२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुखुरापालक किसान समस्यामा

तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन्। उनीहरूले फार्मका प्रति ‘अण्डा’ ५.६० रुपैयाँमा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन्।   उत्पादन गर्दा १३.८१ रुपैयाँ लागत पर्ने र बजारमा ८.२१ रुपैयाँमा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन्।

व्यास नगरपालिका-११ बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक राजु खड्काले २१ रोपनी क्षेत्रफलमा २० हजार लेर्यस जातका कुखुरा पाल्दै आएका छन्। करिब सात करोड रुपैयाँ लगानी गरी व्यवसाय थालेका उनले करिब दश हजार कुखुरा मरेको र १० हजारमध्ये आठ हजार पाँच सय कुखुराले अण्डा दिन थालेको तनहुँ अण्डा उत्पादक संघका उपाध्यक्ष समेत रहेका उनले बताए।

दैनिक आठ हजार पाँच सय कुखुराले अण्डा दिंदा प्रतिअण्डा ५.६० रुपैयाँका दरले अहिले दैनिक ४७ हजार रुपैयाँ छ सय घाटा बेहोर्नुपरेको उनले दुखेसो पोखे। २०७९ असारदेखि हालसम्म एक करोड ९७ लाख रुपैयाँ घाटा भइसकेको छ।

उनले भने, ‘विचौलियका कारण कृषकले उचित मूल्य नपाएको र उपभोक्ताले पनि सस्तो मूल्यमा उपभोग गर्नबाट वञ्चित भएका छन्।’

सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ। दाना चोकरको मूल्य अकासिएको र कृषकले उत्पादन गरेका वस्तुको मूल्य यथावत नै हुँदा व्यवसायी चर्को मारमा परेको व्यवसायीको गुनासो छ।

भानु नगरपालिका-६ स्थित नविन पोल्ट्री फार्मका सञ्चालक नरेन्द्रबहादुर चन्दले व्यवसाय घाटामा चलाउनुपर्दा कामदारलाई तलब, बैंक किस्ता र गाडीको किस्ता समेत तिर्न नसकिएको बताए। उनको फार्ममा अहिले तीन हजार कुखुरा रहेकामध्ये दुई हजार छ सयले अण्डा दिइरहेका छन्।

अनुदान सुकिलामुकिला र पहुँचवालाले मात्रै पाउने गरेको आरोप लगाउँदै सरकारले कृषकलाई चल्ला, अण्डा र दानामा अनुदान दिनुपर्ने उनले बताए। व्यास-११ स्थित सेरामा आचार्य गाई फार्म सञ्चालन गर्दै आएका रमेश आचार्यले सरकारले दूधमा प्रतिलिटर ६५ रुपैयाँ निर्धारण गरे पनि कृषकले नौ रुपैयाँ घाटा खाएर प्रतिलिटर ५६ रुपैयाँमा बेच्नुपरेको बताए।

जिल्लामा स्थानीय, उन्नत र लेर्यस गरी करिब साढे दुई करोड रुपैयाँ बराबरको अण्डा रहेको बताइएको छ। जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा आवश्यक पर्ने भए पनि उत्पादन प्रतिव्यक्ति प्रतिवर्ष ८४ वटा पुगेको छ।

तनहुँमा दुई सय ५५ पशुपालन फार्म दर्ता भए पनि व्यावसायिक कुखुरा फार्म करिब ४०  रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले बताए।

जिल्लामा अण्डा, दूध र बंगुरको मासुमा आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यात गर्न सफल हुँदै आएको छ। कृषकको लागत मूल्य अनुरूपको बजार मूल्य नपाउँदा बिक्रीवितरणमा न्यून आएको उनले बताए। रासस

प्रकाशित: २६ माघ २०७९ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App