१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय,व्यवसायी हर्षित

कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन्।  

पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको बुझाइ छ । व्यवसायीहरु सरकारले कोराना महामारीपछि पर्यटन प्रवद्र्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन् । 

उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरु खुशी भएको बताए ।उनले व्यवसायीहरुले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवद्र्धनमा जोड दिएकाले पनि पर्यटकहरुको आगमन बढेको जानकारी दिए । ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरु पोखरामा आएको र उनीहरुबाट अन्य पर्यटकहरु पनि आउने वातावरण बनेको बताए । उनले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने धारणा राखे ।  

त्यस्तै  होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरु बढ्दा व्यवसायीहरुमा आशा थपिएको जानकारी दिए । उनले पोखरामा पर्यटकहरु बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरुका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताए । उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको धारणा राखे । उनले पोखरा विमानस्थल नियमित सञ्चालनमा आउनसके पर्यटकहरुको कमी नहुने बताए।  

त्यस्तै   गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटकहरुको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गरे । उनले कोरोनापछि पर्यटकहरु बढेको भएपनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको बताए । उनले पोखरामा विदेशी पर्यटकहरुको आगमन अझै कम रहेको बताए।  

व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरुको मनोबल बढ्ने र पर्यटकहरु पनि वृद्धि हुने बताए । उनले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए ।

प्रकाशित: ९ असार २०८० ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App