२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुटवल पावर कम्पनीका संस्थापक अड हफ्टनको निधन

बुटवल पावर कम्पनीका संस्थापक इन्जिनियर तथा मिसिनरी अड हफ्टनको ९५ वर्षको उमेरमा निधन भएको छ।  

उनी ८ जनवरी १९५८ मा पाल्पा मिसन अस्पताल निर्माण कार्यको लागि पहिलो पटक नेपाल आएका हुन । उनले सन् १९५८ देखि १९६३ सम्म पाल्पा मिसन अस्पताल निर्माण गरेका थिए। तत्कालीन समयमा अस्पताल निर्माणको क्रममा नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभाव महसुस गरेका उनले बुटवलमा व्यावसायिक तालिम शिक्षालय (बुटवल टेक्निकल इन्स्टिच्युट) स्थापना गरेका थिए। यसको साथै उनले नेपालमा जलविद्युत् विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनका लागि सन् १९६५ मा बुटवल पावर कम्पनीको स्थापना गर्नुका साथै हिमाल हाइड्रो एण्ड जनरल कन्सट्रक्सन कम्पनी र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको स्थापना गरेका छन्।  

उनकै नेतृत्वमा बुटवल पावर कम्पनीले ५०० किलोवाट तिनाउ,  ५.१ मेगावाट आँधिखोला, १२ मेगावाट झिमरुक जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भएको थियो भने ६०  मेगावाट खिम्ती जलविद्युत् आयोजना निर्माणको अवधारणा पनि उनैले तयार पारेका थिए।  

उनले नेपालमा रही सन् १९५८ देखि १९९५ सम्म ३७ वर्ष नेपालको विद्युत् विकासमा अतुलनीय योगदान दिई प्रशंसनीय कार्य गरेकाले तत्कालीन राजाबाट विभुषण एवं सम्मानहरू पाएका थिए। यसका साथै उनले हाइड्रो ल्यावको स्थापना गर्नुका साथै बुटवल पावर कम्पनीलाई निजीकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले बताएको छ।। बुटवल क्षेत्रलाई विद्युतीकरण गरी औद्योगिक विकासको जग बसाल्नुको साथै उनको अगुवाइमा बुटवलले औद्योगिक विकासमा प्रगति गरेको कम्पनीले जनाएको छ। यही चैत्र १ गते निधन भएको उनको  जन्म २७ डिसेम्बर १९२७ मा हलिङ्गदल भ्याली नर्वेमा भएको थियो।

प्रकाशित: ७ चैत्र २०७९ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App