४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्राविधिक शिक्षा र प्रविधीमैत्री खेती,नगर विकासका लागि अनिवार्य श्रमदान :बुढीगंगा नगरपालिका

नगर सभा उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया फोटो: नागरिक

बुढीगंगा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सबै क्षेत्रका सरोकारवाला पक्षलाई बोलाई पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। २०७९ मा निर्वाचित भएको पहिलो वर्ष देखि नै बुढीगंगाले नीति तथा कार्यक्रम सर्वपक्षिय भेलाका बीच सार्वजनिक गर्ने गरेको छ।

नीति तथा कार्यक्रममा सुझाव लिने र राय माग गर्ने नीति पालिकाले लिएको छ। आएका सुझाव सल्लाहलाई समावेश गर्ने र सबैको प्रतिनिधित्व हुने गरि नीति कार्यक्रम बनाउँदा अपनत्व पनि सबैको हुने भएकोले सर्वपक्षिय भेला मार्फत सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन्।

जारी नीति तथा कार्यक्रममा पालिकाले शिक्षाको गुणस्तर सुधारलाई पहिलो प्राथमिकता दिएको देखिन्छ। पालिका भित्रका भानुदय माविलाई स्मार्ट विद्यालय, त्रिशक्ती र पशुपति माविलाई नमुना विद्यालयका रुपमा विकास गर्ने र आधारभुत तहबाटै अंग्रेजी शिक्षण सिकाइ गर्ने तयारी थालेको छ।

पालिकाले शिक्षालाई पनि बजारको माग र आधुनिक प्रविधीसँग जोडेर सञ्चालन गर्ने बताएको छ। स्नातक तहसम्मको कृषि, पशुपालन र वन लगायतका प्राविधिक शिक्षा अध्ययनका लागि सम्भाव्यता अध्ययन गरी एकीकृत प्राविधिक शैक्षिक केन्द्र स्थापनाका लागि पहल गर्ने नीति लिएको छ।

पालिकाले विद्यालयमा हुने सबै प्रकारका बन्द, हडताल र आन्दोलनलाई पूर्ण रुपमा निषेध गर्ने बताएको छ।युवामा बद्दो दुव्र्यशनीलाई कम गर्न विद्यालय तहमै स्काउटीगको माध्यमबाट सहजिकरण गर्ने, विद्यालयको शैक्षिक सुधारका लागि प्रअसँग गरिएको करार सम्झौताको प्रभावकारी अनुगमन गर्ने नीति सहीत शिक्षा विकासमा भौतिक संरचना विकास समेत प्राथमिकता दिएको छ।

पालिकाले स्वास्थ्य अवस्था सुधारका लागि पनि पालिका स्तरीय अस्पताललाई थप सुधार र व्यवस्थीत गर्ने, सबै स्वास्थ्य संस्थामा कर्मचारी र औषधी प्रर्याप्त राख्ने, मावि स्तरका विद्यालयमा स्वास्थ्य कर्मी राख्ने, पालिकाको स्वामित्वमा नै फार्मेसी सञ्चालन गर्ने नीति लिएको 

बुढीगंगाले फालासैनमा बहुउद्धेश्यीय सपिङ मल, हाटबजार र जीप तथा बसपार्क निर्माण कार्य अगाडि बढाइने नीति लिएको छ। नगर विकास कोषबाट ऋण सहायता लिएर सपिङ मल बनाउने नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

सेरा बगरको ढुंगा, गिटी, वालुवाको उत्खनन कार्यलाई नियमन गर्ने, भवन निर्माण आचारसंहिता जारी गर्दा खेतीयोग्य जमिनमा कङ्क्रिट संरचनालाई निरुत्साहित गर्ने र प्रत्येक नागरिकले महिनाको कम्तिमा दुई दिन अनिवार्य श्रमदान गर्ने नीति अख्तियार गरेको छ। आफ्नो गाउँ, टोल र वडा आफै बनाउने नागरिक चेतना अभिवृद्धि गर्न अनिवार्य २ दिन श्रमदान कार्यक्रम राखिएको नगर प्रमुख बाँनीयाको भनाई छ।

पालिकाले बार्जुकोट दरबारको पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा अन्य निकायहरूमा आवश्यक सहजीकरण गरिनेछ।

हरियाली बुढीगंगा, स्वच्छ बुढीगंगा भन्ने उद्धेश्यका साथ ईक्डिगाडदेखि बल्देसम्मको मुख्य सडक खण्डको दायाँ–बायाँ क्षेत्रमा, बेतालमाण्डौं–त्रिशक्ति, बाम्का–नगरपालिका, फालासैन–नुवाघर, स्वास्थ्य चौकी–डेल्टा, ताँप्रीसेरा–ताँप्रा, बल्दे–आटिचौरको सडक खण्डमा सदाबहार विरूवाहरू हरु रोपण गर्ने कार्यक्रम अघि सारेको छ।

आर्थिक रुपमा विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि नगरपालिकामा  १० लाख बराबरको बुढीगंगा कल्याणकारी कोष स्थापना गर्ने र स्वास्थ्य सेवा सहजीकरणका लागि एम्बुलेन्सको व्यवस्थापन गर्ने नीति पारित गरेको छ।  

पालिकाले फालासैनमा कृषि तथा पशु सेवा सुपथ मूल्य पसल स्थापना गर्ने, कृषि उपजको सहज ढुवानीका लागि सहुलियत भाडादर कायम गरी ‘कृषि एम्बुलेन्स’ को व्यवस्था गर्ने र एमबिबिएस पढ्न चाहने विद्यार्थीहरूलाई नगर प्रमुख छात्रवृति प्रदान गर्ने नीति लिएको छ।  

नगरपालिकामा चल्ने सबै सार्वजनिक सवारीसाधनहरूको रूट परमिट अनिवार्य गर्ने नीति समेत पालिकाले लिएको छ। प्रविधी मैत्री सेवा, आधुनिक कृषि तथा पशुपालन, उन्नत जातको पशु चौपायाको नश्ल सुधार बजारमा विक्ने सिपयुक्त जनशक्ति बुढीगंगाले आफ्नो नीति रहेको प्रष्ट पारेको छ।

पालिकाले सुत्केरी महिला लक्षित नगर उपप्रमुख कोशेली कार्यक्रम सञ्चालन गर्ने, सम्झौता अवधीमा निर्माण पुरा नगर्नेलाई थप आर्थिक रकम कटौती गर्ने नीति लिएको छ। यस्तै घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिने बताएको छ।  

पालिकाले कर्मचारी र जनप्रतिनिधीलाई सामुदायिक विद्यालयको प्रवद्र्धनका लागि सरकारी विद्यालयमा मात्रै छोरा छोरी पढाउने नीति लिएको उपप्रमुख माया कुँवरले बताएकी छन्। भने पञ्जीकरण सेवालाई प्रभावकारी बनाउन सवै वडा कार्यलय मार्फत बिद्यूतिय दर्ता प्रणाली सेवा बिस्तार गरिएको छ।

खेलकुद क्षेत्रमा पनि पालिकाले यो वर्ष भव्य लगानी गर्ने नीति लिएको छ। पालिकामा अन्तराष्ट्रिय खेल मापदण्ड पुरा गरेको खेल मैदान निर्माण गर्ने भएको छ। बुढीगंगा नगरपालिका ९ को भट्टे चौरमा ८ करोड बढीको लागतमा खेल मैदान निर्माण गर्ने नीति पारित गरेको छ। भने वडामा जोड्ने सबै सडकलाई कालोपत्रेका लागि आवश्यक प्रक्रिया र बजेट अघि सार्ने नीति लिएको छ।  

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमाले सचिव भरत थापा, समन्वय समिति सदस्य हिक्मत थापा, नेपाली काँग्रेस, नेकपा एमाले पार्टीका प्रतिनिधी, बडीमालिका क्याम्पस प्रमुख, भानुदय माविका प्राचार्य सहीतले सुझाव मन्तव्य राखेका थिए। सबैले नीति तथा कार्यक्रम प्रभावकारी रहेको र कार्यान्वयनमा ध्यान दिन सुझाव दिएका छन्। कार्यक्रमको स्वागत मन्तव्य उपप्रमुख माया कुँवरले गरेकी हुन्, भने सञ्चालन टंक सिंहले गरेका छन्।

प्रकाशित: १० असार २०८० ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App