२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ऊन उत्पादन र निर्यातमा सहकार्य गर्न नेपाल र मंगोलिया तयार

नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण, विश्लेषण तथा ज्ञान अभिवृद्धि गर्न अनुसन्धान कार्य अघि बढाउन नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन्।

नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको ‘रिसर्च एण्ड डेभलपमेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रिज’ बीच यस विषयमा बुधबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा संघको तर्फबाट अध्यक्ष विजय दुगड र मंगोलियाली सरकारको तर्फबाट निर्देशक टुरमुन्ख टोगमिन्दले हस्ताक्षर गरेका छन्।

समझदारी अन्तर्गत नेपाली पस्मिना व्यवसायीले ऊन तथा पस्मिना धागो, अर्ध प्रशोधित भुवा तथा ऊनबाट बनेका उत्पादनहरूको नमुनाहरूलाई मंगोलियामा गुणस्तर परीक्षण एवम् विश्लेषण गरिनेछ। साथै यस व्यवसायमा प्राप्त ज्ञान, अनुभव एवं अनुसन्धान कार्यबारे दुवै पक्षले जानकारी आदान प्रदान गर्ने भएका छन्।

हस्ताक्षर भएको दिनदेखि लागु भएको यो सहमतिको अवधि ५ वर्षको हुने र दुवै पक्षको आपसी समझदारीमा यो अवधि बढाउन सकिनेछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा साना उद्योगका राज्य सचिव जम्बालसेरेनको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मंगोलियाको उलनबाटोरमा जारी वल्ड एक्सपोर्ट डेभलपमेन्ट फोरम २०२३ मा नेपाली सरकारी उच्च अधिकारी तथा निजीक्षेत्रका प्रतिनिधि सम्मिलित प्रतिनिधमण्डलको सहभागिता भएका बेला उक्त समझदारी भएको हो।

चार दिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रहरूका व्यावसायिक आवाज, व्यवसायीहरू बीचको बैठक, उद्यममा युवा तथा महिला सहभागिता, स्थानीय नवप्रवर्तनसहित डिजिटल रूपान्तरण लगायतका विषयमा व्यवसायी, नीति निर्माता, विकास साझेदार निकायका प्रतिनिधि, विज्ञहरूबीच विभिन्न छलफल सत्रहरू सञ्चालन भएका थिए।

युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले नेपाली पश्मिना व्यवसायीहरूलाई उक्त सम्मेलनमा सहभागिताका लागि सहयोग गरेको हो। सोमबार सुरू भएको उक्त सम्मेलनमा निर्यात प्रवद्र्धनसँग सम्बन्धित विभिन्न छलफल सत्रहरू तथा व्यावसायिक सम्पर्कका कार्यक्रमहरू सञ्चालन भएका थिए।  

प्रकाशित: १५ असार २०८० ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App