५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मूल्य निर्धारण नहुन्जेल किसानले चिनी उद्योग चल्न नदिने

रौतहट– किसानले उत्पादन गरेको उखुको मूल्य निर्धारण नहुन्जेल तराईको कुनै पनि चिनी उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्। विगतका वर्षहरुमा उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा चिनी उद्योगीले मनपर्दो गर्ने प्रवृत्ति देखिएकोले आफ्ना उत्पादनको मूल्य निर्धारण नहुन्जेल कुनै पनि उद्योग चल्न नदिने अडान किसानहरुले लिएका छन्।

चालू आर्थिक वर्षको लागि उखु उत्पादक र चिनी उत्पादकबीच तीन चरणको वार्ता भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहेकाले उखुको मूल्य निर्धारण हुन सकेको छैन। उखु उत्पादन गर्ने किसानहरुले गत वर्षभन्दा चिनीको मूल्य धेरै बढेको र उखुको उत्पादन लागतसमेत बढेकाले चिनीको मूल्य बढेको अनुपातमा उखुको मूल्य बढाउनु पर्ने माग राखेका छन्।
चिनी उत्पादकहरुले भने लामो समयदेखि चिनीको उत्पादन नहुँदा चिनीको मूल्य बढेको र सबैतिरका चिनी उद्योगहरु सञ्चालनमा आएपछि चिनीको बजार मूल्य ह्वात्तै घट्ने भएकोले वर्तमानमा कायम मूल्यको अनुपातमा उखुको मूल्य बढाउन नसकिने चिनी उत्पादकहरुको अडान रहेको छ।

गत वर्ष उखुको मूल्य प्रतिक्वीन्टल ४ सय ४८ रुपैयाँ किसानले पाउने गरी निर्धारण गरिएकोमा किसानहरुले चालू आर्थिक वर्षका लागि प्रतिक्वीन्टल ६ सय २५ रुपैयाँ माग गरेकामा तीन पटकको वार्तापछि पाँच सय ५६ रुपैयाभन्दा कममा झर्न नसकिने अडान लिएका छन्। उता चिनी उत्पादकहरुले भने वर्षभरी चिनीको मूल्य उतारचढाव आइरहने तर उखुको मूल्य एकचोटी निर्धारण भएपछि सिजनभर चल्ने हुनाले प्रति क्वीन्टल पाँच सय २३ रुपैयाँभन्दा बढी दिन नसकिने अडानमा कायम भएका छन्।

दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहँदा चिनी उत्पादक र उखु उत्पादकबीच काठमाडौंमा दुई पटक र बाराको परवानीपुरमा एकपटक गरी तीन पटकको वार्ता मूल्य निर्धारणसम्बन्धी वार्ता निष्कर्षविहीन बन्न पुगेको छ। विगतमा उद्योगहरुले किसानलाई विश्वासघात गर्दै आएकोले यस पटक मूल्य निर्धारण नहुन्जेल तराईका कुनै पनि उद्योगलाई उखु दिन नसकिने शुक्रबार राति परवानीपुरमा भएको वार्ताका क्रममा उखु उत्पादक महासंघ नेपालका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्। उद्योगीहरुले समयमा किसानलाई पैसा नदिएर उखुलाई ‘नगदेबाली’ नभई ‘उधारो बाली’ बनाएकोले चालू आर्थिक वर्षमा उखु किसान उद्योगीहरुको भुलभुलैयामा परेर पहिलेका वर्षहरुजस्तो उधारोमा उखु बेचेर उद्योगीको पछिपछि कुद्ने काम नगर्ने अडान लिएको अध्यक्ष मैनालीको भनाइ छ।

उखुको मूल्य निर्धारण दुई पक्षीय सहमतिमा हुने भएकोले वार्ता जारी रहेको चिनी उत्पादकहरुको भनाई छ। दुवै पक्षबीचको वार्ता अब सहमतिनजिक पुग्न लागेकोले आगामी बुधबार काठमाडौंमा हुने वार्तामा सहमति हुने चिनी उद्योगीहरुको विश्वास छ। उखु क्रसिङ समयमा नहुँदा किसानको उखुको तौल कम हुने र चिनी उद्योगमासमेत तुलनात्मक रुपले चिनीको उत्पादन दर घट्दै जाने भएकोले बुधवारको वार्तालाई निश्कर्षमा पु¥याउने विश्वास चिनी उत्पादकहरुको छ।
 

प्रकाशित: २ पुस २०७३ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App