coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रुग्ण आयोजनामा पूर्वाधार मन्त्रीको निगरानी

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकका रुग्ण आयोजनामा निगरानी सुरु गरेका छन्। मन्त्री श्रेष्ठले आयोजनाको प्रगति विवरण १५–१५ दिनमा मन्त्रालयमा बुझाउन आयोजना निर्देशनालयका प्रमुखलाई निर्देशन दिएका छन्।  

मन्त्री श्रेष्ठले सोमबार उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालय अन्तर्गतका आयोजना प्रमुख र निर्माण व्यवसायीलाई बोलाएर १५–१५ दिनमा रुग्ण सडक आयोजनाको प्रगति विवरण पेश गर्न निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठले हुलाकी राजमार्ग निर्देशनालय, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गतका आयोजनामध्ये काम सम्पन्न हुन ढिलाइ तथा कम गुणस्तरका काम भएका आयोजनासम्बद्ध निर्माण व्यवसायीलाई समयमै र गुणस्तरीय कार्य गर्न पनि अनुरोध गर्दै निर्देशनालयका आयोजना प्रमुखलाई १५–१५ दिनमा प्रगति विवरण पेश गर्न निर्देशन दिएका हुन।

मन्त्री श्रेष्ठले देशैभरका रुग्ण आयोजनाको अवस्थाको विस्तृत विवरणसमेत माग गरेका छन्। ‘काम ओगटेर बसेकाले काम नभएको हो वा मन्त्रालयले सहजीकरण नगरेर वा भुक्तानी र कर्मचारीको समस्या हो ?’ मन्त्री श्रेष्ठले भने ‘सकारात्मक दृष्टिकोणका साथ यी समस्या समाधान गर्ने र परिणाम चाँडो ल्याउने भन्ने हाम्रो ध्येय छ।’ मन्त्री श्रेष्ठले मन्त्रालयमा भएको निर्णय लागु गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै निर्माण व्यवसायीले पनि कार्यान्वयन गर्नेमा विश्वस्त रहेको बताए।  

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ७ वटा आयोजना रुग्ण रहेका छन्। निर्देशनालय अन्तर्गत मोहना खोला डोकेबजार, बेलौरी धाइजी कञ्चनपुर सडकमार्गको जिम्मा पाएको शर्मा राजेन्द्र जेभीले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता जनाएको छ। यसैगरी धाँधर खोला पुल र पतरी खोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनभित्र कामलाई गति दिने बाचा गरेको छ। सो समयमा काम सुधार नभएको खण्डमा ठेक्का तोड्ने सहमतिसमेत भएको छ। हुलाकीराजमार्ग अन्तर्गतको गोपिगञ्ज नारायणचोक परासीचोक सडकखण्ड निर्माणको जिम्मा पाएको कञ्चनजंघा बिरुवा शिवशक्ति जेभीले २५ दिनमा काम सक्ने प्रतिवद्धता व्यक्त गरेको छ। कमला नदी पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने बाचा गरेको छ।  

हुलाकी राजमार्ग अन्तर्गतको मनमत कलैया मतिरर्वा सडक बनाउने ठेक्का लिएको सप्तकोशी जलाधार ओमसाइ जेभी र मोहना डोकेबजार बेलौरी धाइजीको निर्माणको जिम्मा पाएको बाबाहंश सिद्धिसाही सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ। सडक सुधार तथा विकास आयोजना अन्तर्गत ५ वटा परियोजना रुग्ण छन्। भेडेटार राँके सडक निर्माणको जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालु आवमा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता मन्त्रीसामु व्यक्त गरेको छ।  

मन्त्रालयले लमही घोराही तुल्सीपुर सडक खण्ड बनाउने जिम्मा पाएको तथ्य इन्जिनियरिङ कम्पनीले ८ मार्चसम्म उल्लेख्य प्रगति नगरे ठेक्का तोडिने चेतावनी दिएको छ। मन्त्रालयले मुडे चरिकोट सडक बनाउने काम चैतसम्म सक्ने निर्माण कम्पनी सुनौला खिम्तीले जनाएको छ।  

यसैगरी एआईपीएल शैलुङ जेभीले बनाइरहेको भक्तपुर नगरकोट सडक चैतसम्म निर्माण सम्पन्न गर्ने मन्त्रालयमा प्रतिवद्धता व्यक्त गरेको छ। दिनेशचन्द्र शंकर माली जेभीले बसन्तपुर पपरादी सडकको काम असार मसान्तसम्म ४५ प्रतिशत सक्ने बताएको छ। यता मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत १७ योजना रुग्ण रहेकामा ५ वटा रुग्णबाट हटेको मन्त्रालयले जनाएको छ।  

आरुघाट ओख्ले सडक असार मसान्तसम्म सकिने रसुवा इलाइट सूर्य जेभीले जनाएको छ। जोरसाल–तमोर–सक्रान्ति–म्याङलुङ सडकका विभिन्न खण्ड विभिन्न निर्माण कम्पनीले आउने असार मसान्तसम्म काम सक्ने जनाएका छन्। यो खण्डमा भरत, मैनाचुली, सिद्धिसाही, कन्टेक, गौरीपार्वती, कोसीलगायत निर्माण कम्पनीले काम गरिरहेका छन्। मध्यपहाडी राजमार्गअन्तर्गत हिले–लेगुवा सडक निर्माणको जिम्मा पाएको रौतामाई सन्तोषी बिरुवा जेभीले जेठसम्म काम सक्ने जनाएको छ। यसैगरी खण्डुवा खोलामा पुल निर्माण कार्य बैशाख १५ मा सकिने बिरुवा गल्वा जेभीले जनाएको छ। भोजपुर दिक्तेल सडक खण्डको काम असारभित्र सकिने भरत मैनाचुली सिद्धिसाही जेभीको दाबी छ। उत्तर दक्षिण तथा व्यापारिक मार्ग बिस्तार आयोजना निर्देशनालय अन्तर्गत ९ वटा परियोजना रुग्ण छन्।

प्रकाशित: १० फाल्गुन २०७९ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App