निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप नीति पारित गर्न माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष यस्तो आग्रह गरेका हुन्।
नवनियुक्त मन्त्री रिजाललाई बधाई दिँदै महासंघको टोलीले अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको धारणा राखे। अध्यक्ष गोल्छाले अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने बताए। अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनुपर्ने सुझाव उनको थियो। बजारमा माग नहुँदा उद्यम व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेकाले बजारमा विश्वास बढाउनुपर्ने अध्यक्ष गोल्छाको राय थियो। ‘अब अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनैपर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौं।’
अध्यक्ष गोल्छाले बहुप्रतीक्षित स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजालसमक्ष आग्रह गरे। महासंघ स्टार्टअप तथा इनोभेसन समितिका सभापति रञ्जित आचार्यले हालै जारी भएको स्टार्टअप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको बताए।
महासंघको भिजन पेपर राष्ट्रिय आर्थिक रूपान्तरण नेट २०३० कार्यान्वयनबारे महासंघ र मन्त्रालयबिचको समझदारीलाई अगाडि लैजाने कार्यमा सहयोग गर्न पनि आग्रह गरे। वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भए पनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नुपर्ने सुुझाव राखे। सो अवसरमा उद्योगमन्त्री रिजालले महासंघका तर्फबाट राखिएका सुुझावलाई कार्यान्वयन गर्न महासंघसँग नियमित संवाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए। उनले स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन दिए। मन्त्री रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग÷सहकार्य गर्ने बताए।
प्रकाशित: २१ चैत्र २०७९ ०८:३१ मंगलबार





