८ वैशाख २०८१ शनिबार
अर्थ

४७ करोड घोटाला आशंकामा छानबिन

उदयपुर सिमेन्ट उद्योग

तस्वीर: नवलकिशोर साह/सुरेन्द्रकुमार पौडेल

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा करिब पौने ४७ करोड रूपैयाँ अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। उदयपुर सिमेन्टको व्यवस्थापन पक्षले सिमेन्ट उत्पादनमा प्रयोग हुने क्लिंकरलगायत वस्तुमा अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।

भौतिक रूपमा मौज्दात नभएको ३७ हजार ६४० मेट्रिक टन क्लिंकरलाई उदयपुर सिमेन्टको जिन्सी मौज्दातमा देखाएर अनियमितता गरेको उजुरीका आधारमा छानबिन सुरु गरेको अख्तियारले जनाएको छ। महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार २०७७ पुस मसान्तसम्म भौतिक रूपमा मौज्दात १७ हजार ७४५ मेट्रिक टन क्लिंकर भए पनि लेखामा मौज्दात ५५ हजार ३८५ मेट्रिक टन देखाइएको छ। महालेखाका अनुसार करिब ४६ करोड ७४ लाख १३ हजार ५२० रूपैयाँको क्लिंकर फरक पारेर अनियमितता गरिएको छ। भौतिक रूपमा क्लिंकर नभएको र कागजमा देखाएर अनियमितता गरेको आरोप लागेको छ ।

उदयपुर सिमेन्टमा अनियमितता भएको उजुरीका आधारमा छानबिन सुरु गरिएको अख्तियारका एक आयुक्तले बताए। ‘प्रारम्भिक अनुसन्धानमा उदयपुर सिमेन्टमा अनियमितता देखिएपछि विस्तृत अध्ययन गर्दैछौं,’ ती आयुक्तले भने, ‘तत्कालीन महाप्रबन्धक सहितका अधिकारीमाथि छानबिन हुन्छ ।’ अख्तियारले उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, नवलकिशोर साहसहित त्यहाँका उच्च अधिकारीमाथि छानबिन सुरु भएको जनाएको छ ।

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने गएपछि विजयकुमार ठाकुरको संयोजकत्वमा क्लिंकरको भेरिफिकेसनका लागि समिति गठन गरेका थिए। ठाकुर, सदस्य सचिव रविचन्द्र पौडेललगायतको समितिले प्रतिवेदन तयार गरेको थियो। त्यो समितिको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७१/७२ मा उद्योगमा क्लिंकर सुरु मौज्दात ९ हजार २३८, आव २०७२/७३ मा १७ हजार ७७३, आव २०७३/७४ मा १७ हजार २४३, आव ७४/७५ मा २८ हजार १३० मौज्दात थियो।

त्यसैगरी आव २०७५/७६ मा सुरु मौज्दात ३३ हजार ९१४, आव २०७६/७७ मा सुरु मौज्दात ४५ हजार ६२४ मेट्रिक टन क्लिंकर मौज्दात थियो। समितिको प्रतिवेदनअनुसार उद्योगको लेखाको कागजातमा आव २०७१/७२ को अन्तिममा १५ हजार ७७३ मौज्दात र आवको अन्तिममा २०७६/७७ मा ५२ हजार १४० मौज्दात देखिन्छ। कागजमा मौज्दात देखिए पनि भौतिक परीक्षण गर्दा ठुलो अन्तर परेको हो ।

क्लिंकरको परिणाम भौतिक रूप र कागजमा फरक देखिएको समितिका सदस्य सचिव पौडेलले बताए। ‘कन्ट्रोल रुमबाट डेटा लिएर जोड्दै गइयो,’ पौडेलले भने, ‘भौतिक परीक्षण गर्दा फरक देखियो ।’ भौतिक परीक्षणमा कम भएको उनले बताए। प्रत्येक वर्षको लेखामा ‘एडजस्ट’ नहुँदा थपिँदै गएको उनको दाबी छ। ‘फिल्डमा एक थोक, कागजमा एक थोक भएको सत्य हो,’ उनले भने, ‘भौतिक परीक्षणको रिपोर्ट अनुसार बुक भ्यालु भएन ।’

महालेखापरीक्षक कार्यालयले कैफियत लेखेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि कमानसिंह खत्रीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। उद्योगको रेकर्डप्रति मन्त्रालयको छानबिन समिति पनि सशंकित छ। ‘कि त क्लिंकर बेचेको हुनुपर्छ, होइन भने गलत विवरण तयार गरिएको हो,’ समितिका संयोजक खत्रीले भने।

उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले आफ्नो कार्यकाल सकिनुअघि क्लिंकरको फिजिकल भेरिफिकेसन गराएर हिँडेको बताए। तत्कालीन महाप्रबन्धक पौडेलले २०७५ पुस १९ गते उदयपुर सिमेन्ट छाडेका थिए। आफू छाड्नुभन्दा तीन महिनाअघि क्लिंकरको भौतिक परीक्षण गरेको पौडेलले बताए। ‘मेरो पालामा कुनै कैफियत भएको छैन,’ पौडेलले भने, ‘मलाई किन मुछे अचम्म लागेको छ। मैले सही ढंगले बुझबुझारथ गरेर छाडेको हुँ ।’ त्यसपछि महाप्रबन्धकका रूपमा नवलकिशोर साह आएका थिए।

व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उदयपुर सिमेन्ट धराशयी बन्दै गएको छ। उद्योग सधैं घाटामा छ। आव २०७७/७८ मा उद्योग ३० करोड ६० लाख रूपैयाँ घाटामा थियो। त्यसअघि २०७६/७७ मा पनि ३३ करोड ३६ लाख रूपैयाँ घाटामा थियो। आव २०७४/७५ मा भने १० करोड नाफामा थियो। त्यतिबेला पौडेल महाप्रबन्धक थिए।

निजी क्षेत्रका सिमेन्ट उद्योग करोडौं रूपैयाँ नाफा कमाउँदा सरकारी लगानीको उदयपुर सिमेन्ट सधैं घाटामा छ। अर्थ मन्त्रालयको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार उदयपुर सिमेन्टमा ५ अर्ब ३७ करोड रूपैयाँ लगानी छ। उद्योगको उत्पादन क्षमता दैनिक १६ हजार ८ सय बोरा छ। उद्योग क्षमताभन्दा निकै कममा चल्दै आएको छ। आव २०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट बिक्री गरेको थियो।

प्रकाशित: २१ फाल्गुन २०७९ ००:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App