२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराका पर्यटन व्यवसायी भन्छन्: आगामी वर्षको बजेट पर्यटनमैत्री होस्

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र माथि उकासिन नसकेको गुनासो पर्यटन व्यवसायीले गरिरहेका छन्। भाइरस संक्रमणको लामो असर, पोखरामा भएको हवाई दुर्घटना, विभिन्न मुलुकबीचको द्वन्द्व, विश्वव्यापी आर्थिक मन्दी लगायतका कारण तेस्रो मुलुकका पाहुना आउन नसकेको व्यवसायीले बताईरहेका छन्।

विदेशी पाहुना आउन नसक्दाको मारले गर्दा व्यवसायी थला परेको भन्दै पर्यटन क्षेत्र जोगाउने गरी योजना र बजेट ल्याउन यहाँका व्यवसायीले सरकारसँग आग्रह गरेका छन्। पर्यटन व्यवसायीले राष्ट्रबैंक पोखरा कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै व्यवसायी जोगाउने गरी निर्देशिका ल्याउन र आगामी बजेट पर्यटनमैत्री हुनुपर्ने पनि बताएका छन्। होटल संघ पोखराले पर्यटन व्यवसाय जोगाउने पहल गरिदिने गरी निर्देशिका र बजेट ल्याउन अनुरोध गरेको हो।

कोभिड १९ कारण पर्यटन क्षेत्र हालसम्म पुरानै लयमा फर्किन नसकेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। पर्यटन क्षेत्र लयमा आउन नसकेकोले व्यवसायीले लिएको कर्जाको तिर्नुपर्ने ब्याजलाई नयाँ साँवा बनाई पहिलेको कर्जाको भुक्तानी तालिका सकिए पश्चात् मात्रै तिर्नेगरि नयाँ तालिका बनाइदिनुपर्ने व्यवस्था मिलाइदिन पनि व्यवसायीले माग गरेको उनले बताए। व्यवसायीलाई साधारण पुन कर्जाको व्यवस्था गरिनुपर्ने पनि उनले बताए।

पर्यटन उद्योगको आर्थिक अवस्थामा सुधार नआएकोले पुन कर्जा सुविधालाई निरन्तरता दिइनुपर्ने, होटलले लिएको ऋणको कर्जा र आवश्यक थप कर्जा न्यून ब्याजदरमा प्रवाह गरिनुपर्ने, कर्जाको ब्याजदरलाई वृद्धि गर्न नहुने माग पनि व्यवसायीको छ।

व्यवसायीले कोभिड संक्रमणका कारण नियमित रुपमा कर्जा तथा व्याज भुक्तानी गर्न नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिन नपाउने गरी व्यवस्था गर्न पनि व्यवसायीको आग्रह छ। ‘व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य नगर्न पनि हामीले राष्ट्रबैंक मार्फत अनुरोध गरेकाछौ। किनकि धितो लिलामी मात्र समस्या समाधान होइन,’ अध्यक्ष सुवेदीले भने।

त्यस्तै आगामी आर्थिक वर्षको बजेटमा पनि पर्यटन क्षेत्रलाई समेट्नुपर्ने व्यवसायीको माग रहेको छ। पर्यटन क्षेत्रमा ठुलो पुँजी लगानी गरी लाखौंलाई रोजगारी दिलाएको भन्दै संघले मुलुकको समग्र अर्थतन्त्रमा समेत महत्त्वपूर्ण टेवा पुर्‍याएको होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको सुविधा आवश्यक रहेका संघले बताएको छ। सरकारले पर्यटनलाई विशेष उद्योगको मान्यता प्रदान गरिदिनुपर्ने पनि व्यवसायीको माग रहेको छ।

होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने व्यवसायीको जिम्मेवारी रहे पनि पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा बैङ्कलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको अवस्थामा थप एक वर्ष समय सीमा थप गरिदिन पनि व्यवसायीले माग गरेका छन्।  ‘हामी ऋण लिएपछि त्यसको सावा र ब्याज तिर्न तयार छौ, तर, अहिलेको अवस्थामा त्यो ऋण तिर्ने क्षमता राख्न सक्ने अवस्था छैन,’ अध्यक्ष सुवेदीले भने।

त्यस्तै नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नेगरि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश जाने खालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन तथा विकासका कार्यक्रम गर्न पनि व्यवसायीले माग गरेका छन्। आगामी बजेटमा कोभिडपछिको पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रियकरण प्रवर्द्धनात्मक कार्यक्रम आयोजनाका लागि बजेट छुट्टाईदिन पनि व्यवसायीले सरकारसँग अनुरोध गरेका छन्।  

प्रकाशित: २८ वैशाख २०८० ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App