१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

उदयपुरको राजश्वः फागुनको संकलनले लक्ष्य चुम्ने आसा पलायो

करदाता सेवा कार्यालय गाईघाट भवन। तस्बिरः महेश्वर

अर्धवार्षिक राजश्व संकलन निराशाजनक देखिएको उदयपुरमा फागुनको अशुलीले केही आसा जगाएको छ। गएको पुस मसान्तसम्मको अर्धवार्षिक राजश्व लक्ष्यको ७० प्रतिशतमा खुम्चिएकोमा फागुन मसान्तमा उल्लेख्य प्रगति भएको हो। 

करदाता सेवा कार्यालय उदयपुरका अनुसार फागुन पुस मसान्तसम्म निराशाजनक राजश्व उठेको उदयपुरमा फागुनमा भने लक्ष्यभन्दा ११०.३२ प्रतिशतले बढी कर संकलन भएर उत्साह भर्न खोजेको छ। कार्यालयका कम्प्युटर अपरेटर रेक मगरका अनुसार फागुनमा कार्यालयले ३ करोड ८० लाख ५१ हजार उठाउने लक्ष्य लिएकोमा ४ करोड १९ लाख ७६ हजार कर उठाएको छ। यो आकार लक्ष्यभन्दा ३९ लाख २५ हजारले बढी भएको मगरले बताए। 

कार्यालयले फागुन मसान्तसम्ममा कुल ३१ करोड ९० हजार रुपैँया राजश्व उठाएको छ। फागुनभित्र ३९ करोड ७० लाख ६६ हजारको लक्ष्य लिएको कार्यालयले लक्ष्यको ७८.०९ प्रतिशत सफलता प्राप्त गरेको कार्यालयका निमित्त कर अधिकृत टेकबहादुर कार्कीले बताए। उनका अनुसार अघिल्लो ६ महिनाको दाँजोमा पछिल्ला २ महिना राजश्व संकलन कार्य प्रगति उन्मुख रहेको छ। अर्धवार्षिक नतिजाको दाँजोमा आर्थिक वर्ष सुरुको ८ महिने प्रगति उत्साहजनक नभए पनि आसलाग्दो भएको कार्कीले बताए।

कार्कीका अनुसार सबभन्दा बढी राजश्व आयकरबाट संकलन भएको छ। आर्थिक वर्ष सुरुको ८ महिना अवधिमा १८ करोड ४६ लाख १५ हजार उठाउने लक्ष्य लिएको आयकर बापत ८०.२८ प्रतिशत प्रगति गर्दै १४ करोड ८२ लाख ८ हजार संकलन गरेको छ। कार्यालयले फागुनमा मात्र १ करोड ८८ लाख २६ हजार उठाएको छ। जब कि १ करोड ८९ लाख ६ हजार उठाउने लक्ष्य लिएको कार्यालयले १५८.२५ प्रतिशत बढी संकलन गर्न सफल भएको छ। 

दोस्रो ठुलो राजश्व आकार मूल्य अभिवृद्धि कर (भ्याट) बापत उठेको छ। लक्ष्यको ८४ प्रतिशत उठेको भ्याटबापत १४ करोड १६ लाख ६५ हजारसंकलन भएको छ। कार्यालयले यो अवधिमा फागुनभित्र १६ करोड ८६ लाख ९६ हजार उठाउने लक्ष्य लिएको थियो। फागुनमा कार्यालयले २ करोड ९ लाख ३३ हजार उठाउने लक्ष्य लिएकोमा १०६.८ प्रतिशत बढी अर्थात २ करोड २३ लाख ५५ हजार उठाउन सफल भएको छ। 

अन्य राजश्व शीर्षकहरुमा अन्तःशुल्क १ करोड १० लाख ८० हजार, बहाल कर ६० लाख १० हजार र व्याज करबापत ३० लाख २६ हजार संकलन गरेको कर अधिकृत कार्कीले बताए। यी ३ शीर्षकमा लक्ष्यको क्रमशः ३६.२०, ६९.४४ र ६६.६४ प्रतिशत राजश्व संकलन भएको कार्यालयले जनाएको छ। 

गत पुस मसान्तसम्मको अद्र्धवार्षिक संकलन भने निराशाजनक थियो। गत वर्षको अद्र्धवार्षिक प्रगतिको दाँजोमा अन्तः शुल्क र व्याज कर ऋणात्मक थियो भने भ्याट, बहाल कर र आयकर संकलनमा पनि नगन्ने प्रगति थियो। अघिल्लो वर्षको सोही अवधिको दाँजोमा व्याजकर ३१.४५ र अन्तःशुल्क ४०.१८ प्रतिशत ऋणात्मक थियो भने आयकर १.८७, भ्याट ८.३३ र बहाजल करमा २६.८२ प्रतिशत प्रगति थियो। 

समग्र प्रगति ७०.६७ प्रतिशत रहेको अद्र्धवार्षिक संकलन रकम २२ करोड ५६ लाख ९० हजार थियो। जब कि कार्यालयको लक्ष्य ३१ करोड ९३ लाख ७० हजार उठाउने थियो। माघ र फागुन २ महिनाकै अवधिमा ८ करोड ४४ लाख राजश्व संकलन हुनु आर्थिक प्रगतिको सकारात्मक सूचक भएको निमित्त अधिकृत कार्कीले बताए। कार्यालयले चालु वर्ष प्रक्षेपण गरेको राजश्व संकलन लक्ष्य भेट्ने आसा पछिल्ला २ महिनाको संकलन दरले पलाएको उनले बताए। 

प्रकाशित: ४ चैत्र २०७९ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App