३ असार २०८१ सोमबार
image/svg+xml
समाज

चाँगुको चुनौती ‘डोजर आतंक!’

फाइल तस्वीर

भक्तपुरको चाँगुनारायण नगरपालिकाको मुख्य चुनौती ‘डोजर आतंक’ देखिएको छ। चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिका क्षेत्रमा जताततै अवैध रूपमा चल्ने डोजरले आतंक नै मच्चाएको जनाए।

खुला क्षेत्रका रूपमा रहेको यो नगरपालिका क्षेत्रभरिका सबै वडाहरूमा अवैध प्लटिङ चलाउने र त्यसका लागि डोजर आतंक हुने गरेको उपप्रमुख बुढाथोकीले बताए।

पूर्ववत् विभिन्न गाविसहरू मिलेर पछिल्लो पटक यो क्षेत्र चाँगुनारायण नगरपालिका घोषणा भएको थियो। भक्तपुरको उत्तरी क्षेत्रमा रहेको यो नगरपालिका पश्चिममा दुवाकोटदेखि पूर्वमा ताथलीसम्म रहेको छ।

उपप्रमुख बुढाथोकीका अनुसार अनुमति लिएर जग्गा प्लटिङका लागि नगरपालिकाले स्वीकृति पनि दिँदै आएको छ। अनुमति लिएर डोजर चलाउनेहरूले नगरपालिकालाई राजस्व तिर्नुपर्छ। तर तिर्नेहरूसँगै बिनाअनुमति पनि सबै वडाहरूतिर डोजर चल्ने गरेको उनले बताए।

 ‘नगरपालिका घोषणा भएको पहिलो पाँच वर्षका नगरप्रमुख र उपप्रमुख पनि माटो र बालुवामै बिते,’ उनले भने, अबको यो दोस्रो पाँच वर्षको कार्यकाल पनि यसमै बित्नेजस्तो देखिएको छ।’

नगरपालिका क्षेत्रभरि माटो ओसारपसार गर्ने र अवैध रूपमा बालुवा निकासी नियन्त्रणमै नगरका जनप्रतिनिधिहरूको वर्ष बितको उनको भनाइ हो। उनका अुनसार यसरी अवैध रूपमा डोजर चलाउनेहरूलाई कारबाही पनि गर्दै आएको छ। तर पनि समस्या जस्ताको तस्तै छ।

‘अवैध चलेका डोजर नगर प्रहरीले देख्यो कि साँचो लिएर आउने गर्छन्,’ उनले भने, ‘साँचो लिन नगरपालिका आउँदा एउटा डोजर बराबर ५० हजार जरिबाना तिर्नुपर्छ।’

राजस्व संयोजकसमेत रहेका उपमेयर बुढाथोकीका अनुसार अवैध चलाइएका यस्ता डोजरबाट मात्रै चालु आर्थिक वर्षको वैशाखसम्म २२ लाख ५४ हजार जरिबाना रकम उठेको छ। ‘आजै मात्र एउटा नगर प्रहरीले कब्जा गरी ल्याएको एउटा डोजरको साँचो लिन आउनेलाई ५० हजार जरिबाना तिराइयो,’ उनले भने, ‘कति ठाउँहरूमा साँचो खोसाखोस गर्ने क्रममा झडपसमेत हुने घटना सामान्य भइसक्यो।’

उपप्रमुख बुढाथोकीले आफूले कार्यभार सम्हालेको दुई वर्ष बित्दाका अनुभव सुनाउन आइतबार नगरपालिका सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा स्वीकृति लिई प्लानिङ गर्नेहरूबाट मात्रै चालु आर्थिक वर्षको वैशाखसम्ममा ७० लाख राजस्व उठेको जानकारी गराए।

चाँगुनारायण नगरपालिकामा पछिल्लो स्थानीय निकायको निर्वाचनमा नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्री निर्वाचित भएका थिए। उपप्रमुख भने नेकपा एमालेका बुढाथोकी निर्वाचित भएका थिए।

मेयर र उपमेयर फरकफरक पार्टीबाट जित हासिल गरेकाले समग्र नगरपालिकाले नभई उपमेयरले मात्रै पत्रकार सम्मेलन गरेको थियो। सम्मेलनमा पत्रकारहरू र उपमेयर बुढाथोकी मात्रै सहभागी थिए। सम्मेलनमा नगरप्रमुख जीवन खत्री, वडाध्यक्षहरू तथा नगरपालिकाका कर्मचारी कोही पनि सहभागी थिएनन्। यद्यपि सम्मेलनमा उपप्रमुख बुढाथोकीले प्रमुख र उपप्रमुखबीच कुनै द्वन्द्व नभएको बताए।

यो नगरपालिकामा नेपाली कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी गरी चार वटा पार्टीबाट वडाध्यक्षहरू विजयी भएका छन्। भक्तपुरमा चार वटा नगरपालिका रहेका छन्।

तीमध्ये भक्तपुर र मध्यपुर थिमि दुई वटा पुराना नगरपालिका हुने भने चाँगुनारायण र सूर्यविनायक दुई नगरपालिका नयाँ घोषित नगरपालिका हुन्। यीमध्ये नयाँ नगरपालिका चाँगुनारायण र सूर्यविनायकमा खुला क्षेत्र धेरै छन् भने भक्तपुर र मध्यपुर दुइटै पुराना नगरपालिकामा घना बस्ती भइसकेको छ।

प्रकाशित: १४ जेष्ठ २०८१ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App