लघुवित्त अभियन्ता तथा सांसद योगेन्द्र मण्डलले लघुवित्त वित्तीय संस्थाले धेरै लाभांश बाँड्न नहुने बताएका छन्। जीवनविकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गदै सांसद मण्डलले लघुवित्त वित्तीय संस्थाहरूले धेरै लाभाँश बाँड्न नहुने बताएका हुन्।
सांसद मण्डलले लघुवित्त वित्तीय संस्थाहरूमा माफियाकरण हुँदै जाँदा धेरै विकृतिहरू आएको बताए। मण्डलले अहिले लघुवित्त वित्तीय संस्थाहरूमा ठूलो संकट आएको ऋण नउठ्ने समस्या देखिएको बताए। अब, यहि संकटले लघुवित्त वित्तीय संस्थाहरूमा सुधार पनि ल्याउने उनको धारणा छ। उनले भने,‘अहिलेको संकटले राम्रो काम गर्ने लघुवित्तहरूले प्रगति गर्दै जाने र नराम्रो काम गर्नेहरू समाप्त हुने छन्।’ मण्डलले लघुवित्त वित्तीय संस्थाहरू ठूला बैंकहरूले जस्तो औद्योगिक घराना र ठूला व्यापारीलाई लगानी गरेर नाफा कमाउने नभई विपन्न वर्गलाई लगानी गर्ने वित्तीय संस्था भएकाले धेरै नाफा कमाउने र धेरै लाभांश बाँड्ने होडमा लाग्न नहुने स्पष्ट पारे। मण्डलले राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई लाभाँश बाँड्न कडाइ गर्नु स्वागत योग्य कदम भएको बताए। उनले भने,‘लघुवित्तहरूले रिक्सा चालक, साना किसान र विपन्न वर्गका जनतालाई लगानी गरी उनीहरूले कमाएर दिएको पैसालाई धेरै लाभाँश बाड्ने होडमा लाग्ने नभई सामाजिक विकासको क्षेत्रमा विपन्न बर्गकै हितका लागि प्रयोग गर्नुपर्छ।’
मण्डलले जीवन विकास लघुवित्तले स्थापनाकाल देखि नै तल्लो वर्गका जनताको हितमा काम गर्दै आएको र त्यस्तो सामाजिक विकासको क्षेत्रका कामलाई अझ विस्तार गर्न आग्रह गरे। मण्डलले किसानलाई सिंचाईका लागि विद्युतिय पम्प बितरण गर्न, साना उद्यमीहरूलाई आबश्यक प्रविधि र उपकरणहरू वितरण गरी उनिहरूको आयआर्जन बढाउन आग्रह गरे।
मण्डलले लघुवित्तबाट ऋण लिएका महिलाहरूले ढुकुटी खेलेर ऋण डुवाइरहेको र त्यहिकारण किस्ता तिर्न नसकेको देखिएको बताए। यतिमात्रै हैन बैंकमा धितो राखेर लिएको ऋणको किस्ता तिर्न पनि लघुवित्तबाट विनाधितो ऋण लिएर प्रयोग गरेको पाइएको मण्डलले बताए। उनले लघुवित्तबाट ऋण लिनेहरूले उद्देश्य अनुसारको काममा ऋणको पैसा प्रयोग गरेका छन् की छैनन् भन्ने बारेमा पनि चनाखो हुनुपर्ने अवस्था रहेको बताए।
जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले शसस्त्र द्वन्द्व,मधेश आन्दोलन, कोरोना लगायतका सबै खालका कालखण्ड खेपेको लघुवित्त संस्थाहरूमा अहिलेको जस्तो संकट कहिलै नदेखिएको बताए। उनले ऋण लगानीको किस्ता उठ्न कम भएसँगै लघुवित्तको नाफा प्रभावित भइरहेको बताए। मण्डलले राष्ट्रबैंकले एक जना व्यक्तिले एउटा भन्दा बढी लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्थाले अहिले देखिएको समस्या समाधानमा सहयोग पुग्ने धारणा राखे।
साधारणसभाले आर्थिक वर्ष ०७८/७९ को नाफाबाट १४.२८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। लाभांश बितरण पछि लघुवित्तको चुक्त पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँ पुग्नेछ। हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ छ।
प्रकाशित: १ वैशाख २०८० ०९:१९ शुक्रबार