१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ठेकेदारको ‘बेवास्ता’ले मेची राजमार्ग मर्मतमा ढिलासुस्ती

मेची राजमार्गको धोबीधारा–कुलधारा खण्डमा बिग्रिएको सडक। तस्बिर: भीम/नागरिक

इलाम सदरमुकामस्थित मेची राजमार्गको धोबीधारा–कुलधारा खण्डमा पहिरोले झरेको सडक मर्मतमा ठेकेदारले ‘बेवास्ता’ गर्दा सयौं सवारी साधनले सास्ती खेप्नुपरेको छ। ठेक्का लिएको लामो समयसम्म मर्मतको काम नसकिँदा सडक सुधार हुन नसकेको हो।  

सडकको तल्लोपट्टि पर्खाल लगाउने काम सकिएपनि तारजालीको काम रोकिँदा कालेपत्रे गर्ने काममा समेत बाधा पुगेको डिभिजन सडक कार्यालयले जनाएको छ। बेलैमा काम नसकिएपछि डिभिजनले ठेक्का रद्द गर्ने चेतावनीसहित ठेकेदारलाई पत्राचार गरेको छ।  

इन्जिनियर सञ्जय गौतमले पटक–पटक मौखिक आग्रह गर्दा दिँदा पनि ठेकेदारले काम अघि नबढाएपछि चेतावनीसहित पत्राचार गरिएको बताए। माघ २५ मा ठेकेदार कम्पनीलाई पत्र लेखेर डिभिजनले ३ दिनभित्रमा काम नथाले ठेक्का नै रद्द गर्ने चेतावनी दिएको उनले जानकारी दिए। ‘अब पनि काम सुरु नगरे ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान्छौं,’ उनले भने, ‘सम्झौताको समय बाँकी नै भएपनि समयमा काम गरेको पाइएन।’

यहाँको सडक मर्मत गरी तारजाली गर्ने काम अरुण कन्स्ट्रक्सनले १ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको छ। ठेकेदारले ८० लाख रुपैयाँ भुक्तानी लिइसक्दा पनि ७० प्रतिशतमात्रै भौतिक प्रगति भएको इन्जिनियर गौतमले बताए। पोहोर फागुन १५ मा भएको ठेक्का सम्झौता आउँदो चैत मसान्तमा सकिँदैछ। ‘मेची राजमार्गका आवश्यक स्थानमा कालोपत्रे गर्न ठेक्का खुलिसकेको छ तर धोबीधारा खण्डमा भने मर्मत नहुँदा कालोपत्रे गर्न असर पुग्ने देखिएको छ,’ उनले भने, ‘अब कि द्र्रूत गतिमा काम सक्नुप¥यो, नभए ठेक्का नै रद्द हुन्छ।’

यो खण्डमा २०७८ असोज १६ गते बिहान पौने ६ बजेतिर सुक्खा पहिरो झरेर राजमार्गको करिब ८० प्रतिशत भाग बगेको थियो। बाँकी रहेको २० प्रतिशत पनि ०७८ कात्तिक ३ गते रातिको भेलबाढीले पूरै बगाइदिएको थियो। राजमार्गको पूरै भाग बगेपछि यहाँबाट झापादेखि इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म जाने आउ–जाउ गर्ने सवारीका साधन महिनौं बन्द भए। लामो समय पैदलै हिँड्नसमेत कठिन थियो।

करिब १ वर्षमा मर्मत गरी ठूला सवारीका साधन एकतर्फी सञ्चालन हुने कच्ची सडक बनाइएको छ। तर, हिउँदमा धुलो उडेर सवारीका साधन नै पुरिनेगरेको यो खण्ड बर्खा लागेपछि पुनः अवरुद्ध हुने निश्चित जस्तै छ। बर्खा लाग्नुअघि नै कालोपत्रे गरिसक्ने प्रयास भएपनि ठेकेदारको ढिलासुस्तीले काम अघि नबढेको हो।  

सिडिओ श्रवणकुमार पोख्रेलले विकास–निर्माणका काम ढिलासुस्ती भए त्यसको जवाफदेही ठेकेदारमात्र नभइ आयोजना प्रमुखसमेत हुने बताए। उनले सम्झौता अवधिभर ठेकदारले काम नथाले आयोजना प्रमुखले खबरदारी गर्नुपर्ने बताए। ‘सम्झौताको म्याद बढाउने कानुनी व्यवस्था छ भनेर पहिलो सम्झौताको अवधि सकिने बेलासम्म कसैले कामै थाल्दैन भने त्यो गलत नियत हुनसक्छ,’ सिडिओ पोख्रेलले भने, ‘सम्झौता गरेपछि कुनैपनि बहानामा काम रोक्न हुँदैन, आयोजना प्रमुखले समेत यसको जवाफ दिनुपर्ने हुन्छ।’  

डिभिजन प्रमुख विदुर पोख्रेलले यो खण्डको सम्झौताअनुसार काम नगरिए ठेक्का नै रद्द गर्ने प्रक्रियामा जाने बताए। ‘मेची राजमार्ग निकै महत्वपूर्ण रुट भएकाले यसको मर्मतमा ढिलाइ गर्न मिल्दैन,’ उनले भने, ‘कसैले कुनै बहानामा काम गर्दैन भने उसको मुख हेरिँदैन, पुरानो ठेक्का रद्द गरी नयाँमा जाने हो।’ आफूहरूले समयमै यो खण्ड मर्मत गराउन बारम्बार प्रयास गर्दा पनि ठेकेदारले बेवास्ता गरिरहेको उनको आरोप छ। निर्माण कम्पनीका प्रतिनिधि अर्जुन शेर्पाले भने ९० प्रतिशत काम भइसकेको दाबी गरे। ‘यसअघि सडक डिभिजनको काम गरेपनि बेलामा भुक्तानी नआउने समस्या थियो, त्यही आशंकाले काममा ढिलाइ भएको हो,’ उनले शुक्रबार बिहान भने, ‘तर, थप काम आजै सुरु गर्छु।’ उनले आफूलाई सडक डिभिजनले कामको ताकिता गर्दै पत्र पठाएको स्वीकारे।  

मेची क्षेत्रको ‘लाइफलाइन’का रूपमा मानिने यो सडक मर्मत नहुँदा दिनहुँ सयौं सवारीका साधनलाई समस्या भइरहेको छ।

प्रकाशित: २७ माघ २०७९ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App