२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले बिधिवत रुपमा पूजापाठ गरी जगमा इँटा राखेर भवन निर्माणको शिलान्यास गरेका हुन।

मन्त्री हुँदा नै यो अस्पतालको निर्माण थाल्ने प्रतिबद्धता गरे अनुरूप भवनको निर्माण कार्य अघि बढेको हो। जग्गा प्राप्तिमा ढिलाइ भएका कारण भवन निर्माण कार्य ढिलो गरी सुरु भएको भन्दै उनले  प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताए। निर्माण हुने अस्पताल देशको महत्त्वपूर्ण अस्पतालको रूपमा विकास गरिने मन्त्री पन्थीले बताए। कोभिडको समयमा सङ्क्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको बताए। आम नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी काम हुने समेत उनको भनाइ छ। 

हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार ५ सयको शैयाको अस्पतालको रूपमा विकास गरिने क्रममा रहेको बताए। यस्तै कपिलवस्तु अस्पताललाई समेत सय शैयाको बनाउने तयारी गरिएको उनले बताए।  सरुवा रोग अस्पतालमा भवन निर्माण नहुँदा सम्म जग्गा लिजमा लिएर अस्पताल सञ्चालन हुने मन्त्री पन्थीले जोडदिए। लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम सुरु भएको बताए। 

जग्गा प्राप्ति,आइइई लगायतका प्रक्रियाले काम ढिलाइ भए पनि भवन निर्माणको काम निर्धारित समयमा सक्नेमा जोड दिए।सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने नगर प्रमुख  शिवराज  थापाले बताए। अस्पताल भवन निर्माणमा नगरपालिकाले सहयोग पुर्‍याउने उनले बताए। प्रदेश सरकारले डिपिआर गराई भवन निर्माणका लागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डाक्टर विनोद गिरीले बताए। अस्पताल भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिने र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने गिरीले जनाए। अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभि बुटवलले पाएको छ। निर्माण हुने अस्पताल ५० शैय्याको हुने छ। भवन निर्माणको कुल लागत २० करोड ९६ लाख तीन हजार ३ सय २६ रुपियाँ रहेको छ। २०८१ फागुन सम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। अस्पतालका लागि नौ बिगाहा जमिन सरकारले प्रदान गरेको हो। 

प्रकाशित: ३० चैत्र २०७९ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App