१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंक तथा वित्तीय संस्थाविरुद्ध बाजुराका व्यवसायी आन्दोलित

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै बाजुरा उद्योग वाणिज्य संघ।

बैंक तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै व्यवसायीहरूले बाजुरा सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका छन्।

उद्योग वाणिज्य संघ बाजुराको नेतृत्वमा भएको प्रदर्शनमा ब्याजदर नघटाइए आन्दोलन चर्काउने चेतावनी दिइएको हो। चर्को ब्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर नभए व्यवसायीहरूले थप आन्दोलन चर्काउने चेतावनी सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

बैंक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजदरका कारण व्यवसाय धराशायी हुँदा आन्दोलन गर्नुपरेको बाजुराका व्यवसायीहरूले बताएका छन्। आर्थिक मन्दी चलिरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको भन्दै व्यवसायी आन्दोलित हुनु परेको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए।

‘बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुल्न थालेपछि हामीहरू आन्दोलन गर्न बाध्य भएका हौँ,’ रोकायाले भने।

सरकारले माग पूरा नगरे सशक्त आन्दोलनको तयारी गर्ने व्यवसायी प्रेम नाथ योगीले बताए। व्यवसायीहरूले बाजुरा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनु पूर्व नारा जुलुस सहित बजार परिक्रमा गरेका थिए। ज्ञापन पत्र बुझाए लगत्तै लोकतान्त्रिक चोकमा विरोध सभा आयोजना गरिएको थियो। विरोध सभा वाणिज्य संघका देवबहादुर रोकाया र व्यवसायी प्रेम नाथ योगीले संवोधन गरेका थिए।

पहिलो चरणमा साङ्केतिक विरोध गरिएको र ब्याजदरका कारण व्यवसायी पलायन हुन थालेको प्रति राज्य सचेत र जिम्मेवार हुनु पर्ने व्यवसायीको माग छ। चर्को व्याज र राज्यको व्यवसायी पेल्ने नीतिका कारण धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको र ब्याजदरका कारण घर खेत लिलाम हुने अवस्थामा पुगेको व्यवसायीहरू भनाइ छ। 

बैंकहरुले ८ प्रतिशतमा दिएको ऋणको ब्याजदर बढाएर अहिले १६ प्रतिशतसम्म पुर्याउदा व्यवसाय धराशायी हुँदै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूले मनलाग्दी ब्याजदर बढाएपछि व्यवसायीहरू पलायन हुने क्रम बढ्न थालेको हो।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरका नाममा कालोबजारी गरिरहेको आरोप व्यवसायीको छ। गएको असार अघि एक अंकले ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरूले अहिले दुई अंकले ब्याजदर बढाएर कालोबजारी गरिरहेको गुनासो व्यवसायीहरूको छ।

प्रकाशित: १० फाल्गुन २०७९ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App