अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभईकन पास हुने दाबी गरेका छन्।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बजेट असार १३ गते कुनै पनि संशोधन बिना पास हुने उल्लेख गरे।
आफूले बजेट ल्याउँदा सीमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले आजको वास्तविकतामा बजेट आएको जिकिर गरे। बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागे अनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको उनको भनाइ थियो।
उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि बताए।
उनले भने, ‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन। थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो। आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो। हाम्रो सम्भावित श्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो। अहिले आएको बजेट पुर्याउन पनि धेरै मेहनत गर्नुपर्छ। आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो। तर उहाँहरुले थोरै साधन श्रोतभित्र रहेर मैले गर्न सक्ने गरेको छु। उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्। आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन। पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ। विधि भित्र रहेर काम गर्नेछौँ।’
मन्त्री महतले बजेट ल्याउनु पूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताए।
प्रकाशित: ११ असार २०८० ११:५२ सोमबार