नेपाल उद्योग वाणिज्य महासंघको भोलि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हुन्, उमेशलाल श्रेष्ठ।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा हुन्, श्रेष्ठ । लामो समयदेखि महासंघमा आवद्ध भई काम गरेका श्रेष्ठले तीन कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्षको भूमिकामा रहेर कार्य गरिसकेका छन् । अव उनी नेर्तत्व तहमा पुगेर आफ्नो भूमिका निर्वाह गर्न चाहन्छन ।आज हामीले उनको चुनावी प्रतिवद्धतालाई समेटेका छौ।
उमेशलाल श्रेष्ठको चुनावी प्रतिवद्धता
आत्मनिर्भर अर्थतन्त्र र द्रुततर विकासका लागि महासंघ अझै सबल रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ। महासंघले २०३० भित्र मुलुकलाई एक सय खर्ब बराबरको जिडिपी पु¥याउने महत्वकांक्षी लक्ष्य सार्वजनिक गरिरहँदा यसका लागि थप रूपान्तरणकारी योजना ल्याउन नेतृत्वमा आउन चाहेको हुँ।
विश्व आर्थिक मन्दी र महँगीको असर हाम्रो जस्तो आयातमा निर्भर अर्थतन्त्र भएको मुलुकका लागि निकै चुनौतीपूर्ण बन्दै गएको छ। उत्पादकत्व, रोजगारी, लगानी, पर्यटन जस्ता सबै क्षेत्रमा अहिले संक्रमणको अवस्था छ। साना तथा मध्यम खाले व्यवसायहरू सबैभन्दा बढी प्रभावित भएका छन्। आन्तरिक उत्पादन हुन नसक्दा व्यापारघाटा प्रत्येक वर्ष चुलिँदै जाने, रोजगारी सिर्जना हुन नसक्ने, सार्वजनिक ऋण बढ्दै गएकाले आर्थिक जोखिम उच्च भएको छ।
मुलुकको अर्थतन्त्रमा झण्डै ७० प्रतिशतको हिस्सा ओगटेको निजी क्षेत्रको मनोबल गिर्न नदिन पनि उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएर काम गर्न चाहेको हुँ। मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु अर्को चुनौतिका रूपमा देखा परेको छ। नेपालको शिक्षा प्रणालीले व्यवसायलाई चाहिने सीप र ज्ञानका साथ जनशक्ति उत्पादन गर्दैन, जसले गर्दा श्रमशक्तिको सीप र निजी क्षेत्रका आवश्यकताहरू बीचको मेलमिलाप हुन सकेको छैन।
मुलुकमा पछिल्लो समय उच्च व्याजदरले गर्दा लगानीको वातावरण बन्न नसकेकाले व्याज घटाउनु पर्छ। चर्को ब्याजदरका कारण साना तथा मझौला उद्योगीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी योजना भए पनि उच्च ब्याजदरका कारण प्रभावित हुँदै आएको छ। यो समस्या समाधान गर्नुपर्नेछ। पुँजीगत खर्च निकै कम भएकाले यसलाई बढाउनुपर्ने छ। आयात निरुत्साहित गरेर निर्यात प्रोत्साहन गर्ने सरकारी नीति भए पनि गत वर्ष मुलुकले १७ खर्ब २० अर्ब व्यापार घाटा व्यहोरेको थियो। निर्यात बढाउने आयात घटाउने हाम्रो प्राथमिकता हो।
विद्युत् आपूर्तिमा भएको समस्या, यातायात र सञ्चार पूर्वाधारमा सीमित पहुँचले अनावश्यक लागत बढाएकाले यसलाई घटाउनु पर्छ। गलैंचा, कपडा र हस्तकला जस्ता केही उत्पादनहरूमा मात्रै निर्भर हुँदा निर्यात नगन्य मात्रामा भएकाले निर्यात बढाउनु पर्छ।
प्रविधिमा सीमित पहुँचले गर्दा नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएकाले डिजिटल पूर्वाधारमा लगानी गर्न आवश्यक छ। उद्योग व्यवसाय प्रवद्र्धन र बिस्तार, रोजगारी सिर्जना, कृषिको उत्पादन वृद्धि मार्फत आत्मनिर्भर अर्थतन्त्र आजको प्रमुख आवश्यकता हो। युवाहरूलाई विदेश पलायनबाट रोक्नका लागि पनि औद्योगिक गतिविधि विस्तार गर्न जरुरी छ। महासंघले नेपालमा लगानीका अवसरहरूलाई पहिचान गरी अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षित गर्नुपर्छ। उत्पादनदेखि बजारीकरणसम्म समन्वय एवं अन्तर्राष्ट्रिय बजार प्रबद्र्धनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्न सक्छ। युवा उद्यमीको दक्षता, क्षमता एवं उत्पादकत्व वृद्धि गरी प्रतिस्पर्धामा आउन सक्ने नयाँ प्रविधिहरू र व्यापार मोडेलहरूको अवलम्बनलाई बढावा दिनुपर्छ।
महासंघलाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न बलियो आधार स्थापित गर्ने हाम्रो मुख्य उद्देश्य हो। पारदर्शिता, जवाफदेहिता र नैतिक आचरण हाम्रा प्रतिवद्धता हुन्। नेतृत्वमा आए सुशासन र महासंघको संरचनालाई सुदृढ बनाउने, निर्णय प्रक्रियामा विविधता र समावेसिताको सिद्धान्तलाई अंगीकार गरिने छ। महासंघबाट हुने निर्णय र कार्यसम्पादनको अनुगमन, मूल्यांकनका लागि संयन्त्रहरू स्थापना गर्नेछौं। महासंघको भिजन, मिसन र आगामी पाँच वर्षका लागि रणनीतिक योजना तय गरेर अघि बढ्ने प्रतिवद्धता लिएर चुनावी मैदानमा आएको हुँ।
अर्थतन्त्रको संरचना सुधार र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहका जननिर्वाचित प्रतिनिधिसँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता छ। नीतिगत सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता छ। बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयका लागि निरन्तर खबरदारी आवश्यक छ। विद्यमान ऐन, कानून र नियमहरूले उद्योगी व्यवसायीहरूलाई उद्योग /व्यवसाय गर्न कठिन बनाएको ऐन, कानून र नियमहरूलाई अविलम्ब संशोधन गर्न पहल कदमी लिनेछौं।
सरकारका आर्थिक ऐन तथा नीति र निजी क्षेत्रमा यसले पार्ने प्रभाव बारे अध्ययन अनुसन्धान गर्ने, सार्वजनिक–निजी साझेदारी, पीपीपी मोडललाई अंगीकार गर्ने, निजी क्षेत्रको आवाज सरकारको उच्च तहसम्म पुर्याउन पहल गरिनेछ । निजी क्षेत्रभित्र दिगोपन र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्न उद्योग व्यवसायमा वातावरण–मैत्री अभ्यासहरू गर्दै लैजाने, उद्योग प्रतिष्ठानमा श्रमको उचित सम्बोधन गर्ने वातावरण सिर्जना गर्ने, निजी क्षेत्र भित्र विविधता र समावेसितामा जोड दिनेछौं ।
प्रकाशित: २८ चैत्र २०७९ १०:२८ मंगलबार