५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सार्क खाद्य बैंकलाई क्रियाशिल बनाइने

काठमाडौं- दक्षिण एसियाली सहयोग संगठनका सदस्य राष्ट्रहरुमा खाद्य संकट र प्राकृतिक विपत्तीको बेलामा सघाउन सार्क खाद्य बैंकमा साढे पाँच लाख टन खाद्यान्न संकलन भएको छ। सार्क खाद्य बैंकमा सदस्य राष्ट्रहरुले ५ लाख ३८ हजार ४ सय ८० टन खाद्यान्न जम्मा गरेर अप्ठ्यारो परेका राष्ट्रलाई सघाउने निर्णय गरेका छन्।

खाद्य बैंकले नेपालमा भूकम्प गएको बेला सघाउन नसकेपछि आगामि दिनमा अप्ठ्यारो परेका सदस्य राष्ट्रका जनतालाई भोकमरी र विपत्तिमा राहात दिन अनिवार्य रुपमा खाद्यान्न जम्मा गरेर सम्बन्धित देशमा पठाउन सदस्य राष्ट्र सहमत भएका छन्। बैंकलाई क्रियाशिल बनाउने निर्णय भएको छ।

सन् २००७ अप्रिलमा भारतको नयाँदिल्लीमा सम्पन्न भएको सार्कको १४औं शिखर सम्मेलनमा सहभागी भएका सदस्य राष्ट्रहरूले बैंक स्थापना गर्ने निर्णय गरेका थिए। भुइँचालो, बाढीपहिरो, अनिकाल, रोगजन्य महामारी र अन्य प्रकारका विपत्ति आइपर्दा बैंकमार्फत सहयोग गरिन्छ।

काठमाडौंमा बिहीवार सम्पन्न सार्क खाद्य बैठकमा पूर्व प्रतिबद्धता र कार्यविधी अनुसार बंगलादेश र पाकिस्तानले ८०—८० हजार मेटि्रक टन, श्रीलंका र नेपालले ८—८ हजार मेटि्रक टन, अफगानिस्तानले २ हजार ४ सय ८० मेटि्रक टन, भारतले ३ लाख ६० हजार टन खाद्यान्न अनिवार्य राख्ने भएका हुन्। देशको जनसंख्या आर्थिक अवस्था अनुसार चामल, गहुँलगायतका खाद्यान्न स्टक राख्ने व्यवस्था गरिएको छ।

सदस्य राष्ट्र नेपालको अध्यक्षतामा पहिलो पटक काठमाडौंमा आयोजना गरिएको बैठकमा बैंकलाई क्रियाशिल बनाउन पहल गर्ने  निर्णय भएको छ। प्राकृतिक ठूलो विपत्ति, महामारी र अन्य प्रकारका विपत्ति आइपर्दा एक मुलुकले अर्को मुलुकमा खाद्यान्न आपूर्ति गर्ने विषयमासमेत छलफल भएको थियो। आगामि दिनमा जुनसुकै सदस्य राष्ट्रमा विपत्ती परेको बेलामा अनिवार्य खाद्यान्न सहयोग गर्न सबै सदस्य सहमत भएको बैठकको अध्यक्षता गरेका आपूर्ति मन्त्रालयका सह—सचिब आनन्दराम रेग्मीले बताए। 'खाद्य बैंकलाई थप व्यवस्थित गरेर सञ्चालन गर्ने निर्णय भएको छ,' रेग्मीले भने, 'सदस्य राष्ट्रको हैसियतले पहिलो पटक बैठक आयोजना गरेका हौं।'  सदस्य राष्ट्रका जनतामा भोकमरी लागेको बेलामा अनिवार्य सहयोग गर्न कार्यविधी समेत सरलीकरण गर्ने निर्णय भएको उनले बताए।

सो बैठकमा आपूर्ति मन्त्री दीपक बोहोराले खाद्य बैंक अन्तरगत मूल्य निर्धारण र ढुवानीमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए। 'खाद्यान्न अन्तरदेशीय ढुवानीको मोडालिटी तय गर्नुपर्छ,' बोहोराले भने, 'खाद्यान्नको मूल् समेत निस्चित गर्नुपर्छ।' यसले आगामि दिनमा सजिलो हुने उनको धारणा थियो। बैठकको एजेण्डाको विषयमा सदस्य राष्ट्रहरुबीच सर्वसम्मति भएपछि मात्र निर्णय हुन्छ।

बैठकमा सबै सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, श्रीलंका भुटान, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानका प्रतिनीधि सहभागी थिए। बोर्डको अर्को बैठकको अध्यक्षता पाकिस्तानले गर्नेछ। बैठक सन् २०१७मा पाकिस्तानमै बस्ने भएको छ। खाद्य बैंकमा सबै सदस्य मुलुकले कोटाअनुसार खाद्यान्न राख्ने र त्यसलाई विपत्ति आइपर्दा उपयोग गर्ने भन्ने सहमति भएको छ।

सार्कका सबै सदस्य मुलुकले बैंकमा खाद्यान्न भण्डारण गर्छन्। विपतको बेला सघाएपछि सो बैंकमा पुनःखाद्यान्न राख्नुपर्ने छ। भूकम्पको बेला बैंकमार्फत सहयोग नगरे पनि बंगलादेशले भूकम्प पीडितलाई १ लाख टन खाद्यान्न सहयोग गरेको थियो।

प्रकाशित: ७ आश्विन २०७३ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App