकाशित: २२ जेष्ठ २०७४ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App