१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

हेलिकप्टर उडानमा कडाईः मनसुन अवधिभर ‘माउन्टेन फ्लाईट’ मा रोक

छोटो समयमा बारम्बार हेलिकप्टर दुर्घटनामा पर्न थालेपछि नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यो मनसुन अवधिभरका लागि हेलिकप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो बेला मनसुनको समय रहेको र यस्तोबेला उडान गर्दा कुनैपनि बेला जोखिम आउन सक्ने भएकोले उडानमा रोक लगाएको प्राधिकरणले बताएको छ।  

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले चालु मनसुन अवधिभर (सेप्टेम्वर २०२३ सम्म) माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टिका उडानमा रोक लगाउने निर्णय भएको बताए। ‘खोज, राहत तथा उद्धारका उडानमा कुनै अवरोध होईन। अहिलेका लागि पर्वतीय, सिलिङ र पुष्पवृष्टिका उडानमा मात्र रोक लगाइएको हो,’ उनले भने, ‘यो बेला मौसममा छिटो परिवर्तन हुने हुँदा माउन्टेन फ्लाईट गर्दा सचेत हुनुपर्ने भएकोले कडाई गरिएको हो।’ यस्तो समयमा मौसममा छिटो परिवर्तन आउने र नजिकै हेलिप्याड नहुने भएकोले पनि कुनै समस्या आइपरे जोखिम हुने भएकोले सचेत हुनुपरेको उनले बताए।

यो बेला पर्यटनमा अफसिजन भएकोले पनि पर्वतीय उडानमा रोक लगाउँदा खासै मर्का नपर्ने उनले बताए। पर्यटन क्षेत्रमा अफसिजन भएकोले योपटक रोकेको र यसले पर्यटन क्षेत्रमा ठुलै असर परेमा अर्काे तरिकाले सोच्न सकिने पनि उनले बताए। तीनदिन अघिमात्र पर्वतीय उडानमा रहेको हेलिकप्टर दुर्घटनामा परेर चालक र पाँचजना विदेशी पर्यटक सहित ६ जनाको ज्यान गएको थियो।

पर्वतीय उडान सकेर फर्किने क्रममा गत मंगलबार मनाङ एयरको ९एन एएमभी हेलिकप्टर दुर्घटना परेको थियो। सोलुखुम्बुबाट काठमाडौं फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर ५ मेक्सिकन नागरिक र चालक सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। मनाङको दुर्घटनासहित सन् २०२३ को अहिलेसम्म नेपालमा चारवटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन्। अप्रिलयता चारवटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन्।  

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले चालु मनसुन अवधिभर (सेप्टेम्वर २०२३ सम्म) माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टिका उडानमा रोक लगाउने निर्णय भएको बताए।

सूचना अधिकारी भुलका अनुसार हेलिकप्टरको उडान संचालन अनुमति दिँदा प्रस्थान बिन्दु वा अवतरण बिन्दुमध्ये कम्तिमा एक स्थान विमानस्थल हुनुपर्ने गरि कडाई गरिएको छ। हेलिकप्टरको दुर्घटनालाई शुन्यमा झार्ने उद्देश्यसहित यो नियम लागु गरिएको उनले बताए। प्रस्थान वा अवतरण विन्दुमध्ये एउटा विमानस्थल हुनैपर्ने बाध्यकारी बनाउँदा उडान सुरक्षित हुने अपेक्षा रहेको उनले बताए।

‘विमानस्थल रहँदा त्यहाँ टावर हुने र त्यसले उडान हुने रुटको मौसम थाहा पाउने भएकोले पनि सुरक्षित र सहज हुने अनुमान हो। कम्तिमा मौसमबारे जानकारी पाइने हुँदा प्रस्थान वा अवतरणमध्ये एउटा बिन्दु विमानस्थल बनाउन भनेका हौ,’ उनले भने, ‘गत अप्रिलदेखि अहिलेसम्म चारवटा दुर्घटना भईसके। यस्तो बेला चालक नै जिम्मेवार बनाउन खोजिएको हो।’ हेलिकप्टरमा रहेका प्रविधिको उपयोग गर्नका लागि पनि यस्तो प्रावधान राखिएको उनले बताए। ‘हेलिकप्टरमा भएका उपकरणको उपयोग होस भन्ने उद्देश्यले यस्तो प्रावधान लागु गरिएको हो,’ उनले भने।  

नेपालको हवाई आकाशमा हुने हेलिकप्टर उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दाे बनाई हवाई यातायातलाई अझै व्यवसायिक तथा मर्यादित रुपमा संचालन गर्ने उद्देश्यले प्राधिकरणले नियम लागु गरेको उनले सुनाए। उनका अनुसार हेलिकप्टर तथा स्टल (छोटो धावनमार्ग हुने विमानस्थल) विमानस्थलमा हुने दैनिक उडान गतिविधिलाई नियमित रुपमा सुपरीवेक्षण तथा नियमन गर्न एक कमिटि गठन गर्ने निर्णय पनि प्राधिरकरणले गरेको छ । हवाई विज्ञ भेषराज सुवेदीको संयोजकत्वमा यो टास्कफोर्स गठन गरिएको छ।  

त्यसबाहेक हाल विभिन्न विमानस्थलबाट भईरहेको हेलिकप्टरको उडान अनुमति चालु मनसुन (सेप्टेम्बर २०२३) अवधिभर प्राधिकरणको प्रधान कार्यालयबाट मात्र प्रदान हुनेगरि निर्णय भएको पनि सूचना अधिकारी भुलले बताए। यसअघि प्रतिबन्धित क्षेत्रको उडान अनुमति मात्र प्राधिकरणको केन्द्रीय कार्यालयबाट अनुमति लिनुपर्ने बाध्यकारी थियो। तर, अब भने काठमाडौं बाहिरबाट हुने अनुमति केन्द्रबाट मात्र दिइने उनले बताए। उडान अन्यत्र विमानस्थलबाट पनि हुनसक्ने, तर, अनुमति भने प्राधिकरणको केन्द्रबाट मात्रै हुने भुलले बताए। ‘अब अनुमति केन्द्रबाट मात्र हुन्छ। तर, उडान भने कुनैपनि विमानस्थलबाट हुन सक्छ,’ उनले भने।

मनसुनको यो समयमा मिश्रित खालको मौसम हुने भएकोले पनि हवाई उडानमा सचेत हुनुपरेको उनले बताए। ‘एकछिनमा पानी पर्ने र घाम लाग्ने भएकोले मौसम पूर्वानुमान गर्न अनुमान गर्न पनि गाह्रो छ। हेलिकप्टर भिएफआर उडान हुन्छ। यस्तो बेला असिना पानी पर्ने सम्भावना भएकोले उडानमा कुनै समस्या नहोस भनेर यो अभ्यास गरिएको हो,’ उनले भने, ‘मनसुनको प्रभाव बुुझ्नका लागि गरिएको हो। यो परीक्षणका रुपमा गरिएको अभ्यास हो। हेलिकप्टर कम उचाईमा उड्ने भएकोले पनि यसलाई मनसुन अवधिका लागि मात्र परीक्षण गरेका हौ।’  

त्यस्तै प्राधिकरणले शेयर सदस्यको (लगानीकर्ता) रुपमा हेलिकप्टर कम्पनिमा संलग्न भई हाल उडान संचालन गर्दै आएका हेलिकप्टर चालकलाई व्यवसायिक उडान संचालनमा रोक लगाउने निर्णय गरेको पनि उनले बताए। करिब आधादर्जन कम्प्निमा यस्ता चालक रहेको उनले बताए।  

प्रकाशित: २८ असार २०८० ०९:४१ बिहीबार

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) हेलिकप्टर उडान माउन्टेन फ्लाईट