२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नदी फर्काउन सुरुङको काम सकियो

माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा बाँधनिर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ।

सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काएर बाँधनिर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइहकयुनले बताए। ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ,’ उनले भने ‘यस अवसरमा निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं, तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ।’

आयोजनाको भूमिगत विद्युत् गृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको छ भने यसको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ। गत मुख्य निर्माण कार्य २०७८ पुसबाट सुरु गरिएको आयोजनामा हाल करिब ७ सय कामदार परिचालित छन्। त्यसमध्ये करिब ३ सय रसुवाका स्थानीय बासिन्दा छन्।

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ।

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली-१ हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी रहेको छ।

आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ। कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ।

आयोजनाबाट वार्षिक रूपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामका उत्पादन हुने छ। उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशुली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ।

काठमाडौं लोड सेन्टरबाट नजिक रहेको र विद्युत्को अध्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ। आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ। आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ।

प्रकाशित: २२ फाल्गुन २०७९ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App