२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनचाँदी व्यवसायी संघको तालिम भवन उद्घाटन

तालिम भवन उद्घाटन कार्यक्रममा बोल्दै जनकवि दुर्गालाल श्रेष्ठ। तस्बिर: साय्मि/नागरिक

काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवन शनिबार उद्घाटन भएको छ। जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं महानगरपालिका–१७ वडाको कुसुमबियालाछीस्थित सो भवनको उद्घाटन गरेका थिए।

यस भवनमा सुनका आधुनिक तथा परम्परागत गहना बनाउनेदेखि सुन तथा रत्न पहिचान गर्ने तालिम सञ्चालन गरिने छ। तालिमका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट पनि सम्बन्धन प्राप्त गरिसकेको छ।

कार्यक्रममा बोल्दै काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले सुनका गहना बनाउने नेपाली कालिगढको अभाव रहेको अवस्थामा यस भवनबाट नेपाली कालिगढ उत्पादन गर्नमा धेरै सहयोग पुग्ने बताए।

उनले भने, ‘गहना बनाउने स्वदेशी कालिगढ नै नभएकाले नेपाली गहना विदेशी कालिगढमा निर्भर भइरहेको छ। यस अवस्थामा स्वदेशी युवालाई तालिम दिइ रोजगारका अवसर प्रदान गर्ने उद्देश्य लिई भवनको निर्माण गरिएको हो। सिटिइभिटीबाट सम्बन्धन पनि प्राप्त गरिसकेकोले यहाँ तालिम लिएकाले अन्तर्राष्ट्रिय रूपमा मान्यता पनि पाउने छ।’

संघको चौधौं साधारणसभा तथा पाँचौं अधिवेशनबाटै विदेशी कालिगढ विस्थापित गरी स्वदेशी दक्ष कालिगढ उत्पादन गर्ने उद्देश्य लिए अनुसार यो भवन बनाइएको कार्यक्रममा बताइएको थियो। संघको यो दोस्रो भवन हो।

कार्यक्रममा भवन निर्माण कमिटीका संयोजक तथा संघका पूर्वअध्यक्ष महेन्द्ररत्न शाक्यले भवन बनाउन सहयोग पुर्‍याउने दातालाई धन्यवाद ज्ञापन गरेका थिए। उनले यो भवन सुनचाँदी सम्बन्धी कार्य गर्ने प्राज्ञिक परिषद र तालिमको मुख्य भवन हुने विश्वास लिएको बताए। भवनमा तालिम कक्षा, प्रयोगशाला, बैठक कोठा, विश्राम स्थलका साथै तालिम लिन आउनेहरूका लागि चमेना गृह समेत हुने उनले बताए।

बागमति प्रदेशका सांसद उपप्रमुख हरिप्रभा खड्गीले सुनका गहना बनाउने तालिमले युवाहरूलाई विदेश पालयन हुनबाट रोक्न सहयोग पुग्ने बताउँदै भने, ‘अहिले धेरै युवाहरू शिक्षा र तालिमको नाममा विदेश पलायन भइरहेको छ। स्वदेशमै तालिम र रोजगारदिन सके युवाहरूलाई विदेश जानबाट राक्न सकिनेछ। काठमाडौं सुनचाँदी व्यवसायी संघले संचालन गर्न लागेको तालिमले युवाहरूलाई स्वदेश फर्काउन पनि मद्दत गर्नेछ भन्न विश्वास लिएको छु। यही उद्देश्यले काठमाडौं महानगरपालिकामा हामी हुँदा नै भवन बनाउन सहयोग गरेका थियौं।’

तालिम भवन बनाउन विद्यासुन्दर शाक्य रखड्गी मेयरउपमेयर हुँदा काठमाडौं महानगरपालिकाले ७२ लाख रूपैयाँ सहयोग गरेको थियो।

त्यस्तै रत्न–कुसुमका अध्यक्ष सानुराजा वज्राचार्यले काठमाडौं उपत्यकाको वैभव रहेको यहाँको परम्परागत गहना बनाउने स्वदेशी कालिगढ नै घट्दै गइरहेको परिस्थितिलाई मनन गर्न सकेकोमा संघका पूर्व तथा हालका पदाधिकारीहरूलाई धन्यवाद दिँदै भने, ‘देशको समृद्धि व वैभवलाई झल्काउने सुन चाँदीका गहना बनाउन तालिम दिने यो देशकै पहिलो सरकारी मान्यता प्राप्त इन्ष्टिच्यूट भएको छ। मान्यताप्राप्त तालिम हुने भएकोले यहाँबाट उत्पादन हुने शिल्पीहरूलाई रोजगारको अवसर पनि प्राप्त हुनेछ।’

प्रकाशित: २८ फाल्गुन २०७९ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App