१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

चिनियाँ पाहुना आकर्षण गर्न फेवातालमा ‘ड्रागन बोट रेस’ फेस्टिभल गरिँदै

केहीदिन अघि पोखरा आएका चिनियाँ पर्यटक। तस्बिरः नागरिक

पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल आयोजना हुने भएको छ। बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने लक्ष्य सहित ड्रागन बोटरेस फेस्टिभल आयोजना गर्न थालेको आयोजकले बताएको छ। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल हुने आयोजकले बताएको छ।  

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गर्न थालिएको हो। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद (पिटिसी) र नेपाल–चीन ओभरसीज एशोसिएसन सहआयोजक रहेका छन्। दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकले बताएको छ।  

पोखरामा फेस्टिभल आयोजना गर्नका लागि पर्यटन बोर्ड र चिनियाँ दुतावासका अधिकारीबीच सम्झौता भएको छ। बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालस्थित चिनियाँ दुतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस प्रकारको बोटरेस फेस्टिभल दक्षिण एशियामै पहिलोपटक पोखरामा आयोजना गर्न लागेको चिनियाँ पक्षले जानकारी दिएको छ। रेसका लागि चीनबाटै आठवटा विशेषखालका बोट सहित अन्य सहभागि नेपाल आउनेछन्। फेस्टिभलमा नेपालका सबै प्रदेशबाट सहभागिता गराइने आयोजकले बताएको छ।  

यो कार्यक्रम पोखरामा आयोजना गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए। यस्ता कार्यक्रमले समग्र नेपालकै पर्यटनमा प्रभाव पार्ने उनले बताए। पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेकवर्ष आयोजना गर्ने पनि उनले बताए।

बोर्डका कार्यकारी प्रमुख रेग्मीले वोट रेस फेस्टिभलका माध्यमबाट पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए। त्रीपक्षीय सहकार्य तथा अन्य सरोकारवालाको सहभागितामा हुने यो कार्यक्रमले धेरै पर्यटकलाई आर्कषित गर्ने समेत उनले बताए।  

चिनियाँ दुतावासका डीसीएम वाङ जिनले पोखरा चिनियाँ पर्यटकको लागि आर्कषक गन्तव्य भएको उल्लेख गर्दै यो कार्यक्रमका माध्यमबाट दुबै देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए। यस्तो कार्यक्रम दक्षिण एशियामै पहिलोपटक आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए। पोखरामा त्यही अवसरमा फुड फेस्टिभल समेत आयोजना गरिने उनले बताए।

चिनियाँ पर्यटकको रोजाईको गन्तव्यमा यो कार्यक्रम आयोजना गर्दा पोखराले थप संख्यामा चिनियाँ पाहुना भित्र्याउन सकिने व्यावसायीले बताएका छन्। परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा पहिलोपटक हुने यो कार्यक्रममले थप चिनियाँ पर्यटक भित्र्याउन सघाउने बताए। उनका अनुसार चिनियाँ र नेपालीको सहभागितामा फेवातालमा कार्यक्रम आयोजना हुने उनले बताए। ‘पोखरा चिनियाँ पाहुनाको रोजाइएको गन्तव्य भएको र फेवातालमा फेस्टिभल आयोजना गर्दा त्यसले भविश्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सकिने उनले बताए।  

बोर्डका अनुसार पछिल्लो समय चिनियाँ पाहुनाको नेपालमा आगमन बढ्दो क्रममा छ। गत अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिना भरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा पनि सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार अप्रिल महिनामा नेपालमा ९८ हजार ७ सय ७३ जना विदेशी पाहुना भित्रिएका छन्।  

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार गत जनवरीमा नेपालमा जम्मा १४ सय ३६ जना चिनियाँ पाहुना भित्रिएका थिए। त्यो आकार फेब्रुअरी महिनामा २२ सय ६६ थियो । मार्चमा भने त्यो आकार २६ सय ३५ थियो। तर, अप्रिलमा भने ४ हजार ७ सय ७० जना पाहुना भित्रिएर नेपालमा बढी विदेशी पाहुना भित्रिने दश मूलूकभित्र चीन चौथो नम्बरमा परेको  थियो।  

गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन। तर, दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि लिष्टमा अटायो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यावसायीले बताएका छन्।  

पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। यही सिजनको मुखैमा चीनले आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पारेको थियो। त्यसपछि चिनियाँको आगमनको आकार बढ्दै गएको व्यवसायीले बताएका छन्। कोरोना भाईरस संक्रमण सुरु भएपछि चिनियाँ पर्यटकको घुमघाम रोकिएको थियो। कोरोना मत्थर भएपछि बल्ल चीनले आफ्ना नागरिकको घुमघाम खुकुलो बनाएको थियो।  

प्रकाशित: २३ वैशाख २०८० ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App