coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फुकोट कर्णाली हाइड्रोको जिम्मा पनी भारतलाई

फुकोट कर्णाली हाइड्रो निर्माण स्थित कर्णाली नदी। तस्बिर: ललित विष्ट

कालिकोट जिल्लाको एक मात्र गौरवको आयोजना ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत् उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको छ।

अर्ध जलाशययुक्त (पिआरओआर) उक्त आयोजनामा ५१ प्रतिशत एनएचपिसीले लगानी गर्ने र ४९ प्रतिशत विद्युत् उत्पादन कम्पनीको लगानी हुने गरी कम्पनीले निर्णय गरेको कम्पनीका प्रबन्ध निर्देशक सूर्य रिजालले बताए। 

‘हाम्रो छलफल एक वर्षदेखि चलिरहेको छ। योभन्दा अगाडि पनि बोर्डले यो निर्णय पास गरेको थियो। हामीले निर्णय गरेर मात्रै हुँदैन। मन्त्रीपरिषदबाटै स्वीकृत हुनुपर्छ,’ उनले भने। रिजालका अनुसार यो निर्णय मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै कार्यान्वयनमा जान्छ। 

‘आज र भोलिमा हामी यो निर्णयलाई ऊर्जा मन्त्रालय पठाउँछौँ। मन्त्रालयले क्याबिनेटमा कहिले लैजान्छ र त्यहाँबाट कहिले स्वीकृत हुन्छ भन्ने विषयमा त हामीलाई जानकारी हुँदैन,’ उनले भने।  उनका अनुसार एनएचपिसीले गत वर्ष २०२१ को डिसेम्बरमा नै फुकोट कर्णालीमा लगानी गर्न प्रस्ताव गरेको थियो। 

विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन। पूर्व तयारी भएर निर्माणमा लैजान सक्ने अवस्थामा रहेको आयोजनामा लगानी नै जुटाउन नसक्दा दुई वर्षदेखि मुख्य संरचना निर्माणको काम सुरु हुन नसकेको हो। 

‘डीपीआर तयार अवस्थामा छ। एक्सेस रोड पनि पुगेको छ । कर्णालीमा राजमार्ग आसपासमै पर्छ। आयोजनालाई चाहिने अधिकांश जग्गा अधिग्रहण भइसकेको छ। बिडिङ डकुमेन्ट समेत तयार छ,’ आयोजना प्रमुख  हिरामान वाइबाले भने,’ वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(इआइए) पनि तयार पारेर विद्युत् विकास विभागमा पठाएका छौँ। रेडी टु मुभको अवस्थामा छौँ। तर त्यसका लागि स्रोत छैन।’

मन्त्रीपरिषदबाट स्वीकृत भयो भने एनएचपिसीसँग जोइन भेन्चर लगानी सम्झौता गरिनेछ।  कर्णाली नदीमा पहिचान भएको फुकोट कर्णाली आयोजनामा ९२ अर्ब तीन करोड लागत लाग्ने यसको सम्भाव्यता अध्ययनमा उल्लेख छ। निर्माण सुरू भएको पाँच वर्षभित्र सक्ने उल्लेख छ।

यहाँबाट उत्पादन भएको ४८० मेगावाट बिजुली भारतमा बिक्री गरिनेछ। यो आयोजनाको बिजुली कर्णाली करिडोरको प्रसारणलाइनमार्फत् भारत लगिनेछ। कर्णाली करिडोरमा ४०० केभीको प्रसारण लाइन बनाउनका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भारतीय कम्पनी कल्पतरूसँग सम्झौता गरिसकेको छ। 

पछिल्लो समय नेपालका ठूला जलविद्युत आयोजनामा लगानी गर्न भारतीय कम्पनीहरू इच्छुक देखिएका छन्। केही समय अघि ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणका लागि पनि भारतीय कम्पनी एनएचपिसीसँग सम्झौता भएको छ। 

सम्झौतामा गत भदौ ४ गते लगानी बोर्डका सिइओ सुशिल भट्ट र एनएचपिसीका अध्यक्ष एके सिंहले हस्ताक्षर गरिसकेका छन्। यी आयोजनामा भारतले दुई खर्ब ८८ अर्ब लगानी गर्ने घोषणा गरेको छ। 

त्यस्तै, भारतले ९०० मेगावाटको अरूण तेस्रो निर्माणको जिम्मा पनि पाएको छ। ४९० मेगावाटको अरूण ४, ६७९ मेगावाटको तल्लो अरूण पनि भारतीय कम्पनीले नै जिम्मा पाएको छ।

प्रकाशित: १७ चैत्र २०७९ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App