coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्यास उद्योगमा गुणस्तर मापदण्डमा कडाइ, ५१ उद्योगले एनएस लिए

ग्यास सिलिण्डर पड्किएर दुर्घटना हुने क्रम बढेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले खाना पकाउने ग्यास उद्योगमा कडाइ गरेको छ। दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न विभागले ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) लिन र मापदण्ड पूरा गरेर मात्र उद्योेग सञ्चालन गर्न आग्रह गरेको छ।

विभागको कडाइपछि ६० ग्यास उद्योगमध्ये ५१ ग्यास उद्योगले गुणस्तर चिह्न लिएका छन्। नौवटा उद्योगले एनएस चिह्न लिन बाँकी रहेको विभागले जनाएको छ। यो वर्ष ४५ वटा उद्योगमा अनुगमन गरेर मापदण्ड पालना गरे-नगरेको अनुगमन गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रले बताए। ‘ग्यास सिलिण्डरसम्बद्ध दुर्घटना बढेपछि अनिवार्य रूपमा स्ट्याण्डर्ड पालना गर्न निर्देशन दिएका छौं,’महानिर्देशक मिश्रले भने, ‘मापदण्ड पूरा नगर्ने उद्योगलाई कानुनी दायरामा ल्याउछौं।’

विभागले एलपिजी ग्यास बोटलिङ अपरेसन स्ट्याण्डर्ड बनाएर कार्यान्वयनमा ल्याएको छ। पेट्रोलियम ग्यास अति प्रज्वलनशील पदार्थ भएको हुँदा त्यसलाई बुलेटबाट रिफिलिङ स्टेसनमा साना सिलिन्डरमा भर्ने कार्य, भण्डारण गर्ने सिलसिलामा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न मापदण्ड बनाएको छ। त्यसैगरी खाना पकाउने ग्यास सिलिन्डरको पनि मापदण्ड बनाएर कार्यान्वयनमा ल्याइएको छ।

अहिले करिब सवा करोड थान सिलिन्डर बजारमा छन्। ग्यास उद्योग र उपभोक्ताको हेलचेक्य्राइँले दुर्घटना दोहोरिएपछि सूक्ष्म अनुगमन गरेको विभागले जनाएको छ। ग्यास उद्योगले दैनिक एक लाख थान भरिएका सिलिण्डर बजारमा पठाउने गरेको छ। विभागले उद्योगको अनुगमन गरेर प्राविधिक रूपमा सुरक्षित सिलिण्डर मात्रै बजारमा पठाउन निर्देशन दिएको जनाएको छ। ग्यास लिकेज भएर, सिलिन्डर पड्केर दुर्घटना भई मानवीय र भौतिक क्षति भएका घटना निरन्तर दोहोरिएपछि विभागले कडाइ गरेको हो। हरेक नागरिकको भान्सामा ग्यास सिलिण्डर छन्। खाना पकाउने ग्यासको प्रयोगमा सावधानी नअपनाउँदा दुर्घटना हुने गरेको छ। केही ग्यास सिलिन्डर मापदण्ड विपरीत र म्याद गुज्रेका भए पनि भान्सामा प्रयोग भइरहेका कारण दुर्घटना भएको छ भने केही उपभोक्ताको हेलचेक्य्राइँको कारण पनि त्यस्ता अप्रिय घटना भएका छ।

जानकारका अनुसार उपभोक्तामा ग्यास प्रयोगसम्बन्धी चेतना पनि छैन। भान्सामा रहेका सिलिण्डरको मापदण्ड तथा गुणस्तरबारे पनि ध्यान दिइएको छैन। ग्यास उद्योगी, नियामक निकाय र आम उपभोक्ताको हेलचेक्य्राइँले दुर्घटना हुने गरेका छन्।

आम उपभोक्तामा ग्यास लिक भएको अवस्थामा विद्युतीय सामग्री प्रयोग गर्ने विषयमा जानकारी नहुँदा पनि दुर्घटना हुने गरेका छन्। ग्यास प्रज्वलनशील वस्तु भएकाले प्रयोगको विधि र सुरक्षाबारे आम प्रयोगकर्तालाई जानकारी हुनु आवश्यक छ।  

ग्यास सिलिन्डर र रेगुलेटरको कमसल गुणस्तरका कारणले पनि दुर्घटना हुने गरेका छन्। कतिपय ग्यास उद्योगले मापदण्ड पूरा नगरेको गुनासो पनि आउने गरेको छ। केही ग्यास उद्योगले पुराना सिलिन्डर पनि प्रयोग गर्दै आएका छन्।  

ग्यास सिलिण्डरसम्बद्ध दुर्घटना बढेकाले अनिवार्य रूपमा स्ट्याण्डर्ड पालना गर्न निर्देशन दिएका छौं, मापदण्ड पूरा नगर्ने उद्योगलाई कानुनी दायरामा ल्याउछौं। दीनानाथ मिश्र महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग

ग्यास लिक हुन नदिन सिलिन्डरको हाइड्रोलिक परीक्षण लगायत सुरक्षाका प्रावधान अपनाउनुपर्छ। सिलिन्डर नकुच्चिएको, रङ नखुइलिएको, सिलिण्डरको मार्किङ लेबल स्पष्ट देखिनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन फितलो छ। ग्यास सिलिन्डर, रेगुलेटर, चुलो मापदण्डअनुसार भए-नभएको पनि प्रभावकारी अनुमगन हुन नसकेको बिक्रेताको गुनासो छ। विभागले यी विषयमा पनि कडाइका साथ अनुगमन गरेको जनाएको छ।

हाइड्रोलिक टेस्ट फेल भएका पुराना सिलिन्डरलाई हरेक वर्ष नष्ट गर्न निर्देशन दिइएको नेपाल आयल निगम एलपीजी विभागका प्रमुख दीपक बरालले बताए। ‘हाइड्रोलिक टेस्ट फेल भएका (म्याद पुगेका) ग्यास सिलिन्डर नष्ट गर्न निर्देशन दिएका छौं ,’बरालले भने, ‘निगम र गुणस्तर विभागको रोहबरमा उद्योगले ग्यास नष्ट गर्दै आएका छन्।’  

ग्यासको नयाँ सिलिन्डर बजारमा आएको १० वर्षमा पहिलोपटक हाइड्रोलिक परीक्षण गर्नुपर्छ। त्यसपछि दुईपटक ५–५ वर्ष र त्यसपछि हरेक ३–३ वर्षमा परीक्षण गर्नुपर्छ। पुराना सिलिण्डर भर्ने बेलामा हाइड्रोलिक टेस्ट गर्नुपर्ने हुन्छ। ग्यास उद्योगीले आफैंले यो परीक्षण गर्दै आएका छन्।  

उद्योगले मापदण्ड अनुसार उद्योग सञ्चालन गर्दै आएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले बताए। ग्यास सिलिण्डर मात्र नभएर रेगुलेटर, चुलोको गुणस्तरमा पनि ध्यान दिँदै आएको उनले बताए।

प्रकाशित: ५ जेष्ठ २०८० ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App