coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योगपति मुरारकासहित १८ जनालाई सफाइ

चुनढुंगा निकाल्दा उद्योगले राजस्व नतिरेको भन्दै अनियमितता गरेको आरोप लागेका उद्योगपति पशुपति मुरारका सहित १८ जनालाई विशेष अदालतल सफाइ दिएको छ। अदालतले अख्तियारले लगाएको आरोप पुष्टि नभएको ठहर गर्दै विशेष अदालतका न्यायाधीशहरू रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले आरोप पुष्टि नहुने भन्दै सफाइको फैसला सुनाएको हो।

अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेर भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुरारका सहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अदालतबाट सफाइ पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक मुरारकासहित सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्टका सरद गोयल, अन्नपूर्ण क्वायरिजका ऋषि अग्रवाल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चभन क्वेरिजका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठ रहेका छ।

त्यसैगरी सफाइ पाउनेमा खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इञ्जिनियर जयराम घिमिरे, कानून उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरू प्रशान्त बोहरा, घर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारी रहेका छन्।

विशेष अदालतले मापदण्डविपरीत चुनढुंगा उत्खननका क्रममा जरिवाना नलिएको र राजस्व चुहावट भएको अख्तियारले जिकिर गरेको भए पनि अदालतले राजस्व चुहावट नभएको ठहर गर्दै सफाइ दिएको हो। अदालतले आफूलाई न्याय दिएको उद्योगपति मुरारकाले बताए। ‘हामीले गल्ती गरेका थिएनौं, मुरारकाले भने, अहिले अदालतले न्याय दियो।

प्रकाशित: ५ चैत्र २०७९ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App