२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन बोर्ड र पोखराका व्यावसायीबीच आरोप–प्रत्यारोप

बोर्ड कर्मचारी विरुद्ध व्यावसायीको उजुरी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रर्वद्धनको जिम्मा पाएको निकाय पर्यटन बोर्ड र पोखराका पर्यटन व्यावसायीबीच विवाद चर्किदै गएको छ। पर्यटन प्रर्वद्धनमा उचित भूमिका खेल्न नसकेको भन्दै व्यावसायीले बोर्डको पोखरा कार्यालयका कर्मचारी विरुद्ध केन्द्रीय कार्यालयमा उजुरी नै गरेका छन्।  

पोखराका पर्यटन व्यवसायीका संस्थाको पनि छाता संस्था पोखरा पर्यटन परिषद (पिटिसी) मार्फत व्यवसायीले बोर्ड कर्मचारीविरुद्ध उजुरी गरेका हुन्। बोर्डको पोखरा कार्यालयमा कार्यरत कर्मचारीले पर्यटन प्रवद्र्धनमा उपयुक्त भूमिका खेल्न नसकेको, सम्झौता अनुसार रकम नदिएको, उच्चपदस्थ पदाधिकारी विरुद्ध नकारात्मक टिप्पणी गर्ने गरेको लगायतका आरोप व्यावसायीले लगाएका छन्। परिषद्मा आवद्ध र पोखराको पर्यटनमा सरोकार राख्ने विभिन्न १६ वटा संस्था र परिषद्का अध्यक्ष समेत १७ जनाले सामुहिक हस्ताक्षर गर्दै बोर्डमा पोखरा कार्यालयका कर्मचारीविरुद्ध उजुरी दिएका छन।  

बोर्डका कर्मचारीले जानाजान पोखरा कार्यालयलाई निस्कृय बनाउने प्रयास गरेको, राज्यको सेवासुविधा लिएर पनि आफ्नो दायित्व पुरा नगरेको, विभिन्न बहानामा भुक्तानि रोक्ने गरेको आरोप व्यावसायीले कर्मचारीलाई लगाएका छन। ‘प्रवद्र्धनार्थ काम गर्नुस भन्ने तर, कार्यक्रम सम्पन्न भएपछि विभिन्न बहानामा भुक्तानि रोक्ने गरेका छन,’ परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘पुरानो कार्यक्रमको भुक्तानि गरिदिनुस र नयाँ कार्यक्रम गरौ भन्दा बोर्ड कर्मचारीले अटेर गर्ने गरेका छन्। यतिसम्मकी बोर्डको आन्तरिक किचलो देखाउँदै पोखरा कार्यालयका कर्मचारीले काम गर्न मान्दैनन।’  

कर्मचारीले विभिन्न बहानामा काम रोक्ने, बोर्ड सदस्य, कार्यकारी प्रमुखलाई गालिगलौज गर्ने, बोर्डले गलत निणर्य गरेको भन्दै आलोचना गर्ने गरेको आरोप पनि व्यावसायीले कर्मचारीमाथि लगाएका छन्। हालका कर्मचारीले काम नगरेको र भुक्तानि समेत नदिएको भन्दै नयाँ कर्मचारी पठाउन पनि व्यावसायीले बोर्डसँग अनुरोध गरेका छन्।  

‘यो वर्ष बोर्डको पोखरा कार्यालयबाट केही पनि काम भएको छैन। कर्मचारीले काम नगरि तलब खाएर मात्र बसेका छन,’ अध्यक्ष श्रेठले भने, ‘पर्यटन प्रवद्र्धनका कार्यक्रमका लागि व्यावसायिक संस्थासँग सम्झौता गर्ने तर, पैसा दिएनन। सबैजसो व्यावसायिक संस्थाको पैसा रोकेका छन।’ पर्यटन प्रवद्र्धनार्थ तोकिएको पास भएको बजेट समेत कर्मचारीले रोकेको उनले बताए।  

उनका अनुसार होटल संघले फेवा नववर्ष महोत्सव गरेबापत बोर्डबाट पैसा पाएको छैन। त्यस्तै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)ले पनि बंगलादेशमा गर्ने भनेको प्रवद्र्धन कार्यक्रम नै रद्द गरेको पनि श्रेष्ठले बताए। ‘व्यावसायीले गोजिबाट मात्र पैसा हालेर प्रवद्र्धन गर्न सक्दैनन, पर्यटन प्रवद्र्धनार्थ जिम्मेवारी पाएको निकायको रुपमा बोर्ड भएकोले प्रर्वद्धनमा साथ चाहिन्छ,’ उनले भने।  

पोखराको पर्यटनको भविश्यमाथि बोर्डका कर्मचारीले खेलवाड गर्न नपाउने उनले बताए। ‘आन्तरिक विवादका कारण हामी व्यावसायीमाथि आरोप र रिस साध्न पाइदैन, कहिले के मिलेन त कहिले के भनेर काम रोक्ने गरेका छन्। भोलि जो सुकै आउँदा पनि पोखरा विगार्न पाइँदैन,’ उनले भने, ‘व्यावसायीसँग साझेदारीमा काम गर्ने निकायको रुपमा बोर्ड हुनुपर्ने हो, तर, सहकार्य भएन।’  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पनि बोर्डभित्रको आन्तरिक कलहको मारमा पोखराको पर्यटन क्षेत्र परेको बताए। ‘बोर्डका कर्मचारीबीच आन्तरिक विवाद चर्कदो छ। त्यस्तै संचालक समिति र कर्मचारीबीच बेमेल छ। एकले अर्कालाई अटेर गर्ने प्रवृति छ,’ सुवेदीले भने, ‘त्यसको मारमा हामी व्यावसायी परेका छौं।’ होटल संघले नेपाली नयाँवर्षको अवसरमा आगोजित फेवा नववर्ष महोत्सवमा बोर्डले पाँचलाख रुपैयाँ दिने सम्झौता गरेको भएपनि रकम नदिएको उनले बताए। ‘भएका कामको भुक्तानि पनि भएन। सहमति भएपनि पैसा दिएनन। जसले गर्दा अतिरिक्त कार्यक्रम हुन सकेनन,’ उनले भने।  

बोर्डको आन्तरिक किचलोका कारण व्यावसायीसँग सम्बन्ध बिग्रेको उनले बताए। निजी क्षेत्रबाट पाँचजना बोर्डमा पदाधिकारी रहेपनि उनीहरुले पनि व्यावसायीका लागि काम नगरेको सुवेदीको भनाई छ। ‘व्यावसायी नै संचालक समितिमा भएपनि काम गरेनन। आफुहरुलाई कारवाही गरेर पोखरा कार्यालयमा पठाएको भन्दै कर्मचारीले इगो राखेर व्यवसायीमाथि धोका दिएका छन,’ उनले भने। कोभिडले थला परेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि यो बेला दक्ष कर्मचारी उत्पादनका लागि तालिम, पर्यटनको बजारीकरण आवश्यक भएपनि बोर्डले पैसा नदिएको उनले बताए।

व्यावसायीले जुन हिसाबले पर्यटन बोर्ड गठन भएको हो, त्यो अनुसार काम नभएको बताए। ‘क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई मात्र दोषारोपण गरेर मात्र पनि उम्किन मिल्दैन, बोर्डका उच्च पदस्थ पदाधिकारी पनि जिम्मेवार हुनुपर्छ,’ एक संस्थाका अध्यक्षले भने, ‘माथिल्लो निकायले तल्लो निकायलाई मात्र दोष दिने होईन, यतिसम्मकी प्रमुख कार्यकारी समेत यस्ता काममा जिम्मेवार बन्नुपर्छ। तल्लो तहलाई मात्र दोष दिएर माथिल्लो तहका पदाधिकारी उम्किन मिल्दैन।’  

बोर्डका पोखरा कार्यालयका निर्देशक काशिराज भण्डारी लेखापाल नहुँदा भुक्तानि रोकिएको अवस्थामा व्यावसायीले कर्मचारीमाथि दोषारोपण गरेको बताउँछन्। ‘लेखापाल छैनन, कुनैपनि कार्यालयमा लेखापाल नभए त्यहाँको लेखा चुस्न हुन सक्दैन। यसअघिका लेखापाल फिर्ता भएपछि नयाँ कोही आएको छैनन। लेखापाल नभएकोले भुक्तानिमा समस्या भएको हो,’ भण्डारीले भने, ‘कर्मचारीलाई लक्षित गरि दोषारोपण गर्ने काम भएको छ।’  

पोखराको समस्या समाधान गर्न नचाहेर व्यावसायीलाई उचाल्ने काम समेत बोर्डभित्रैबाट भएको समेत कर्मचारीको गुनासो छ। समस्या समाधान भन्दा पनि व्यक्तिगत आरोप र प्रत्यारोपमा बोर्ड अघि बढिरहेको कर्मचारीको गुनासो छ।  

प्रकाशित: ३० जेष्ठ २०८० १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App