४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालनका लागि रुट परीक्षण गर्दै

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र ‘सिटी बस’ को सेवा दिने भएको छ। ‘सिटी बस’ सञ्चालनका लागि बिहीबार नगरको विभिन्न ठाउँमा रुट परीक्षण गरिएको हो।

विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको ‘सिटी बस’ का लागि प्रारम्भिक चरणको रुट परीक्षण गरिएको छ। महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपयुक्त हुन्छ भनेर रुट परीक्षण गरिएको महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन्।

‘सिटी बस’ सञ्चालनका लागि २ वटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो। उपप्रमुख कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला लगायतका व्यक्ति बसमा चढेर रुटको परीक्षण गरेका थिए। महानगरले ‘सिटी बस’ सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ।

लगानी बोर्डको सौजन्यमा महानगरले ‘सिटी बस’ सञ्चालन गर्न लागिएको बताउँदै, उपप्रमुख कार्कीले भनिन्, ‘कति साइज र क्षमताको बस सञ्चालन गर्न सहज हुन्छ भनेर रुट ट्रायल गरेका हौँ। ट्रायल सकिएपछि २/३ महिनाभित्रै ‘सिटी बस’ सञ्चालनमा आउने छ।’

ज्येष्ठ र अपाङ्गता नागरिकलाई निःशुल्क, महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने उपप्रमुख कार्कीले बताइन्। नगरको विभिन्न ठाउँबाट बसको सेवा दिनका लागि रुट परीक्षण गरिएको महानगरले जनाएको छ।

प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको छ। निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा ‘सिटी बस’ सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए।

प्रकाशित: १८ फाल्गुन २०७९ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App