१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सहकारीले तिरेनन् स्वरोजगार कोषको ऋण

सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरूलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रूपैयाँ ऋण लियो। सहकारीमा आवद्ध युवाहरूलाई विना धितो दुई लाख रूपैयाँसम्म ऋण दिएर स्वरोजार बनाउने उद्देश्य भए पनि सो अनुसार काम भएन। युवाहरूलाई विना धितो ऋण दिएर स्वरोजगार बनाउने भनिए पनि सहकारीकै अध्यक्ष र केही पदाधिकारीले कोषबाट प्राप्त रकम दुरूपयोग गरे।

चार वर्षभित्र ऋण तिर्ने गरेर सहकारीले कोषबाट ल्याएको ५० लाख ऋण अहिले ब्याजसहित जोड्दा ८० लाख बढी पुगिसकेको छ। मासिक किस्ता र व्याज नबुझाउँदा कोषले ऋण लिँदा राखेको जेथा लिलामीको सूचना निकालिसकेको छ। सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी एक वर्षदेखि कोषको  सम्पर्कमा छैनन्।

‘अध्यक्ष वर्ष दिनदेखि सम्पर्कमा हुनुहुन्न,’ कोषका कर्जा असुली सहजकर्ता पार्वती भट्टले भनिन्, ‘उपाध्यक्षलाई सम्पर्क गर्दा ऋण लिएको थाहा छैन् भन्नुहुन्छ।’ कोषका अनुसार अमरज्योतिले २०६९ मंसिरमा ५० लाख रूपैयाँ ऋण लिएको हो।

उक्त ऋण कोषले २०७३ असार मसान्तभित्र तिरिसक्नुपर्ने थियो। ‘ऋण लिएदेखि नै एक किस्ता पनि सहकारीले कोषलाई सावाँ र ब्याज बुझाएन्,’ उनले भनिन्, ‘सहकारीले पुस मसान्तसम्म कोषलाई ८० लाख ५५ हजार १५० रूपैयाँ बुझाउन बाँकी छ।’

सहकारीका उपाध्यक्ष जीतबहादुर घर्ती कोषबाट लिएको ऋण अध्यक्ष रेग्मीले हिनामिना गरेको बताउँछन्। ‘अध्यक्षले कोषबाट लिएको ऋण मात्रै होइन्, शेयर सदस्यले बचत गरेको रकम पनि हिनामिना गरेर सम्पर्कमा छैनन्,’ उनले भने, ‘कोषले सहकारीलाई कालो सूचिमा राखेर सूचना प्रकाशित गरेको छ।’

भेरीगंगा नगरपालिकाको मूलपानी कृषि तथा पशुपालन सहकारी संस्थाले पनि सोही वर्ष कोषबाट ४० लाख रूपैयाँ ऋण लियो। चार वर्षभित्र उसले कोषबाट लिएको ऋणको सावाँ र ब्याज चुक्ता गरिसक्नुपर्ने थियो। युवाहरूलाई स्वरोजगार बनाउन ऋण लगानी गरेको भए असुल भइसक्थ्यो तर सहकारीका पदाधिकारीहरूले उद्देश्य विपरीत कोषबाट लिएको ऋण आफैंले खर्च गरेका छन्। ‘मूलपानीले ४० लाख ३० हजार ९४७ रूपैयाँ तिर्न बाँकी छ,’ उनले भनिन्, ‘हामीले तत्काल कोषको ऋण चुक्ता गर्न ताकेता गरेका छौं, अहिलेसम्म असुल भएको छैन।’

कोषले अमरज्योति, मूलपानी र चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीलाई कालोसूचीमा राखेर ऋण लिँदा राखिएको अचल सम्पत्तिबाट असुल–उपर गर्ने प्रक्रिया सुरु गरेको छ। कोषका अनुसार चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीले ४० लाख रूपैयाँ ऋण लिएको छ। उसले कोषलाई २२ लाख २७ हजार ९५९ रूपैयाँ तिर्न बाँकी छ। कोषले १० वर्ष पुगेका ऋणीहरूको अचल सम्पत्तिबाट असुल गर्नका लागि सूचना जारी गरेको छ।

कोषका ऋण असुली सहजकर्ता भट्टका अनुसार ऋण लिएकामध्ये सुर्खेतका तीन वटा सहकारी कालो सूचीमा राखेर सावाँ र ब्याज असुल–उपरको प्रक्रिया सुरु गरिएको बताइन्। ‘१० वर्ष पुगेका तीन सहकारी संस्थालाई कालो सूचीमा राखेर ऋण असुल–उपर गर्ने प्रक्रिया सुरु भएको छ,’ उनले भनिन्, ‘अझै धेरै सहकारीहरूले पनि तोकिएको समयमा सावाँ र ब्याज तिरेका छैनन्।’

भट्टका अनुसार वीरेन्द्रनगरको नागरिक बहुउद्देश्यीय सहकारी संस्था, बराहतालको सोतखोला जडीबुटी बहुउद्देश्यीय सहकारी संस्था, वीरेन्द्रनगरको आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था, घरेलु उद्योग सहकारी संस्थालगायतले पनि तोकिएको समयमा सावाँ र ब्याज तिरेका छैनन्।

प्रकाशित: २८ फाल्गुन २०७९ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App