२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भेरिएसनले धरहराको लागत १२ करोड थपियो

तस्बिर: प्रसन गुरुङ/नागरिक

निर्माणाधीन धरहरा परिसरमा केही पूर्वाधारका संरचना थप गर्नुपरेपछि धरहराको लागत १२ करोड रूपैयाँ थपिने भएको छ। निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँको व्ययभार थपिएको हो।  

सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन परिवर्तन गरेर थप १२ करोड रूपैयाँको भेरिएसन गर्न लागिएको हो। अब धरहरा निर्माणको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने भएको छ।

धरहराको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा परिसरका संरचनाको डिजाइन थप÷घट भएकाले आयोजनाको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने बताए।  

‘पछिल्लो समय धरहरा परिसरमा कप बिल्डिङ, प्रशासनिक भवन, मेकानिकल इलेक्ट्रिकल, प्लम्बिङको काम थपिएकाले पनि केही लागत बढेको हो,’ उनले भने ‘टेलिकमले पनि युटिलिटिज पाइप नहटाएकाले पनि केही डिजाइन परिवर्तन गर्नुपरेको हो।’

केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन तथा आवास) का आयोजना निर्देशक कोषनाथ अधिकारीले निर्माणाधीन धरहराको लागत केही वृद्धि हुने भए पनि रकम आफूलाई थाहा नभएको बताए।

‘धरहरा परिसरमा केही संरचना थपिएकाले केही लागत वृद्धि हुने देखिन्छ तर यति नै थपिन्छ भनेर मैले अहिले भन्न सकिन,’ उनले भने ‘खिचापोखरीका स्थानीयले मन्दिर र पाटी लगायतका संरचना निर्माण गर्न माग गरेकाले र अन्य केही संरचना पनि थपिएकाले केही लागत वृद्धि हुन लागेको हो।’ अहिले धरहराको समष्टिगत भौतिक प्रगति ८१ प्रतिशत र वित्तीय प्रगति ७१ प्रतिशत भएको छ।

म्याद पुसमा सकियो तर अझै थपिएन

धरहरा निर्माणका लागि २०७५ असोज १४ गते ठेक्का सम्झौता भएको थियो। सो ठेक्का सम्झौता अनुसार दुई वर्षभित्र धरहराको निर्माण सम्पन्न हुनुपर्ने थियो। अहिलेसम्म धरहराको चार पटक म्याद थप भइसकेको छ। धरहरा निर्माण गर्ने ठेकेदार कम्पनीको म्याद गत पुस मसान्तमा सकिए पनि अहिलेसम्म म्याद थपको प्रक्रिया अघि बढेको छैन। जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर नकर्मीले आयोजनासँग एक वर्षका लागि म्याद थपको निवेदन दिएको बताए। ‘हामीले धरहराको सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्न एक वर्षका लागि म्याद थपको माग गरेका छौं,’ उनले भने ‘अब हेरौं, सरकारी निकायले कति म्याद थप गर्छ।’  

प्राजेक्ट म्यानेजर नकर्मीले धरहरा परिसरमा बगैंचा, फल्ससिलिङ, पिरामिड र अन्य संरचनाको निर्माणको काम बाँकी रहेको बताए। ‘अझै टन्नै काम बाँकी रहेको छ। कम्तिमा पनि एक वर्ष म्याद थप भएको खण्डमा सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्न सकिएला।’ अहिले धरहराको बेसमेन्टको फ्लोरिङ र मेन्टिनेस रुमको बेसमेन्टको काम भइरहेको छ। अहिलेसम्म आयोजनाको चार पटक म्याद थपिसकिएको छ। अब म्याद थप गरेको खण्डमा पाँचौं पटक हुनेछ। आयोजना निर्देशक निरौलाले निर्माण व्यवसायीले म्याद थपको लागि निवेदन दिएको बताए। ‘कन्ट्र्याक्टरले म्याद थपको लागि निवेदन दिएका छन्। सो सम्बन्धी अध्ययन गरेर भवन तथा सहरी विभागमा म्याद थपको लागि सिफारिस गर्नेछौं,’ आयोजना निर्देशक निरौलाले कम्तिमा पनि असार मसान्तसम्मको लागि म्याद थप हुन सक्ने बताए। केही समयअघि स्थानीयबासीको अवरोधको कारणले पनि धरहरा निर्माणको काम प्रभावित भएको थियो। निर्माणको क्रममा निर्माण कम्पनीले धरहरामा आउने पानीको डुँड काटिएपछि समस्या भएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ मा धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै धरहराको हतार–हतार उद्घाटन गरेका थिए। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर नकर्मीले निर्माणाधीन धरहरा परिसरमा देखिएका समस्याले धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचनाको काम पनि अहिलेसम्म निर्माण सम्पन्न भइ नसकेको बताए। अहिले निर्माणाधीन धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्री भागमा धरहरा २२ तलाको बन्दैछ। २०७२ सालको भूकम्पले धरहरा भत्किएसँगै सरकारले आधुनिक निर्माण सामग्री र नयाँ शिराबाट निर्माण गर्दै आइरहेको छ।

प्रकाशित: ११ फाल्गुन २०७९ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App