१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिता एयरको कार्यालयमा लगाएको ताला खुल्यो

नेपालगन्ज विमानस्थल कार्यालय । तस्बिर : नागरिक

नेपालगन्ज विमानस्थल परिसरमा रहेको सिता एयरको कार्यालयमा लगाइएको ताला खोलिएको छ।

सम्झौता अनुसार उडान नगरेको भन्दै ट्राभल व्यवसायीले बुधबार बिहान उक्त बिमान कम्पनीको कार्यालयमा ताला लगाएका थिए।

प्रहरीका अनुसार विमानस्थल परिसरमा रहेको कार्यालयमा बुधबार बिहान पौने १० बजेतिर ‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालक ललितजंग महतका छोरा सुविन महतले ताला लगाएकोमा दुबै पक्षबीचको समझदारी पश्चात ताला खोलिएको हो।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रहरी इन्चार्ज (सई) रबिन्द्र बमले सम्झौता अनुसार उडान नगरेको भन्दै ट्राभल ब्यवसायीले सिता एयरको कार्यालयमा ताला लगाएको र दुई पक्षबीच मौखिक समझदारी भएपछि बुधबार नै ताला खोलिएको जानकारी दिए।

उक्त ताला ‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालक सदस्य सुविन महत र सिता एयरका लेखापाल सुर्य भण्डारीबीचको मौखिक समझदारी पश्चात खोलिएको ईन्चार्ज बमले जानकारी दिए।

‘विमानस्थल क्षेत्रमा आर्थिक लेनदेनको कुरालाई लिएर विवाद नगर्नुस्, विवादलाई बढाउनु हुन्छ भने म दुई पक्षलाई जिल्ला(जिप्रका) तिर पठाउँछु भनेर मैले उहाँहरुलाई सम्झाए,’ प्रहरी इन्चार्ज बमले भने ‘त्यसपछि सिता एयरका एकाउण्टेन्ट र टभल्स ब्यवसायी बीच एउटा मौखिक समझदारी बन्यो, अनि ब्यवसायी आफैले लगाएको ताला खोलिदिए।’

‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालक ललितजंग महतले आफ्नो संस्थाले सिता एयरसँग जिएसए (जनरल सेल्स एजेन्ट) लिएकोमा बीचमै उडान गर्न छाडेपछि अग्रिम जम्मा गरेको रकम फिर्ता गर्न अटेरी गर्दैै आएको दुखेसो पोख।  

‘मेरो ट्राभल एजेन्सी जनरल सेल्स एजेन्ट बनेपछि सिता एयरबाट नेपालगन्जदेखी जुम्ला र सुर्खेतदेखी जुम्ला उडान गर्ने सहमति बन्यो, तर सिता एयरले बीचमै त्यस क्षेत्रका लागि उडान बन्द गर्यो,’ महतले नागरिकसँग भने ‘सिताले आफै जिएसए तोड्यो, डिपोजिट गरेको पैसा पनि दिएन, धेरै पटक धाउँदा पनि पैसा नदिएपछि बाध्य भएर हामीले ताला लगाएका हौं।’

सिता एयरसँग आफूले अझै दुई लाख भन्दा बढी रकम पाउन बाँकी रहेको दुखेसो पोखे। मतहका अनुसार नेपालगन्ज र सुर्खेतबाट ‘चार्टर’ तथा ‘कार्गो’ उडान गर्नका लागि सिता एयर र ‘गो कर्णाली टर्स एण्ड ट्राभल्स’ बीच सम्झौता भएको थियो। उक्त सम्झौतालाई सिता एयरलाइन्सले बीचमै तोडेको उनको आरोप छ।

यता सिता एयरका क्षेत्रीय प्रबन्धक बिनोद मिश्रले ‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालकले लगाएको आरोपमा सत्यता नभएको प्रतिक्रिया दिएका छन्। सुरुमा सिता एयर र ‘गो कर्णाली टर्स एण्ड ट्राभल्स’ बीच कुनै खालको सम्झौता र कारोबार नभएको जिकिर गरेका उनले पछि भने बिमान कम्पनीसँग ट्राभल्स एजेन्ट्स कारोबारमा जोडिनु स्वभाविक भएको प्रतिक्रिया दिए।

‘सिता एयर र ‘गो कर्णाली टर्स एण्ड ट्राभल्स’ बीच कुनै सम्बन्ध छैन, उसको कारोबार श्रीमिका एयर कार्गो सर्भिसेजसँग हो, हामी सँग होईन,’ उनले भने।  

प्रकाशित: १ चैत्र २०७९ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App