१६ चैत्र २०८० शुक्रबार
अर्थ

सरिपाखा–खुमैडाँडा–कोर्चनलाई पर्यटकीय मार्ग घोषणा

माछापुच्छ्रे गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोचन सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ। पालिकाको शुक्रबार पर्यटकीय क्षेत्र खुमैडाँडामा बसेको बैठकले सरिपाखा–हिलेखर्क– खुमैडाँडा हुँदै कोर्चनसम्मको सडकलाई पर्यटकीय मार्ग घोषणा गर्ने निर्णय गरेको हो।

साथै त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश र संघ सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए। 

पर्यटकीय क्षेत्र घोषणा गरिएको चरिपाखा, खुमैडाँडा र कोर्चङ तीनवटै पर्यटकीय क्षेत्र हो। जहाँबाट माछापुच्छ«े हिमाल र अन्नपूर्ण हिमश्रृंखला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ। पोखराबाट नजिकको क्षेत्र र हिउँ पनि पर्ने भएकाले सो क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुईंचो लाग्ने गर्छ।

दशैंपछि नयाँ पर्यटकीय गन्तव्यको खोजीका क्रममा खुमैडाँडालाई ब्राण्डिङ र प्रवद्र्धन गर्न थालिएपछि यो ठाउँ अहिले सामाजिक सञ्जालमा भाईरल छ। कोर्चनबाट भने सूर्योदयको दृश्यावलोकन पनि गर्न सकिन्छ। 

गाउँपालिकाको बैठकले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्ने तथा ती पर्यटकीय क्षेत्रमा थुप्रिने गरेको फोहोर मैला व्यवस्थापन गर्ने पनि निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए। ‘पछिल्लो समय फोहोरमैला र जलवायु परिवर्तनको असर चुनौतिका रुपमा देखिएकाले त्यसको समाधान र न्यूनिकरणका लागि पहल गर्ने बैठकको निर्णय छ,’ उनले भने। 

माछापुच्छ«े गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पालिकाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको खुमैडाँडामा बैठक राखेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। त्यस क्रममा सो क्षेत्रमा देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने कामबारे जानकारी लिनुपनि बैठकको उद्देश्य रहेको उनको भनाई छ।

प्रकाशित: १२ चैत्र २०७९ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App