७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्थलमार्गको झन्झटले हवाई यात्रामा चाँप

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढ्दै गरेका यात्रु। तस्बिरःउमेश पुन/नागरिक

यो बेला पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको खण्डमा यात्रा कष्टकर छ। बिस्तारको क्रममा रहेकोले राजमार्गमा पानी पर्दा हिलो र अरुबेला धुलोको समस्या छ। त्यस्तै यहीबेला मुग्लिन–नारायणगढ खण्डमा पनि पहिरोको सकस छ। कुनबेला कहाँ पहिरो खस्ने भन्ने यकिन नहुँदा यात्रा अनिश्चित हुने गरेको छ । घन्टौसम्म राजमार्ग अवरुद्ध हुँदा यात्रु पहिरोको त्रासमै रोकिने गरेका छन्।  

त्यस्तै समस्या नारायणगढ–बुटवल खण्डमा पनि छ। राजमार्ग बिस्तार चलिरहँदा नारायणगढ–बुटवलको यात्रा पनि तोकिएको समयमा पुरा हुन कठिन छ। बिस्तारको काम चलिरहँदा र वर्षाका कारण अहिले पहिरो झर्दा राजधानीलाई जोड्ने मुख्य राजमार्गको यो बेलाको यात्रा सकसपूर्ण छ। यात्रुले सकेसम्म स्थलमार्गबाट यात्रा गर्न नपरोस भन्ने गरेका छन्। तोकिएको समयमा यात्रा पुरा नहुँदा यात्रुलाई मार पर्ने गरेको छ।  

स्थलमार्ग अप्ठेरो हुँदा यो बेला हवाईमार्गमा भने यात्रु बढेका छन्। यात्रु बढेपछि यो बेला हवाइ उडान पनि थपिएका छन्। त्यत्तिमात्र नभई भईरहेको उडानमा पनि यात्रु पर्याप्त हुन थालेका छन। अहिले बुद्ध एयरले पोखरा–काठमाडौं रुटमा मात्र दिनकै १५ वटा उडान गरिरहेको छ। त्यसबाहेक पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज पनि दैनिक एउटाका दरले उडान गरिरहेको छ। बुद्धले दिनमा पोखराबाट मात्र एकतर्फी १८ वटा उडान गरिरहेको छ। त्यस्तै यतीले पोखरा–काठमाडौं रुटमा दिनमा ५ वटा उडान गरिरहेको छ। श्री र सौर्यले पनि पोखरा–काठमाडौं रुटमा उडान गरिरहेका छन्। ती सबैजसो उडानमा पर्याप्त यात्रु रहेको विमान कम्पनिले बताएका छन्।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले दिनमा २५ सयदेखि २६ सय हवाई यात्रुको आउजाउ हुन्छ,’ विमानस्थलका सूचना अधिकारी विष्णुप्रसाद अधिकारी भन्छन, ‘हवाई उडानमा यात्रुको राम्रो आउजाउ छ। स्थलमार्गको झन्झटका कारण पनि उडानमा यात्रुको संख्या राम्रो भएको हो।’ स्थलमार्गमा हिडडुल सकसपूर्ण भएकोले यो बेला यात्रुले हवाई यात्रा रोज्ने गरेको उनले बताए। उनका अनुसार यो बेला दिनमा चारदर्जन हाराहारीमा दुईतर्फी उडान हुने गरेका छन्। पर्यटकीय क्षेत्र भएकोले पनि पोखरा आउजाउ गर्ने हवाई यात्रु बढी हुने गरेको उनले बताए।

भैरहवा र भरतपुरबाट पनि पर्याप्त यात्रु

बुद्धले एयरले अहिले चितवनको भरतपुर–काठमाडौं दिनमा नौवटासम्म उडान गरिरहेको छ। ४२ सिट क्षमताको जहाजबाट भरतपुर–काठमाडौं उडान भईरहेको छ। त्यस्तै बुद्धले भैरहवा–काठमाडौं रुटमा पनि ७२ सिट क्षमताको जहाजबाट नौवटासम्म उडान गरिरहेको छ। बुटवलबाट नारायणगढ, मुग्लिन हुँदै राजधानी आउजाउ गर्न स्थलमार्ग सकसपूर्ण भएपछि अहिले यात्रुले भैरहवा–काठमाडौं हवाई यात्रा रोज्ने गरेका छन्। बुद्धका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार अहिले सबैतिरका हवाई उडानमा यात्रु संख्या करिब ९० प्रतिशत हाराहारीमा छन्।

‘९० प्रतिशत अकुपेन्सीमा जहाज उडिरहेका छन। सबैजसो रुटमा अहिले पर्र्याप्त यात्रु छन,’ कर्णले भने, ‘वर्षाका कारण स्थलमार्ग सकसपूर्ण छ। त्यसले गर्दा हवाई यात्रु बढेका हुन्।’ पोखरा, भरतपुर र भैरहवादेखि काठमाडौंसम्मको स्थलमार्गको आउजाउ निकै नै सकसपूर्ण रहेकोले पनि हवाई यात्रु बढेको उनले बताए। ‘पोखरा–काठमाडौं नै मोटरबाट यात्रा गर्दा १२–१४ घण्टासम्म लाग्ने गरेको छ। पर्यटकीय गन्तव्य भएकोले पनि हवाई यात्रु हुने गरेका छन,’ उनले भने, ‘उडान र यात्रु संख्या बढेकै कारण पोखरालाई बुद्धले राजधानी पछिको हव बनाएर उडान गरेको हो।’

हवाई यात्रु बढ्दै गएपछि यतीले पनि अहिले भैरहवा–काठमाडौं रुटमा उडान थपेको छ। भैरहवा–काठमाडौं दिनमा २ वटा मात्र उडान गरिरहेको यतीले अहिले उडान थप्दै चारवटा पु¥याएको छ। यतीले पोखरा–काठमाडौं पनि दिनमा ५–६ वटा उडान भईरहेको छ। यतीका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार अहिले सबैजसो उडानमा ९० प्रतिशत यात्रु छन्।  

‘पोखरा–काठमाडौं भन्दा पनि भैरहवा–काठमाडौं रुटमा अझ बढी चाँप छ । किनभने पोखराबाट स्थलमार्गमा पहिरोको खासै समस्या छैन। तर, भैरहवाबाट राजधानीसम्मको आउजाउ गर्न निकै नै सास्ती छ,’ बर्ताैलालले भने, ‘बुटवल–नारायणगढ र नारायणगढ–मुग्लिन खण्डको सकसको मारमा पर्ने भएकोले यात्रुले हवाई यातायात रोज्ने गरेका छन। योबेला स्थलमार्गबाट आउजाउ निकै नै सकसपूर्ण छ । यात्रा नै कुनबेला पुरा हुने भन्ने निश्चित छैन।’ स्थलमार्गको झन्झटिलो यात्राका कारण यतीले भैरहवा–काठमडौं रुटमा उडान संख्या नै थप्नुपरेको उनले सुनाए। 

प्रकाशित: १९ असार २०८० ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App