७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाटाको पोखरा सम्मेलनः दीगो पर्यटन र डिजिटल बजारीकरणमा विज्ञको जोड

पोखरामा भएको पाटा सम्मेलन र मार्ट। तस्बिरः नागरिक

दीगो पर्यटन र डिजिटल बजारीकरणमा जोड दिँदै एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक सम्मेलन तथा एडभेन्चर मार्ट’ सकिएको छ। सम्मेलन र मार्ट सहित चारदिनसम्म पोखरामा यो कार्यक्रम चलेको थियो।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेशनलको मुख्य आयोजना एवं पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद् (पिटिसी)को संयोजनमा गत मंगलबारदेखि कार्यक्रम संचालन भएको थियो। चारदिनसम्म चलेको सम्मेलन तथा मार्ट विश्वको पर्यटन सम्बद्ध आर्थिक विकास र दीगो पर्यटनमा केन्द्रीत थियो। सम्मेलनका विज्ञहरुले पर्यटनमा अहिले देखिएका चूनौती, आगामि दिनमा अगाडि लैजाने तरिका, डिजिटल बजारीकरण, सुरक्षा लगायतबारे छलफल गरेका थिए।

सम्मेलनमा सहभागि विज्ञहरुले बदलिँदो परिवेशमा पर्यटन विकास र प्रर्वद्धनको लागि डिजिटm बजारीकरणलाई समेत सँगसँगै लैजानुपर्ने बताए। यस्तै उनीहरुले विश्व पर्यटन विस्तारै कोभिड अघिको लयमा फर्किन थालेपनि पर्यटनले आर्थिक मन्दिको असर बेहोरि रहेकोले त्यो चूनौती भने कायम रहेको उनीहरुको भनाई थियो। विज्ञहरुका अनुसार विश्वको पर्यटनलाई कोभिड अघिको अवस्थामा फर्किन झन्डै एकवर्ष कुर्नुपर्ने छ।  

पछिल्लो समय विश्वभरको पर्यटनमा सुधार आएपनि कोरोना अघिको अवस्थामा फर्किन समय लाग्ने उनीहरुले बताएका थिए। आर्थिक मन्दी, विभिन्न मूलुका चर्किएको द्वन्द्व, मन्दीका कारण निम्तिएको महंगी लगायतले पर्यटनमा असर पारेको विज्ञहरुको भनाई थियो। महंगीका कारण पर्यटकहरुले लामो दूरीको यात्रा छोट्याएको, युवापुस्तामा भ्रमण गर्ने चलन बढेको, घुमघामको अवधि घटाएको लगायत बारे छलफल गरेका थिए।  

कार्यक्रम समापनका अवसरमा पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थित रुपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेको बताए। पोखरामा भएको यो सम्मेलनले नेपाललाई सुन्दर, सुरक्षित र साहसिक पर्यटनको गन्तव्यका रुपमा चिनाउन सघाउ पुग्ने उनले बताए। ‘अब नेपाललाई बजारीकरण गर्नमा झनै सहयोग पुगेको छ। पोखराले त त्यसको झनै बढी लाभ पाउनेछ,’ उनले भने।  

पाटा इन्टरनेशनका सचिव सुमन पाण्डेले वार्षिक सम्मेलन तथा एडभेन्चर मार्ट भव्य रुपमा सम्पन्न भएको र यसले नेपाललाई साहसिक गन्तवका रुपमा थप परिचित गराउने बताए। उनले पोखरालाई सुरक्षित र घुम्न नगई नहुने सहरको रुपमा प्रचार गर्न पनि सहयोग पुगेको बताए।  

पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यले अन्तर्राष्ट्रियस्तरको यो कार्यक्रम आयोजनाले पोखरासंगै समग्र नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए। पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्ययहरुका बीचमा भएको छलफल र अन्तरक्रिया सहितको पाटा मार्टले कोभिडपछि लयमा फर्किदै गरेको पर्यटनमा नयाँ आयाम थप्ने बताए।  

नेपालमा पहिलोपटक आयोजना गरिएको यो सम्मेलन कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल भएको बोर्डका प्रमुख कार्यकारी रेग्मीको भनाई छ।

सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित २५० भन्दा बढिको सहभागि थिए। सम्मेलन र मार्टमा विभिन्न देशका पर्यटन विज्ञहरुले विश्वको पछिल्लो पर्यटनको अवस्था, चुनौती र अवसर ,आर्टिफिसियल इन्टेलिजेन्स, सोसल मिडिया इन्फ्लुएन्स, महामारी र दीगो पर्यटनका विभिन्न पक्षबारे छलफल गरेका थिए। मार्टमा स्थानीय व्यावसायीले अन्तर्राष्ट्रियस्तरका व्यावसायीसँग भेटघाट र छलफल गर्दै व्यावसायिक अनुभव साटेका थिए।

प्रकाशित: १९ जेष्ठ २०८० ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App