काठमाडौं- नेपाल टेलिकमले पुस १७ गतेदेखि फोर–जी सञ्चालनमा आउने तयारी गरिरहेको छ र यस्तै अर्को दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि आफूले स्वीकृति पाएको महिना दिनभित्रै फोर–जी सेवा सञ्चालनमा ल्याउन तयार रहेको बताएको छ।
तर, मोबाइल नेटवर्कमा टु–जी, थ्री–जी तथा फोर–जी भनेेको के हो धेरैलाई थाहा नहुन सक्छ।
मोबाइल डाटाको क्षेत्रमा जी भनेको जेनेरेसन अर्थात पुस्ता हो। अर्थात वान–जी भनेको मोबाइल डाटाको पहिलो पुस्ता हो। त्यस्तै, टु–जी, दोस्रो पुस्ता, थ्री–जी भनेको तेस्रो पुस्ता तथा फोर–जी भनेको चौथो पुस्ता हो। तर नेपालमा फोर–जीको चर्चा चलिरहँदा संसार भने त्यसभन्दा धेरै अगाडि बढिसकेको छ।
मोबाइल नेटवर्कको क्षेत्रमा पहिलो पुस्ताको प्रविधि अर्थात वान–जीको व्यावसायिक सुरुआत सन् १९७९ मा जापानबाट भएको थियो र १९८१ मा संसारका धेरै देशले यसलाई प्रयोगमा ल्याइसकेका थिए। एनालग प्रविधिको पहिलो पुस्ताको नेटवर्कमा केबल फोन कलमात्र हुन्थ्यो अर्थात आवाजमात्र सुनिन्थ्यो।
त्यस्तै, पहिलो पुस्ताबाट दोस्रो पुस्ता अर्थात टु–जीमा मोबाइल नेटवर्कको विकास भएपछि यस दोस्रो पुस्ताको डिजिटल प्रविधिमा टेक्स्ट मेसेज अर्थात एसएमएस गर्न सकिने भयो। साथै दोस्रो पुस्ताको प्रविधिमा टेक्स्ट मेसेजसँगसँगै मल्टिमिडिया मेसेज, अन्तर्राष्ट्रिय कल गर्न पनि सकिने भयो। यस प्रविधिको विकासले मोबाइल फोनमा पनि जिएसएम, जिपिआरएस तथा इडिजिई जस्ता प्रविधि भित्रिए।
मोबाइल प्रविधिले सन् २००१ मा फड्को मार्यो, जब स्मार्टफोनको विकास र साथसाथै तेस्रो पुस्ता अर्थात थ्री–जी प्रविधि पनि भित्रियो। थ्री–जीले मोबाइल नेटवर्कको डाटा स्पिडमात्र बढाएन यसले ताररहित प्रविधि भिœयाएर सूचना प्रविधिको क्षेत्रमा नयाँ युगको सुरुआत गर्यो।
आज संसारमा वायरलेस सहरको परिकल्पना गर्न थालिएको पनि तेस्रो पुस्ताको प्रविधि भित्रिएपछि नै हो। संसारका विभिन्न सहरहरु अब वायरलेस सिटीको रुपमा विकसित हुँदैछन्। नेपालमा पनि बेलाबेलामा ठमेल वा पूरै काठमाडौंलाई वायरलेस बनाउने चर्चा परिचर्चा सुनिन थालेको छ, यो सबै तेस्रो पुस्ताको प्रविधि र स्मार्टफोनको विकासले सम्भव भएको हो। नेपालका बजारमा हाल पाइने करिब सबै नै मोबाइल सेट तेस्रो पुस्ताको प्रविधिमा चल्ने स्मार्टफोन हुन्। तर बिस्तारै प्रविधिले फड्को मारेर चौथो पुस्ताको प्रविधि भित्रिएकाले स्मार्टफोनका उत्पादकले पनि चौथो पुस्ताको प्रविधि चल्ने स्मार्टफोनको विकास गरे।
भर्खरै स्थापना भएको नेपाल मोबाइल आयातकर्ता संघका अध्यक्ष दिपक मल्होत्राका अनुसार नेपालमा हाल आयात भएका करिब सबै नै स्मार्टफोनमा फोर–जी अर्थात चौथो पुस्ताको प्रविधि चल्दछ। 'वास्तवमा नेपालका दूरसञ्चार सेवा प्रदायकले जति छिटो फोर–जी सेवा सञ्चालनमा ल्याउँछन्, त्यति नै उपभोक्तालाई फाइदा हुन्छ,' उनी भन्छन्। नेपाली उपभोक्ताले फोर–जी चल्ने स्मार्टफोन किनेर थ्री–जी चलाएर चित्त बुझाउनुपरेको मल्होत्राको भनाइ छ।
वास्तवमा मोबाइल गेमिङ नयाँ चरणमा प्रवेश गरेपछि मोबाइल डाटा स्पिड पनि तीव्र हुनुपर्ने महसुस भएकाले फोर–जी प्रविधि भित्रिएको हो। अब तीव्र गतिको फोर–जीको प्रयोगले उपभोक्ताले आफूलाई मनपर्ने फिल्म मोबाइलमा नै छिटो डाउनलोड गरी हेर्न सक्ने अवस्था सिर्जना भएको छ। जुन फिल्म थ्री–जी डाटामा मोबाइलमा डाउनलोड गर्न ५ घन्टा लाग्छ, त्यो फोर–जी नेटवर्कमा ८ मिनेटमै डाउनलोड हुन्छ।
प्रविधिको विकाससँगै तीव्रतम हुँदै गएको डाटा स्पिडले उपभोक्तालाई मोबाइलबाटै सबै काम गर्नेमात्रै होइन मनोरन्जन गर्न पनि सहज भएको छ।
प्रविधिको विकास क्रममा अब पाँचौं पुस्ता अर्थात फाइभ–जी पनि छिट्टै आउने सूचना प्रविधि क्षेत्रका विज्ञको दाबी छ। उनीहरुका अनुसार सन् २०२० देखि सन् २०३० सम्ममा मोबाइल नेटवर्कको क्षेत्रमा पाँचौं पुस्ताको प्रवेश हुने अनुमान छ। यस प्रविधिले मोबाइल नेटवर्कलाई यति तीव्र गतिको इन्टरनेट सुविधा दिन सक्छ कि यसले एउटा पूरा फिचर फिल्म १ सेकेन्डभन्दा कम समयमा नै डाउनलोड गरिदिन सक्छ। अर्थात फाइभ–जीको प्रविधिको गति फोर–जीभन्दा सयौं गुणा बढी हुने उनीहरुको दाबी छ। त्यसको अर्थ ८०० मेगाबाइटको एउटा चलचित्र १ सेकेन्डमा नै डाउनलोड हुन्छ। तर, त्यसका लागि मोबाइल प्रविधि पनि अझ सुधार हुनुपर्ने विज्ञहरुको भनाइ छ। फाइभ–जी नेटवर्कमा चल्ने स्मार्टफोनको विकास पनि सन् २०२० सम्ममा हुने दाबी उनीहरुको छ। पाँचौं पुस्ताको प्रविधिले संसारलाई साँच्चिकै एउटा सूूचना गाउँको रुपमा विकास गर्ने विश्वास विज्ञको छ। यसले पूरै विश्वलाई नै वाइफाई जोन बनाउने पनि उनीहरुको दाबी छ। संसारको कुनै एक कुनामा रहेको विद्यार्थीले अर्को कुनामा रहेको विश्वविद्यालयमा आफ्नै घरबाट शिक्षा प्राप्त गर्नेमात्र नभई सरकारी अधिकारी वा अनुसन्धानकर्ताले आफ्नै कार्यालयमा बसेर संसारको कुनै पनि कुनामा भएको घटनाको अनुसन्धान गर्न सक्छन्। जति–जति प्रविधिको विकास हुँदै जान्छ त्यत्ति नै उपभोक्ताले सस्तो मूल्यमा धेरै सुविधा प्राप्त गर्न सक्छन् र देशकोे अर्थतन्त्रमा पनि त्यसले योगदान गर्दछ। त्यसैले, विभिन्न देशहरुले खर्बौं खर्च गरेर नयाँनयाँ प्रविधिको विकास गरिरहेका छन्।
दक्षिण कोरियाले करिब १ खर्ब ७० अर्ब हाराहारी खर्च गरेर विकास गरिरहेको पाँचौं पुस्ताको प्रविधि २०१७ मा परीक्षण गर्ने र २०२० देखि व्यावसायिक रुपमा प्रयोगमा ल्याउने तयारी गरिरहेको छ। दक्षिण कोरिया संसारमा मोबाइल तथा इन्टरनेट प्रविधिमा तीव्ररुपमा फड्को मार्ने देश हो जहाँ विश्वमा सबैभन्दा तीव्र गतिको इन्टरनेट सुविधा रहेको छ।
दक्षिण कोरियाको विज्ञान मन्त्रालयका प्रवक्ताका अनुसार दक्षिण कोरियाले दोस्रो पुस्ताको मोबाइल प्रविधिको प्रयोगले सन् १९९० को दशकमा अर्थतन्त्रलाई ठूलो योगदान दिएको थियो। यस्तै, सन् २००० को दशकमा तेस्रो पुस्ताको प्रविधिले, सन् २०१० मा चौथो पुस्ताको प्रविधिले दक्षिण कोरियाको अर्थतन्त्रलाई विस्तार गर्न ठूलो भूमिका खेलेको थियो। यसैगरी पाँचौं पुस्ताको प्रविधिले पनि दक्षिण कोरियाको अर्थतन्त्रलाई विस्तार गर्न मद्दत गर्ने उनको दाबी छ। किनकि पाँचौ पुस्ताको प्रविधिको विकाससँगै यसले मोबाइल सेटमात्र होइन दुरसञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित खर्बौका विभिन्न उपकरणको विकास तथा बिक्रीले विश्वका विभिन्न मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउनेमा दुइमत छैन। त्यसबाट नेपाल पनि अछुतो रहन सक्दैन। नेपालले पनि नयाँ पुस्ताको मोबाइल तथा अन्य दुरसञ्चार तथा सूचना प्रविधिको खरिद बिक्रीबाट राजस्व भने राम्रै परिचालन गर्ने अनुमान गर्न सकिन्छ। चालु आर्थिक वर्षमा नै करिब ३६ अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको मोबाइल व्यापारबाट प्रतिवर्ष सरकारले उल्लेख्य राजस्व संकलन गर्ने कुरामा शंका नै नभएको मल्होत्रा बनाउँछन्। उनको विचारमा नयाँ प्रविधि भित्रिएसँगै सरकारको राजस्व पनि बढ्ने निश्चित छ।
तर, प्रविधिलाई विकाससँग कसरी जोड्ने त्यसमा सरकार तथा व्यवसायी दुवै गम्भीर हुनुपर्ने नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालको भनाइ छ। त्यस्तै, अध्ययनहरुका अनुसार टेलिफोनको घनत्व १० प्रतिशत बढ्दा अर्थतन्त्रमा त्यसले १ प्रतिशत योगदान गर्दछ तर नेपालमा शतप्रतिशत टेलिफोनको घनत्व अर्थात नेपालको जनसंख्या भन्दाबढि टेलिफोन भएतापनि त्यसको अर्थतन्त्रमा योगदान देखिएको छैन। यसको अर्थ नेपालले प्रविधिलाई विकाससँग जोड्न नसकेर नै हो। (विभिन्न एजेन्सिहरुको सहयोगमा)
प्रकाशित: १५ पुस २०७३ ०३:१८ शुक्रबार