८ वैशाख २०८१ शनिबार
अर्थ

विराटनगर आइपुग्यो कार्गो रेल

औद्योगिक कच्चा पदार्थ बोकेर भारतबाट विराटनगर –१८ बुधनगर स्थित आइसीपीमा आइपुगेको कार्गो रेल । तस्बिर:चुमन बस्नेत/नागरिक

विराटनगर –१८ बुधनगर स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) सम्म कार्गो रेल आइपुगेको छ।नेपालका उद्योगहरूको कच्चापदार्थ बोकेर  कार्गो रेल आज दिउँसो विराटनगरस्थित आइसीपीमा आइपुगेको हो।  

भारतको वथनाहा देखि विराटनगरको आइसीपीसम्मको रेल मार्ग ५ वर्ष पहिले नै परिक्षण गरिएको भएपनि कार्गोरेल भने आउन सकेको थिएन।आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मादीले संयुक्त रुपमा  भारतको बथानाहा देखि विराटनगरको आइसीपी सम्मको रेल मार्गको उद्घाटन गरेका थिए । 

विराटनगरको आइसीपी सम्म रेल मार्ग सञ्चालनका लागि विराटनगरका उद्योगी व्यवसायीले धेरै वर्ष देखि माग गर्दै आएका थिए । तर, विभिन्न कारण देखाउँदै नेपाल र भारत दुबै पक्षले रेल मार्ग सञ्चालनमा आनाकानी गर्दै आएको थियो । लामो समयको प्रतिक्षा पछि उद्योगी व्यवसायीले  उठाउँदै आएको माग आजदेखि सम्बोधन भएको छ । 

यसअघि नोपाली उद्योगमा कच्चापदार्थ बोकेको मालबाहक रेल भारतको वथनाहासम्म मात्रै आउने गरेको थियो । वथनाहा देखि मालबाहक ट्रकमा राखेर सामान नेपाल भित्राइदै आएको थियो  । नेपालको भन्सार सम्म नै रेल आएपछि नेपाली उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् । स्थलमार्गको तुलनामा रेल मार्ग निक्कै सस्तो हुने भएकाले यहाँका उद्योगी व्यवसायीले विराटनगरको आइसीपी सम्म रेलमार्ग सञ्चालनमा ल्याउन माग गर्दै आएका थिए । रेल मार्ग सञ्चालनमा आएसँगै यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्। 

वथनाहा– विराटनगर रेल सञ्चालनमा आएपछि सुनसरी– मोरङ औद्योगिक करिडोरमा औद्योगिक वातावरण बन्ने नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले बताए ।  ‘कार्गो रेल सञ्चालनमा आएसँगै कच्चापदार्थको ढुवानी लागत घटेको छ’ घिमिरेले भने‘ ढूवानीसँगै अन्य डिटेन्सन, ड्यामरेज लगायतका अनाबश्यक  शुल्कहरूको वोझ पनि कम भएको छ ।’  

रेलमार्ग सञ्चालनमा आएपछि चर्को ढूवानी शुल्कबाट राहत मिलेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । उनले विराटनगरको आइसीपी सम्म नियमित रुपमा कार्गो रेल संचालनमा आए विराटनगर लगायत सुनसरी–मोरङ ओद्योगिक करिडोरका उद्योगहरूको प्रतिस्पर्धी क्षतासमेत बढ्ने बताए । रिजालले भने‘ कोर्गो रेल  नियमित रुपमा सञ्चालनमा आए ढूवानी लागत घट्ने समयमै आयात गरिएका औद्योगिक कच्चापदार्थ र अन्य समानहरू नेपाल आइपुग्ने भएकाले अनाबश्यक झण्झट, अतिरिक्त शुल्क  र चर्को ढूवानी शुल्कबाट राहत मिल्नेछ ।’ 

रिजालले कार्गो रेल सञ्चालनले सुनसरी–मोरङ औद्योगिक करिडोरका उत्पादनको मूल्य घट्ने भएकाले आम सर्वसाधारण उपभोक्तालाई पनि फाइदा हुने दाबी गरे । भारतबाट आएको कार्गो रेललाई रेल विभाग, विराटनगर भन्सारका कर्मचारी र विराटनगरका उद्योगी व्यवसायीले स्वागत गरेका थिए । भारत सरकारको सहयोगमा भारतको बथनाहादेखि मोरङको कटहरी सम्म रेल सेवा सञ्चालन गर्ने उद्देश्यले रेलमार्ग निर्माण थालिएको थियो । रेलमार्गका लागि जग्गाको व्यवस्था नेपाल सरकारले गर्ने र रेलमार्गका पूर्वाधार निर्माणको काम भारत सरकारले गर्ने सम्झौता भएको थियो ।

 तर, सम्झौता अनुसार नेपाल सरकारले जग्गा उपलब्ध नगराएका कारण आइसीपी देखि कटहरी सम्मको रेल वे को काम अघि बढन सकेको छैन । मुआब्जा विवादका कारण कटहरी स्थित रेल स्टेशनको काम ठप्प छ । कटहरीमा रेल स्टेशन निर्माणका लागि जग्गा उपलब्ध नभएपछि भारत सरकारले निर्माण सम्पन्न भएको बथनाहा देखि विराटनगर स्थित आइसीपी सम्मको रेल मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्न गत वर्ष देखि नै प्रयास गरिरहेको थियो । 

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको अवसर पारेर वथानाहा– विराटनगर (बुधनगर) कार्गो रेल सञ्चालनमा ल्याइएको हो।रेलको दुबै देशका प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीबाट झण्डा हल्लाएर उद्घाटन गरेका थिए।

प्रकाशित: १८ जेष्ठ २०८० १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App