१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

समयभित्रै काम नगर्ने १० ठेकेदारसँगको ठेक्का तोडियो

सडक डिभिजन कार्यालय चन्द्रानिगाहपुरले चालु आर्थिक वर्षमा ठेक्का सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ठेक्का सम्झौता गरेर सडक तथा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीविरुद्ध कठोर हुँदै ठेक्का तोडेको हो। कार्यालयले ठेक्का तोडेका कम्पनीलाई कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई सिफारिस गरेको छ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले चालु आर्थिक वर्षमा ठेक्का सम्झौता अनुसार काम नगर्ने १० वटा ठेक्का तोडेको बताए। ‘ठेक्का सम्झौताबमोजिम निर्माण व्यवसायीले कार्य सम्पादन नगरेपछि बाध्य भएर ठेक्का तोडेका हौं,’ उनले भने ‘गत आवमा तीन वटा ठेक्का तोडिएको थियो।’  

कार्यालय प्रमुख प्रसादले ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दा पनि उपस्थिति नभएपछि बाध्य भएर ठेक्का तोडेको बताए। ‘चालु आवको ७ महिनाको अवधिमा भने १० वटा निर्माण कम्पनीसँग ठेक्का रद्द गरिएको छ,’ उनले भने ‘गत आवमा तीन वटा निर्माण व्यवसायीसँग ठेक्का तोडिएको थियो।’  

ब्रह्मपुरीचोक–पडरिया सडक खण्डको काम गिताञ्जली सिंह/खुसी जेभीले तोकिएको समयभित्रै सम्पन्न नगरेपछि ठेक्का तोडिएको हो। यो खण्डको ठेक्का २०७५ सालमा भएको थियो। ठेक्का सम्झौता अनुसार यो खण्डको काम २०७६ सालभित्रै सम्पन्न गर्नुपर्ने थियो। सोही अनुसार नभएर ठेक्का तोडिएको हो। गिताञ्जली/सिंह/खुसी जेभीले संखुवादेखि पडरिया बेलही सडक अलपत्र पारेसँगै ठेक्का रद्द गरिएको हो। सिमरा –कौडेनी–खोरिया हेमपुर किशनपुर सडक खण्ड अलपत्र पार्ने रुबी कन्स्ट्रक्सनसँग पनि ठेक्का तोडिएको छ। हरिहरपुर– कटानी मैरा सडक खण्डको तोकिएको समयमै निर्माण गर्ने गौतम ऋषि कन्स्ट्रक्सनसँगको पनि ठेक्का रद्द गरिएको छ। कार्यालयले मर्यादपुर सितलपुर मेवा सडक खण्डको काम ठेक्का सम्झौता अनुसार नगरेको भन्दै गौतम ऋषि कन्स्ट्रक्सनसँग पनि ठेक्का तोडिएको छ। कार्यालयले बालचनपुर जंगलसैया कोल्बी सडक खण्डको लामो समयसम्म अलपत्र पार्ने ठेकेदार कम्पनी सेफ मेटल एण्ड कन्स्ट्रक्सनसँग ठेक्का तोडेको छ। सन्तपुर विश्रामपुर हरैया बिनग्रा मधोपुर सडकको पनि पनि ठेकेदार कम्पनी आर बी कन्स्ट्रक्सनले पूरा गर्न नसकेको भन्दै ठेक्का रद्द गरिएको छ। कार्यालयले गौरपिरा मधोपुर बिनग्रा सडक खण्डको ठेकेदार कम्पनी फैसल एण्ड अफजल कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको छ। कार्यालयले गौर पिप्रा समनपूर सडक खण्डको काम भगवती निर्माण सेवाले समयमै गर्न नसकेपछि सो खण्डको ठेक्का रद्द गरेको छ। कार्यालयले निजगढ पतौरा बंकुल सडक खण्डको काम समयमै नगर्ने कमाद कन्स्ट्रक्सनसँगको ठेक्का रद्द गरेको छ। कार्यालयले पुलतर्फका २३ वटा योजना अघि सारेको छ। तीमध्ये चालु आवमा १० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। तीमध्ये हालसम्म ५ वटा निर्माण सम्पन्न भइसकेका छन्।

कार्यालयले चालु आवमा रणनीतिकतर्फको पुल दुई निर्माण गर्ने योजना अघि सारेको छ। तीमध्ये चालु आवमा एउटा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यालयले चालु आवमा निर्वाचन क्षेत्र योजना अन्तर्गत १६ वटा सडक निर्माणको काम अघि सारेको छ। तीमध्ये चालु आवमा भने १३ वटा सम्पन्न गर्ने लक्ष्य राखेको छ। कार्यालयले चालु आवमा वैकल्पिक सहायक राजमार्ग अन्तर्गत ३० वटा योजना अघि सारेको छ। तीमध्ये चालु आवमा भने ३० वटै सम्पन्न गर्ने लक्ष्य राखेको छ। कार्यालयले चालु आवमा कार्यालय अन्तर्गत योजनाको वित्तीय प्रगति ५० प्रतिशत भएको जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७९ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App