सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गरेको छ।
केन्द्रकै निमित्त कार्यकारी निर्देशक पदमा काम गर्दै आएका ढकाल खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्। नवीकरणीय ऊर्जा विषयमा थाइल्याण्डबाट स्नातकोत्तर गरेका ढकाल लामो समयदेखि केन्द्रमा कार्यरत थिए।
कार्यकारी निर्देशकमा २१ जनाले आवेदन दिएकोमा पहिलो चरणमा १४ जना छनोटमा परेका थिए। १४ जनाबीच प्रतिस्पर्धाबाट ढकाल, सूर्य कुमार सापकोटा र किरण गौतम छनोटमा परेका थिए।
तीन जनाबाट सरकारले ढकाललाई चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत केन्द्रले काम गर्दै आएको छ। वैकल्पिक ऊर्जा विकास बोर्डको अध्यक्ष ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री रहने व्यवस्था छ।
केन्द्रले नेपालमा नवीकरणीय/वैकल्पिक ऊर्जा प्रविधिको विकास र प्रवर्द्धन गर्ने काम गर्दै आएको छ।
प्रकाशित: १९ वैशाख २०८० १४:३० मंगलबार





