coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

केयुकेएलले नयाँ लाइनमा बिलिङ नगर्दा करोडौं गुमाउँदै

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को व्यवस्थापकीय कमजोरीका कारणले नयाँ पाइपलाइनबाट मेलम्चीको पानी वितरण गरे पनि ग्राहकको घरमा बिलिङ नगर्दा केयुकेएलले करौडौं रूपैयाँ राजस्व गुमाउँदै आइरहेको छ। केयुकेएलले मेलम्चीको नयाँ पाइपलाइनबाट ६० हजारभन्दा धेरै ग्राहकको घरमा नियमित पानी उपलब्ध गराए पनि बिलिङ नगर्दा करोडौं रूपैयाँ राजस्व गुमाउँदै आएको हो।  

केयुकेएलले मासिक दश हजार लिटर खानेपानी खपत गर्ने ग्राहकबाट एक सय रूपैयाँ शुल्क पानीको महसुल र ५० रूपैयाँ ढलको शुल्क उठाउने प्रावधान छ। मासिक १० हजार लिटरभन्दा धेरै पानी खपत गर्ने ग्राहकलाई थप शुल्क लाग्ने गर्छ तर केयुकेएलले पछिल्लो समय मसिंर २३ गतेदेखि मेलम्चीको नयाँ वितरणलाइनबाट मात्रै ६० हजारभन्दा धेरै ग्राहकलाई पानी उपत्यकामा वितरण गर्दै आइरहेको छ।  

नयाँ पाइपलाइन टेस्टिङको नाममा साढे ५ महिनाभन्दा धेरै समय ग्राहकले निःशुल्क पानी प्राप्त गरे पनि बिलिङ गर्न भने चासो देखाएको छैन। केयुकेएलले ६० हजार ग्राहकबाट मासिक एक सय रूपैयाँको दरले मात्र पनि ६० लाख रूपैयाँ राजस्व गुमाउँदै आइरहेको छ। मासिक ६० लाखको हिसाबले पनि ५ महिनामा केयुकेएलले ३ करोड रूपैयाँभन्दा बढीको राजस्व गुमाउँदै आइरहेको छ।  

केयुकेएलले पुरानो वितरण प्रणालीबाट भने १ लाख ६० हजारभन्दा धेरै ग्राहकलाई वितरण गर्दै आइरहेको छ। यसको भने नियमित महसुल उठाउँदै आइरहेको छ। केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको नयाँ वितरण लाइन टेस्टिङकै क्रममा रहेकाले पानीको महसुल उठाउन सुरु नगरिएको बताए। ‘अहिले टेस्टिङकै चरण भएकाले पनि नयाँ धारा र नयाँ पाइपलाइबाट पानी दिइरहेका छौं तर अहिलेसम्म ग्राहकबाट महसुल लिन मिलेको छैन,’ उनले भने, ‘कार्यालयले पनि धेरै समय सुक्खा भयो। केही समय पानी दिउँ न त भनेर छाडिदिएका हौं।’ केयुकेएलका सिइओ शाक्यले केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयसँग आवश्यक समन्वय गरेर महसुल उठाउने प्रक्रिया सुरु गर्ने दाबी गरे।

खानेपानी मन्त्रालयका सहसचिव तथा केयुकेएल बोर्डका अध्यक्ष तिरेसप्रसाद खत्रीले लामो समयसम्म टेस्टिङकै क्रममा पानी वितरण गर्न नहुने बताउँदै आवश्यक प्रक्रिया पूरा गरेर नयाँ ग्राहकबाट पनि पानीको महसुल उठाउनुपर्ने बताए। ‘मेलम्चीको पानी थप भएसँगै केयुकेएलले उठाउनुपर्ने राजस्वको दायरा पनि बढाइदिएका छौं। यो वर्ष केयुकेएलले एक अर्बबढी महसुल उठाउनुपर्ने लक्ष्य दिएका छौं,’ उनले भने, ‘केयुकेएलमा केही व्यवस्थापकीय कमीकमजोरी रहेको छ। हामीले व्यवस्थापन पक्षलाई पानीको मिटर नियमित अनुगमन गरेर व्यवस्थापन गर्न अनुरोध गर्दछु।’ सहसचिव खत्रीले सेवा क्षेत्र भए पनि सरकारले तोकेको न्यूनतम शुल्क उठाउन केयुकेएललाई निर्देशन दिएका छन्। ‘केयुकेएलले पुरानै पानी वितरण गरेर वार्षिक ६५ करोड रूपैयाँ राजस्व संकलन गर्दै आइरहेको थियो,’ सिइओ शाक्यले भने, ‘मेलम्चीको पानी थप भएसँगै अहिले वार्षिक ५÷१० करोड रूपैयाँ राजस्व संकलन हुन थालेको छ।’ तर, केयुकेएलले केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयबाट नयाँ वितरण गरिएको पाइपलाइनका ग्राहकको बिलिङ प्रक्रिया अघि नबढाउँदा वार्षिक करोडौं रूपैयाँ गुमाउँदै आइरहेको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा आए पनि अहिले १० करोड लिटर पानी उपभोक्ताको घरमा पठाउँदै आइरहेको छ। बाँकी ७ करोड लिटर पानी मेलम्चीको नयाँ पाइपलाइन टेस्टिङ गर्न प्रयोग गर्दै आइरहेको छ। केयुकेएलले मेलम्चीको पानी पनि पुरानै नेटवर्कबाट पनि वितरण गर्दै आइरहेको छ। मेलम्चीको पानी थप भए पनि केयुकेलको वार्षिक आम्दानी ५ देखि १० करोड रूपैयाँ मात्रै थप भएको छ। केयुकेएलले मेलम्चीको पानी नआउँदा पनि मासिक ८ करोड लिटर बेचेर वार्षिक ६५ करोड रूपैयाँ आम्दानी गथ्र्याे। अहिले मेलम्चीको पानी दैनिक १० करोड लिटर वितरण गर्दा मुस्किलले ५ देखि १० करोड रूपैयाँ मात्रै वार्षिक रूपमा वृद्धि भएको छ।  

मेलम्चीको सुरुङ बन्द गरिने

मेलम्ची खानेपानी विकास बोर्डले जेठ ५ गतेदेखि मेलम्चीको सुरुङ मर्मत सम्भारका लागि १० दिन बन्द गर्ने भएको छ। वर्षायाम सुरु हुनै लागेकाले पनि सम्भावित प्राकृतिक प्रकोपबाट आयोेजनामा थप क्षति नहोस् भनेर मर्मतसम्भार गर्न जेठ ५ देखि १५ गतेसम्म मेलम्चीको हेडवक्र्स क्षेत्रमा थप संरचना निर्माण गर्न बन्द गर्न लागिएको हो। केयुकेएलले सोमबार पत्रकार सम्मेलन गरेर मेलम्चीको पानी १० दिन रोकिने जनाएको छ। ‘अहिले मेलम्चीको पानी दुई दिनको अन्तरालमा वितरण गर्दै आइरहेका थियौं,’ उनले भने ‘सुरुङ बन्द गरेर थप संरचना निर्माण गर्न १० दिन बन्द हुँदा ३ देखि १० दिनको अन्तरालमा पानी उपलब्ध गराउनेछौं।’ केयुकेएलले नयाँ खानेपानी उपलब्ध हुने सूचना केयुकेलको वेवसाइट तथा फेसबुक पेजमा राख्ने जनाएको छ। केयुकेएलले मेलम्चीको पानी बाह्रैमास ल्याउन अम्बाथानस्थित हेडवक्र्सको गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टस्को जडान लगायतका संरचनाहरूको निर्माण तथा सुधार गर्न १० दिन सुरुङ बन्द गर्न लागिएको हो।

प्रकाशित: २ जेष्ठ २०८० ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App