रूपन्देहीको तिलोत्तमा नगरपालिकाले एकदिने वृत्ति मार्ग निर्देशन तथा रोजगार सूचना मेला सम्पन्न गरेको छ। नगरवासीलाई रोजगारमा जोड्नका लागि सहजकीरण गर्ने उद्देश्यले सञ्चालित एकदिने मेलामा तीन हजार बढी सहभागी भएको नगरपालिकाले जनाएको छ। मेलामा १ हजार ८ सय जनाले रोजगारको माग गर्दै फाराम भरेका छन्।
रोजगारको आवेदनसहित मेलामा पुगेकामध्ये सीपयुक्त एक सय जनालाई विभिन्न रोजगार कम्पनीले जागिरका लागि सम्झौता गरेका छन्। मेलामा विशेषगरी जागिरका लागि फाराम भर्न पुगेका युवायुवतीको भीड थियो। विभिन्न रोजगारदाता कम्पनी, स्थानीय उत्पादन, परामर्शदाता, सीप परियोजनासम्बन्धी ४० स्टल थिए।
तिलोत्तमाको मंगलापुरमा सञ्चालन गरिएको मेलामा सीपमूलक तालिम तथा रोजगारका विभिन्न अवसरबारे जानकारी, सीपको प्रमाणीकरण, युवायुवतीलाई करियार निर्माणका लागि आवश्यक परामर्श प्रदान गरिएको रोजगार सूचना मेलाका संयोजक गणेश पाठकले बताए।
मेलाको उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खाणले रोजगार सिर्जनाका सम्भावना र उद्यमशीलताको विकासका लागि एकदिने वृत्ति निर्देशन तथा रोजगार सूचना मेला आयोजना गरिएको बताए। नगरवासीको जीवनस्तर माथि नउठेसम्म तिलोत्तमाको समृद्धि सम्भव नहुने भन्दै उनले स्थानीय जनशक्ति, श्रम, उत्पादन र आवश्यकता पहिचानका लागि मेला उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। ‘यो मेलाबाट नगरमा बेरोजगारको अवस्था कस्तो छ, सीपमूलक कार्यक्रम के–कस्तो ल्याउनुपर्छ भन्ने जानकारी लिएका छौं। दक्ष जनशक्ति र रोजगारदाताबीच पुलको काम गरेर तिनलाई रोजगारमा जोड्ने प्रयास गरेका छौं’, नगर प्रमुख खाणले भने। कृषिलाई प्रविधिसँग जोड्दै कृषि उद्यमको विकास गर्ने, सीपमूलक तथा प्राविधिक शिक्षामार्फत युवायुवतीलाई स्वरोजगारउन्मुख बनाउने योजना अगाडि सारिएको उनले बताए।
कार्यक्रममा बोल्दै उपप्रमुख जागेश्वरीदेवी चौधरीले मेलाकै माध्यमबाट बेरोजगार युवायुवतीलाई रोजगारमा जोड्न सहजीकरण हुने बताइन्। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्यालले इन्स्योर परियोजनाको सहयोगमा आयोजित रोजगार सूचना मेलामार्फत युवायुवतीलाई वृत्ति परार्मश प्रदान गर्नुका साथै दक्ष जनशक्ति उत्पादन र सीपयुक्त जनशक्तिलाई रोजगारमा लग्न प्रोत्साहन गरिएको बताए। मेला संयोजक तथा वडा नं ६ का वडाध्यक्ष गणेश पाठकले सीप भएर पनि जागिर नपाएर बिदेसिन बाध्य भएकालाई स्वदेशमै राख्ने उद्देश्यले नगर क्षेत्रका उद्योग, कलकारखाना तथा सेवा क्षेत्र र रोजगारको खोजीमा रहेकालाई मेलाले जोडेको बताए।
मेलामा नगरवासीले भरेका आवेदनका आधारमा उनीहरूलाई आवश्यक सीप परामर्श प्रदान गर्नुका साथै सीपयुक्त जनशक्ति र रोजगारदाताबीच समन्वयकारी भूमिका खेल्ने बताइएको छ। कार्यक्रममा मेला सहसंयोजक रवि सेञ्चुरी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि खनाल (माधव), तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसाल, शिक्षा शाखा अधिकृत शारदा भट्टराईलगायतले स्थानीय सरकारले सीप र अवसर सिर्जना गर्दै जनशक्ति विदेश पलायन रोक्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: ६ चैत्र २०७९ ०२:०६ सोमबार





