१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

सोमबारबाट नाका दुईतर्फी सञ्चालनमा आए पनि मानवीय आवागमन भने तत्काल नखुल्ने

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।

‘द्विदेशीय सहमतिअनुसार नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आउन लागेको हो,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानन्द केसीले नागरिकसँग भने। नाका दुईतर्फी सञ्चालनमा आएसँगै चीनबाट आयात मात्र हुँदै आएकोमा अबदेखि निर्यात व्यापार पनि सुरु हुने उनले जानकारी दिए।

२०७२ वैशाख १२ को भूकम्पपछि बन्दप्रायः रहँदै आएको नाका पूर्णरुपमा सञ्चालनमा आउन लागेको भने होइन। ‘नाका भएर आयात हुँदै आएको थियो। अब निर्यात व्यापार पनि सुरु हुन लागेको मात्रै हो,’ केसीले भने, ‘मानवीय आवागमन अझै खुला हुने छैन।’ नाका पूर्ववत सञ्चालनमा ल्याउने तयारी दुबै देशको स्थानीय स्तरमा नभएको उनले खुलाए।

गत महिना ल्हासामा नेपाल–चीनका वाणिज्य अधिकारीबीच भएको सहमतिअनुसार तातोपानीबाट दुईतर्फी व्यापार सञ्चालनमा आउन लागेको हो। सहमतिअनुसार उत्तरको अर्को महत्वपूर्ण नाका रसुवागढी दुईतर्फी सञ्चालनमा आइसकेको छ। यो नाकाबाट मानवीय आवागमनसमेत खुलाइएको छ । भूकम्पपछि लामो समय बन्द रहेका दुबै नाकाबाट पछिल्लो समय सीमित मात्रामा आयात व्यापार मात्र खुला गरिएको थियो। मानवीय आवागमन बन्द गरिएको थियो।

भूकम्पपछि चार वर्षबन्द रहेको तातोपानी नाका २०७६ जेठ १५ देखि आंशिक सञ्चालनमा ल्याइएको थियो। आयात व्यापार थालिए पनि मानवीय आवागमनमा रोक लगाइएको थियो। नाकाबाट मानवीय आवागमन अझै तत्काल नखुल्ने जानकारी चिनियाँ अधिकारीले दिएको प्रमुख भन्सार अधिकृत केसीले बताए। ‘मानवीय आवागमन खुलाउने विषयमा पछि बैठक बसेर निर्णय गरौँला भनेका छन्,’ उनले भने।

नाका दुईतर्फी सञ्चालनमा आए पनि नेपाली मजदुर तिब्बत प्रवेश गर्न नपाउने केसीले जानकारी दिए। उनका अनुसार चिनियाँ कन्टेनरले नै चीनबाट व्यापारिक सामाग्री नेपालको सीमासम्म ल्याउने छन्। नेपालको सीमा मितेरी पुलसम्म आउने सामाग्री यतैको कन्टेनरले बन्दरगाह भन्सारसम्म पु¥याउने छन्। नाका पुनः सञ्चालनमा आएयता यसरी नै आयात व्यापार हुँदै आएको छ।

अब निर्यात व्यापार पनि यही मोडेलमा हुने प्रमुख भन्सार अधिकृत केसी बताउँछन्। पहिलो दिन सोमबार एक कन्टेनर नेपाली ह्याण्डीक्राफ्टका सामाग्री चीन पठाएर नाका दुईतर्फी सञ्चालनमा ल्याउने तयारी छ। त्यसपछि निरन्तर निर्यात व्यापार गर्न नेपाली व्यवसायीलाई आग्रह गरिएको केसीले जानकारी दिए।

दुईतर्फी व्यापार सञ्चालनमा आउने भए पनि चीनबाट नाका भएर अझै पर्याप्त सामाग्री आउने सम्भावना कम छ। यसबारे चिनियाँ अधिकारीले अहिलेसम्म कुनै जानकारी नदिएको प्रमुख भन्सार अधिकृत केसी बताउँछन्। भूकम्पपछि चार वर्ष बन्द भएर खुलेको नाकाबाट आयात व्यापार बढ्न सकेको छैन। त्यसयता चीनले दैनिक ५–७ कन्टेनर सामाग्री मात्र नेपाल पठाउँदै आएको छ, त्यो पनि स्याउ, लसुन लगायत कृषि सामाग्री मात्र । व्यापारिक सामाग्रीको आयात अझै हुन सकेको छैन।

‘मानवीय आवागमन रोकेर नाका पूर्णरुपमा सञ्चालनमा आयो भन्न मिल्दैन, आशिंक मात्रै हो,’ केसीले भने। राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको तातोपानी भूकम्पअघि उत्तरको सबैभन्दा ठूलो नाका थियो। वार्षिक २० अर्वको आयात र २ अर्वको निर्यात व्यापारबाट राज्यले वार्षिक ५ अर्व रुपैयाँ राजस्व आम्दानी गथ्र्यो।  

प्रकाशित: १७ वैशाख २०८० ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App