४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

विमानस्थल बन्यो, ‘चिलगाडी’ उडेन

कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थल ३८ वर्ष लगाएर निर्माण गरी सकिए पनि जहाज उडान अवतरणको टुंगो भने छैन। विमानस्थल निर्माण आयोजनाले धावनमार्गमा कालोपत्रे गरी रंगरोगनको कामसमेत सम्पन्न गरेको छ। यसअघि नै परीक्षण उडान सफल भएको यो विमानस्थलमा हालसम्म नियमित उडान हुन सकेको छैन। निर्माणको सबै काम सम्पन्न भए पनि यो विमानस्थलमा कहिलेबाट नियमित उडान हुने भन्ने टुंगो नहुँदा सर्वसाधारण निराश छन्।

निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान सफल भएको थियो। त्यसपछि फेरि त्यो विमानस्थलमा जहाज अवतरण भएको छैन। परीक्षण उडान गरेको ६ वर्ष पुगिसक्दासम्म पनि फेरि चिलगाडी फर्किएर नआएको स्थानीय गणेश विष्टले बताए। २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न श्याम एण्ड शंकर जेभीले ठेक्का लिएको थियो। पटक–पटक म्याद थपेर गएको पुसमा काम सम्पन्न गरेको हो। निर्माण कम्पनीसँग २०७७ असार मसान्तसम्म कालोपत्रे गर्नुपर्ने सम्झौता थियो। विमानस्थल निर्माणमा झन्डै ४२ करोड बजेट खर्च भएको निर्माण आयोजनाले जनाएको छ।  

२०७५ साउनमा कालोपत्रे गर्न श्याम एण्ड शंकर जेभीले ठेक्का लिएको १५ करोड र त्यसअघि पटक–पटक भएका ठेक्काहरूमा २७ करोड गरी ४२ करोड बढी रकम खर्च भएको हो। विमानस्थलको स्थलगत अनुगमन गरी निर्माण कार्य पूरा भएको प्रतिवेदन दिएपछि नियमित उडान हुने इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए। ‘विमानस्थल निर्माणको काम सकिएको छ’ उनले भने, ‘तत्कालै नियमित उडान गर्न हाम्रो तयारी छ।’ उनका अनुसार विमानस्थलको धानवमार्गको लम्बाइ ६ सय ४० मिटर र चौडाइ २० मिटर छ।  

भौगोलिक रूपमा पनि जहाज उडानका लागि निकै उपयुक्त विमानस्थल रहेको श्रेष्ठले बताए। उनका अनुसार विमानस्थलमा भौतिक संरचना निर्माणको काम पूरा भइसकेको छ। स्थानीय नागरिकले पटक–पटक दबाब सिर्जना गरेपछि विमानस्थल निर्माणको काम सकिएको स्थानीयले बताएका छन्। ‘जहाज आएन भने विमानस्थल बनेको पनि केही काम छैन’ स्थानीय मिना बिष्टले भनिन्, ‘नियमित उडान हुन आवश्यक छ।’ विमानस्थलमा आउने सडकको पनि स्तरोन्नति गर्न गाउँ पालिकाले चासो दिनुपर्ने उनले बताइन् ।  

विमानस्थलको नियमित उडान भएमा यहाँका पर्यटकीय स्थलहरू रामारोशन, बाजुरा र कालिकोटको सीमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीयले बताएका छन्। यो विमानस्थल निर्माणकै क्रममा ३५ जनाले ज्यान गुमाएका थिए। माओवादीले थालेको युद्धको बेला २०५८ मा धादिङ जोगिमाराका १७ जनासहित ३५ जना मजदुरहरूलाई नेपाली सेनाले हत्या गरेको थियो। १८ जना कोटबाडाकै स्थानीय मजदुर थिए। उनीहरू सबैको चिहान त्यही विमानस्थलभित्र छ। ती मजदुरका परिवारहरूले विमानस्थलमा जहाज चढ्न पाए आफ्ना आफन्तहरू गुमाएको घाउमा मलम लाग्ने बताउँछन्। 

प्रकाशित: २ फाल्गुन २०७९ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App