coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पूर्वाधारका पुरानै कार्यक्रममा जोड

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नयाँ खालका परियोजनाभन्दा पनि पुरानै परियोजनालाई निरन्तरता दिनेगरी ल्याएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा पूर्वाधार लक्षित विकास निर्माणमा योजनामा नयाँभन्दा पनि पुरानै खालका योजनालाई अघि सारिएको हो।

सरकारले यसअघि नै केही सीमित पूर्वाधार निर्माणमा हुँदै आइरहेको दुई सिफ्टमा काम गर्ने व्यवस्थालाई प्राथमिकताका साथ अघि सारेको छ। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम रणनीतिक तथा व्यापारिक महत्वका सडकखण्डहरूको निर्माण तथा स्तरोन्नति गरिने बताए। ‘पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ। आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ,’ उनले भने।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नयाँ खालका परियोजनाभन्दा पनि पुरानै परियोजनालाई निरन्तरता दिनेगरी ल्याएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा महाकाली, कर्णालीलगायत करिडोरको निर्माणलाई प्राथमिकतामा राख्ने भएको छ। सरकारले निर्माणाधीन काठमाडौं-तराई मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने घोषणा गरेको छ। तर अहिलेको निर्माण गति हेर्दा तोकिएको समयमा आयोजना सम्पन्न हुने छाँटकाट देखिन्न।

सरकारको नीति तथा कार्यक्रममा निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू पाँच वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा महाकाली, कर्णालीलगायत करिडोरको निर्माणलाई प्राथमिकतामा राख्ने भएको छ।

‘आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनामा मात्र बजेट विनियोजन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘राष्ट्रिय गौरव रूपान्तरणकारी आयोजनाको कार्यान्वयनमा प्राथमिकता दिइनेछ। आयोजना वर्गीकरण निर्देशिकाबमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट व्यवस्था गरिनेछ।’

राष्ट्रिय पूर्वाधार गुरुयोजना बनाइने

सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय पूर्वाधार गुरुयोजना तयार गरी पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ। सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐनमा समयानुकूल संशोधन गरिनेछ। सडक, रेल, जलमार्ग र हवाई क्षेत्रलाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने तयारी सरकारको रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले आगामी तीन वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सबै स्थानीय तहको केन्द्रलाई सम्बन्धित प्रदेशको केन्द्र वा नजिकको राष्ट्रिय राजमार्गसँग पक्की सडकले जोड्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। सरकारले आगामी तीन वर्षभित्र बढीमा एक घन्टा हिँडाइको दूरीमा एक झोलुंगे पुल निर्माण गर्ने घोषणा गरेको छ।

सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय पूर्वाधार गुरुयोजना तयार गरी पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ।

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा राष्ट्रिय राजमार्गमा पर्ने ठुला नदीहरूमा आवश्यकताअनुसार सिग्नेचर ब्रिजहरूको निर्माण गर्ने नीति लिएको छ। राष्ट्रिय राजमार्गहरूमा सुरुङमार्ग, फ्लाईओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण कार्यलाई पनि निरन्तरता दिने जनाइएको छ।

रेलसँग सम्बन्धित कार्यालय एकीकृत गरिने

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा रेल यातायातसँग सम्बन्धित बोर्ड, कम्पनीलगायत सबै संरचनालाई एकीकृत रूपमा सञ्चालन गर्ने भएको छ।

निजी तवरमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर सेवा प्रदायकका सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरिनेछ। सरकारको नीति तथा कार्यक्रममा प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा मुख्य सहरहरूमा मेट्रो रेल, मोनोरेल तथा ट्राम निर्माण तथा सञ्चालनको अध्ययन गर्ने उल्लेख छ।

कोसी, गण्डकी, कर्णाली भेरी लगायत प्रमुख नदी प्रणालीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना निर्माण गरिनेछ। निजी क्षेत्रको लगानीमा सञ्चालन हुने उद्योग वा आयोजनाले सार्वजनिक उपयोगसमेत हुन सक्ने गरी पहुँचमार्ग निर्माण गरे लागतको निश्चित रकम शोधभर्ना दिने बताइएको छ।

सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन

सरकारले आगामी आवदेखि सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिएको छ। सरकारले सबै प्रमुख सहरमा क्रमशः विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्ने भएको छ। ग्याँस, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट चल्ने गरी रूपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि वर्षायाममा ५० युनिट र हिउँदेयाममा तीन युनिट बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ। सरकारले खाना पकाउने ग्याँसलाई क्रमशः विद्युत्बाट प्रतिस्थापन गर्ने नीति अघि सार्ने भएको छ। सरकारले सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापन गर्ने नीति अघि सार्ने भएको छ।

निजी क्षेत्रलाई सहभागी गराउने

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने भएको छ।

राष्ट्रपतिद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सामञ्जस्यपूर्ण ढंगले अगाडि बढाइने बताइएको छ। ‘देशभित्र उत्पादन भएको विद्युत्को आन्तरिक खपत वृद्धिका लागि प्रसारण र वितरण प्रणालीको सुदृढीकरण, विस्तार र नयाँ पूर्वाधारहरूको निर्माण गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘विद्युत् निर्यात बढाउन अन्तरदेशीय विद्युत् प्रसारण लाइन एवं अन्य पूर्वाधार विकास गरिनेछ।’

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने भएको छ।

सरकारले आगामी आवमा जलाशययुक्त आयोजना निर्माणमा प्रथामिकता दिने भएको छ। जलाशययुक्त ठुला बहुउद्देश्यीय आयोजना तथा अन्य जल विद्युत् आयोजनाहरूमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने भएको छ। सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत सरकारी खरिद प्रक्रिया थप पारदर्शी एवं व्यवस्थित गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय विकास सहायता परिचालनलाई राष्ट्रिय गौरवका, रणनीतिक, रूपान्तरणकारी र उच्च प्रतिफलयुक्त आयोजनाहरूको सञ्चालनमा केन्द्रित गर्ने भएको छ। 

प्रकाशित: ६ जेष्ठ २०८० ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App