१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘टुर गाइड’को विकल्प ‘क्युआर कोड’

पोखरा घुम्न आउने पाहुनालाई यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय वा पुरातात्विक गन्तव्यबारे बुझ्न कि त गाइडको भर कि प्रकाशित दस्तावेज खोजी वा स्थानीय अगुवासँग भेट्नुपर्ने बाध्यता थियो। अब यस्तो बाध्यता हट्ने भएको छ। अब एकपटक क्युआर कोड स्क्यान गरेपछि आफूले जान्न चाहेको गन्तव्यको पुरै विवरण पढ्न र सुन्न मिल्ने सामग्री मोबाइल फोनमै उपलब्ध हुनेछ।  

यसका लागि पोखराका विभिन्न १६ वटा गन्तव्यमा क्युआर कोड राखिएको छ, जुन धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छन्। पर्यटकले पर्यटकीय गन्तव्यमा राखिएका क्युआर कोड स्क्यान गरेपछि त्यसबारे सुन्न र पढ्न मिल्ने सामग्री विभिन्न भाषामा पाउनेछन्। हालका लागि पाँचवटा भाषामा १६ वटा गन्तव्यको चिनारी क्युआर कोडमार्फत पाउने व्यवस्था मिलाइएको छ।

पोखरा पर्यटन परिषद् (पिटिसी) र पर्यटन बोर्डमार्फत विभिन्न १६ पर्यटकीय गन्तव्यमा क्युआर कोड राखिएको हो। क्युआर कोड तयार पार्ने काम यात्रा प्रविधि कम्पनी सारङ सर्भिसेजले गरेको हो। यो कम्पनीले विभिन्न प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको चिनारी कथा धेरैवटा भाषामा सुनाउँछ। पिटिसीका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार नेपाली, अंग्रेजी, हिन्दी, स्पेनिस र फ्रेन्च गरी पाँचवटा भाषामा पोखराका १६ वटा गन्तव्यको जानकारी दिनेगरी क्युआर कोड तयार पारिएको छ। पर्यटकले पर्यटकीय गन्तव्यको क्युआर कोड स्क्यान गरेपछि त्यसबारे आफूले चाहेको भाषामा पढ्न र सुन्न सक्छन्। ‘यीबाहेक अरू भाषामा पनि जानकारी दिने तयारी छ। अहिलेका लागि १६ ठाउँका बारेमा पाँच भाषामा जानकारी दिनेगरी क्युआर कोड स्क्यानको सुविधा छ, गन्तव्य र भाषाको माध्यम पनि थप्दै जाने हो,’श्रेष्ठले भने, ‘यसले पोखरा घुम्न आउने स्वदेशी वा विदेशी पर्यटकलाई गन्तव्यबारे आवश्यक विवरण विस्तृतमा उपलब्ध गराउँछ। यसले पर्यटकलाई एकैखालको जानकारी दिन पनि सहयोग पुग्छ।’

पिटिसीका महासचिव सञ्जयकान्त सिग्देलका अनुसार पोखरास्थित गुप्तेश्वर महादेव गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, महेन्द्र गुफा, पुम्दीकोट, सराङ्कोट, विन्ध्यवासिनी मन्दिर, बेगनास ताल, विश्व शान्ति स्तुप, केदारेश्वर महादेव मन्दिरबारे आवश्यक सामग्री क्युआर कोडमार्फत लिन पाउने व्यवस्था मिलाइएको छ। त्यस्तै फेवाताल, माटेपानी गुम्बा, डेभिड फल्स, तालबाराही मन्दिर र कास्कीकोट मन्दिरलाई पनि क्युआर कोडमा समेटिएको छ। ‘अहिलेसम्म यी गन्तव्यबारे जानकारी लिन पर्यटकले गाइड खोज्नुपर्ने हुन्थ्यो वा प्रकाशित दस्तावेज खोजी गर्नुपर्थ्यो तर अब सहज भएको छ,’सिग्देलले भने, ‘यसले पर्यटन विकासमा सहयोग गर्ने अपेक्षा छ।’ उनका अनुसार सबै भाषामा दखल राख्ने गाइड नभएकाले क्युआर कोडमार्फत विभिन्न भाषामा पर्यटकीय गन्तव्यको जानकारी पाउने व्यवस्था मिलाइएको हो।  

क्युआर कोडको विकास गरेको सारङ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत सचिन डाँगीका अनुसार हरेक क्युआर कोडको दुई ठाउँमा स्क्यान गर्न मिल्छ। एउटामा सम्बन्धित गन्तव्यबारे जानकारी दिने सामग्री पाइन्छ भने अर्कोमा  पोखराका अरू महत्वपूर्ण स्थलबारे जानकारी लिन सकिन्छ। आफू रहेको ठाउँबाट अर्को गन्तव्य कति टाढा छ भन्ने थाहा पाउन पनि यसले सघाउँछ। ‘कुनै एक ठाउँको क्युआर कोड स्क्यान गरेपछि त्यो ठाउँको विस्तृत विवरण र नजिकको अर्को गन्तव्यको जानकारी पनि पाउन सकिन्छ,’डाँगीले भने, ‘पोखराका मुख्य–मुख्य पर्यटकीय ठाउँ घुम्न अब गाइड खोज्नुपर्दैन।’  

मोबाइलले क्युआर कोड स्क्यान गरेपछि आफू जान खोजेको गन्तव्यको नक्सा पनि देखिन्छ। सारङ सर्भिसेज कम्पनीका अनुसन्धानकर्ताले पोखरामा झन्डै दुई महिना बसेर ती गन्तव्यबारे जानकारी संकलन गरेका थिए। स्थानीय गुठी, नगरपालिका, अगुवासँग छलफल गर्दै प्रकाशित दस्तावेज अध्ययन गरेर विवरण संकलन गरिएको डाँगीले बताए।

गाइडबाट मौखिक रूपमा जानकारी लिँदा फरकफरक तथ्य आउन सक्थ्यो। एकै ठाउँको बारेमा फरकफरक जानकारी पाउँदा पर्यटक झुक्किन्थे। तर अब त्यस्तो नहुने अपेक्षा छ,’ उनले भने। सारङ सर्भिसेज कम्पनीले पर्वतको कुश्मा, मुस्ताङको कागबेनी र मुक्तिनाथ र लुम्बिनी क्षेत्रका बारेमा पनि क्युआर कोडमार्फत जानकारी दिन विवरण संकलन गरिरहेको उनले बताए। ‘नेपालका ११६ गन्तव्यलाई क्युआर कोडमा समेट्ने प्रयास भइरहेको छ। स्थानीय तहसँग मिलेर काम गर्नेछौं,’उनले भने।

प्रकाशित: २० फाल्गुन २०७९ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App