८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी

कोरियाली कम्पनीसँगको साझेदारीमा प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादनको तयारी गरिएको छ।

प्रदेश १ मा विद्युतीय सवारीसाधनको उद्योग स्थापना गर्ने विषयमा नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता भएसँगै विद्युतीय सवारीसाधन उत्पादनको तयारी सुरु भएको हो।

प्रदेश १ को कुन स्थानमा उद्योग स्थापना गर्ने भन्ने विषयमा कोरियन कम्पनीका प्रतिनिधिले यही मार्चमा प्रदेश १ को भ्रमण गरेर उपयुक्त स्थानको छनोट गर्ने एनके मोटर्स प्रालिका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए।

प्रदेश १ मै विद्युतीय सवारी उत्पादनका लागि कोरियाली साझेदार सँग सम्झौता गर्न नेपाली टोली फागुन १२ गते कोरिया पुगेको थियो। नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनी बिच फागुन १३ गते नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने सम्झौता भएको थियो।

सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका थिए। करिब तीन अर्ब रुपैयाँको द्विपक्षीय लगानीमा कोरियन प्रविधिमा आधारित विभिन्न विद्युतीय सवारीसाधन उत्पादन गर्ने योजना रहेको छ। 

एनके मोटर्स प्रा.लि.का अध्यक्ष टिकाराम पुरीले विद्यालय तथा कलेज बस र निजी तथा सार्वजनिक सवारिसाधनहरु यस कम्पनीले उत्पादन गर्ने बताए। उनका अनुसार एक वर्षभित्र नै उत्पादनहरू बजारमा पठाउने लक्ष्य राखिएको छ। नेपालमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएका बेला प्रदेशभित्र नै यस्ता सवारी साधनको उत्पादन गर्नका लागि यो प्रयास थालिएकाले प्रदेश सरकारसँग पनि आवश्यक समन्वय गरिने जानकारी दिए।

प्रकाशित: १५ फाल्गुन २०७९ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App