१६ चैत्र २०८० शुक्रबार
अर्थ

बैंकको ब्याजदर घट्यो

चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउने निर्णय भएको हो। ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ कायम गर्ने निर्णय भएको छ।

सरोकारवालाको माग सम्बोधन गर्दै संघले ब्याजदर घटाउने निर्णय गरेको हो। मुद्दती निक्षेप ब्याज ११ प्रतिशतबाट घटाएर ९.९९ मा झार्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ। त्यसैगरी संस्थागत निक्षेपकर्ताका लागि ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ।

निजी क्षेत्रको चर्को दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउन निर्देशन दिएका थिए। नेपाल राष्ट्र बैंकले ब्याजदर बजारले निर्धारण गर्ने बताउँदै आएको थियो। बचत निक्षेपमा ब्याज न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने र कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुनेगरी ब्याजदर कायम गर्ने निर्णय संघले गरेको छ। बैंकहरूले अहिले बचतमा ६ देखि ८ प्रतिशत ब्याज दिँदै आएका छन्।

रेमिट्यान्स खाता निक्षेपमा बैंकहरूले १०.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.४ प्रतिशत ब्याजदर दिनुपर्नेछ। नेपाल राष्ट्र बैंकले रेमिट्यान्स खातामा न्यूनतम १ प्रतिशत ब्याजदर बढी दिनुपर्ने व्यवस्था गरेकाले सोहीअनुसार गर्नुपर्नेछ।

वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर घट्न भने साउनसम्म कुर्नुपर्ने संघले जनाएको छ। निक्षेप र कर्जाको ब्याजदरबीचको औसत अन्तर ४.४ प्रतिशतबाट चैतमा ४.२ प्रतिशत हुँदै असारमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ। सोही व्यवस्थाअनुसार बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेपछि सेयर बजारमा उछाल आएको छ। ब्याजदर १.०१ प्रतिशत बिन्दुले घटाउने निर्णय भएपछि सेयर बजार ९२.२२ अंकले बढेको छ।

प्रकाशित: ३० चैत्र २०७९ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App